`

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टिप्पणीप्रति एमालेको आपत्ति

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ ।

एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार एक विज्ञप्ति जारी गरी भारतीय अखबार ‘द हिन्दू’मा गत बिहीबार प्रकाशित प्रचण्डको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको भएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले दाहालका टिप्पणी तथ्यविहीनमात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर बनाउने खालका रहेको उल्लेख गर्नुभयो । “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चीन कार्ड खेलेको’ आरोप लगाउँदै चीन भ्रमणलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर व्याख्या गर्नु आधारहीन, गैरजिम्मेवार र नेपालको राष्ट्रिय हित तथा परराष्ट्र नीतिको मर्मविपरीत छ”, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यस प्रकारका टिप्पणीहरूले कूटनीतिक मर्यादाको गम्भीर उल्लङ्घन गर्नुका साथै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय गरिमालाई अपमानित समेत गर्ने जनाइएको छ । “प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको स्वतन्त्र परराष्ट्र नीतिको स्पष्ट अभिव्यक्ति हो, जसलाई ‘कार्ड कूटनीति’ भनेर चित्रण गर्नु पूर्ण रूपमा तथ्यहीन र भ्रामक छ । दाहालका यस्ता टिप्पणीहरूले नेपालको आर्थिक विकास र समृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण साझेदार मित्रराष्ट्र भारत र चीनसँग नेपालको सन्तुलित सम्बन्धमा खलल पुर्याउने जोखिम निम्त्याउँछन् । यस्ता गैरजिम्मेवार अभिव्यक्तिले नेपालले दुवै राष्ट्रसँग निर्माण गरेको सुदृढ, सन्तुलित र सम्मानजनक सम्बन्धलाई कमजोर पार्दछन्”, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक परिपक्वता र नेतृत्व दक्षता देखाउँदै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीतिमा व्यावहारिकता, संयम र सन्तुलनको उदाहरण प्रस्तुत गर्नुभएको र उहाँको नीतिले भारत तथा चीन दुवैसँगको पारस्परिक सम्मान र सहकार्यलाई थप प्रगाढ बनाएको विज्ञप्तिमा बताइएको छ । “परराष्ट्र नीति कुनै राजनीतिक स्वार्थको विषय बन्नु हुँदैन । यसले विवेक, गम्भीरता र राष्ट्रिय जिम्मेवारीको माग गर्दछ । नेपालको परराष्ट्र नीति असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राष्ट्रसङ्घको चार्टरका सिद्धान्तहरूमा आधारित छ”, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेकपा (एमाले) भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै दाहाललाई आफ्ना अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्नसमेत एमालेले आग्रह गरेको छ ।

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौँ, २ मङ्सिरः यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो ।

उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ । आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहनेगरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।

देउवा दम्पती उग्रतारा मेलामा

डडेल्धुरा, २ मङ्सिरः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको हो ।

उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले त्यहाँस्थित वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो ।

मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो । उग्रताराको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुखशान्ति र मनोकामना पूरा हुने जनविश्वास छ ।

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, २ मङ्सिरः देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसमसफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छभने तराई क्षेत्रमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना भएको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ

सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

पर्वत, २ मङ्सिरः सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् ।

यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो । अन्य पालिकामा भने निजी विद्यालय सञ्चालनमा छन् । महाशिलामा जनप्रतिनिधिले सामुदायिक विद्यालयको गुणस्तरमा सुधारमा प्राथमिकता दिएपछि यहाँका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन् ।

हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाका नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिका पनि लामो समय विद्यालयमा नटिक्ने समस्यापछि गाउँपालिकाले सामुदायिक विद्यालयबाट नै निजी विद्यालयसरहको शिक्षा दिन थालेपछि यस्तो हुन गएको दाबी गरेको छ ।

गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाले भन्नुभयो,“सुरुमा कक्षा १ देखि ३ सम्म दिवाखाजा कार्यक्रम सुरु ग¥यौँ, यसले विद्यार्थीको टिकाउदर बढ्यो । पछि सरकारले कक्षा ५ सम्म दिवाखाजा कार्यक्रम सञ्चालन गरेपछि निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढयो । साथै अहिले कक्षा नर्सरीदेखि १० सम्म नै सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरेपछि सामुदायिक विद्यालय नै अभिभावको रोजाइमा परे ।”

भुसालले पछिल्लो समय जिल्लाभरमा निजी विद्यालय नहुने पालिका बनाउन सफल भएको बताउनुभयो । गाउँपालिकाले अङ्ग्रेजी भाषाप्रतिको मोह देखेर यहाँ रहेका सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको र बोर्डिङ स्कुलले दिने शिक्षा सामुदायिकबाट नै दिन थालिएपछि गाउँपालिकालाई निजी विद्यालयबिहीन बनाउन सकिएकोे उहाँले सुनाउनुभयो । त्यसका लागि विद्यालयमा रहेका नयाँ तथा पुराना शिक्षकलाई आवश्यक तालिम दिएर मासिक रूपमा उपलब्धि मापन परीक्षा पनि लिने गरिएको अध्यक्ष भुुसालले बताउनुभयो ।

यसका साथै यहाँ परीक्षा प्रणालीमा पनि सुधार गरिएको छ । शिक्षक आफैँले प्रश्न तयार गर्दा नतिजा राम्रो नआउने भएकाले बाहिरबाट विषयविज्ञ बोलाएर प्रश्नपत्र तयार गर्ने र शिक्षकको नभई कर्मचारीको रोहवरमा परीक्षा लिने तथा नतिजा विश्लेषण गर्ने गरिएको छ । गाउँपालिकाले तीनवटा विद्यालयलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गरेको छ । वडा नं १ मा रहेको गोल्र्याङधाम आधारभूत मावि, वडा नंं ४ पाखापानीमा रहेको स्वधर्म मावि र वडा नं ५ लङ्खुदेउरालीमा रहेको महेन्द्रज्योती माविलाई पूर्ण तथा आंशिक रूपमा आवासीय विद्यालय सञ्चालन गरी बिहान ६ देखि साँझ ६ बजेसम्म विद्यार्थीलाई विद्यालयमै राख्ने, पढाइसँगै अतिरिक्त क्रियाकलाप सिकाउने गरिएको छ । पालिकाले यस वर्षदेखि आवासीय विद्यालय थप गर्ने योजना बनाएको छ ।

आवासीय विद्यालयमा परिचालन हुने शिक्षकलाई गाउँपालिकाले तलबको थप ३५ प्रतिशत रकम उपलब्ध गराउँदै आएको छ । त्यसैगरी एक शिक्षक एक ल्यापटप र एक कक्षा एक प्रोजेक्टर कार्यक्रम लागू गरेर प्रविधिमैत्री शिक्षा दिन थालिएको छ ।
यसगरी यस गाउँपालिकाले कृषि, पशु, स्वास्थ्यसम्बन्धी अध्ययन गर्नेलाई वार्षिक रु एक लाखका दरले चार वर्षसम्म अनुदान दिँदै आएको छभने विज्ञान र गणित पढाउने शिक्षकको अभाव भएपछि गाउँपालिकाभित्रबाट उच्च शिक्षामा विज्ञान र गणित तथा नर्सिङ पढ्ने विद्यार्थीलाई वार्षिक रु ५० हजारका दरले चार वर्षसम्म सहयोग गर्ने कार्यक्रम पनि लागू गरेको छ । उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिएपछि न्यूनतम दुई वर्ष पालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको छ ।

पालिकाभित्रका सामुदायिक विद्यालयमा गुणस्तर सुधार भएपछि बालबच्चा पढाउन बजार झर्ने क्रम पनि रोकिएको गाउँपालिकाका पूर्वप्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उच्चैले आफैँले सञ्चालन गरेको लङ्खुदेउराली आवासीय बोर्डिङ स्कुललगायत अन्य वडामा रहेका गरी चारवटा निजी विद्यालय बन्द भइसकेको जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २ मङ्सिरः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ््रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा, बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय रुपैयाँ ९५ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा, बिक्रीदर आठ रुपैयाँ ७१ पैसा तय भएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा, बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा, बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा, बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा, बिक्रीदर १२ रुपैयाँ ३५ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

काठमाडौँ, २ मङ्सिरः आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।

राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ ।

आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवं नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रूपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुने विश्वास व्यक्त गरेको छ ।

आचारसंहिताविपरीतका कार्य भए÷गरेको पाइएमा वा हुनसक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएको पाइए कारबाही हुनेछ ।

यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने कार्यक्रम छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने

काठमाडौँ, १ मङ्सिरः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय समितिको आज बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले राससलाई जानकारी दिनुभयो । उहाँ कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति सभापतिसमेत हुनुहुन्छ । उक्त पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । 

पार्टीको विधानअनुसार उपमहानगरपालिका र नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ । समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी, काठमाडौँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र काठमाडौँ जिल्ला सभापति सदस्य रहने विधानमा व्यवस्था छ । 

कीर्तिपुर नगरपालिकामा २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुर नगरप्रमुखमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन् ।

युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग पूर्वी एसियाको सुरक्षाका लागि खतरा: जापान

जापानका विदेशमन्त्रीले युक्रेन द्वन्द्वमा प्रवेश गर्ने उत्तर कोरियाली सैनिकले पूर्वी एसियाली सुरक्षामा ‘अत्यन्त प्रभाव’ पार्ने चेतावनी दिनुभएको छ ।

पश्चिम र युक्रेनले रूसको कुस्र्क सीमा क्षेत्रमा पहिलेदेखि नै उत्तर कोरियाली सेना तैनाथ रहेको बताइरहेका समय प्योङयाङले रूसमा हजारौं सैनिक पठाएको खबर सार्वजनिक भएपछि ताकेशी इवायाले युक्रेन भ्रमण गर्नुभएको हो ।

उत्तर कोरियाले मस्कोलाई समर्थन गरेको भन्दै जापानले पनि प्योङयाङको निन्दा गरेको छ ।

“यसले युक्रेनको अवस्थाको गम्भीरतालाई अझ गहिरो बनाउने मात्र होइन, पूर्वी एसियाको सुरक्षा स्थितिमा पनि निकै महत्वपूर्ण प्रभाव पार्नेछ,” इवायाले भन्नुभयो ।

“हामी यस घटनाप्रति गम्भीर र चिन्तित छौँ र यसको कडा शब्दमा भत्र्सना गर्दछौं।

मन्त्री इवायाले किएभ बाहिरको बुचा शहरको भ्रमण गर्नुभएको छ । रूसी सेनाले युद्धको सुरुमा छोटो समय युक्रेनी भूभाग बुचालाई कब्जा गरेको र नागरिकहरू माथि गम्भीर अत्याचार गरेको बताउने गरिएको छ ।

उहाँले भन्नुभयो, “जापान युक्रेनको साथमा उभिनेछ भन्ने हाम्रो अडान यथावत् छ ।”

इवायाले टोकियो र किएभका लागि युक्रेनी समकक्षी एन्ड्री सिबिगासँग ‘द्विपक्षीय उच्चस्तरीय सुरक्षा नीति वार्ता’ गर्न सहमत भएको बताउनुभएको छ ।

सिबिगाले उत्तर कोरियाली सेना युक्रेन द्वन्द्वमा प्रवेश गर्नु भनेको ‘युक्रेनमा युरोपेलीको मात्र नभई विश्वव्यापी सुरक्षा संरचनाको भविष्य पनि तय भइरहेको प्रमाण हो’ भन्नुभएको छ ।

युक्रेनी मन्त्रीले आफ्ना जापानी समकक्षीको भ्रमणलाई ‘विशेष गरी यस्तो कठिन समयमा ऐक्यबद्धताको महत्वपूर्ण सङ्केत’ भन्नुभएको छ । उहाँले किएभको टोकियोसँगको सम्बन्धको प्रशंसा गर्दै भन्नुभयो, “हामीबीच आठ हजार किलोमिटर दूरी भए पनि हाम्रा देशहरू सामाजिक तथा मानवीय नैतिक मूल्य मान्यतामा निकै नजिक छन्।”

‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताउनुभएको छ । 

उहाँले अर्को वर्ष डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदको कार्यभार सम्हाल्ने बित्तिकै यो द्वन्द्व पहिले भन्दा छिट्टै अन्त्य हुने बताउनुभएको हो । 

युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भन्नुभयो, “यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ । हामीले कूटनीतिक माध्यमबाट यसलाई अन्त्य गर्नुपर्छ । यो धेरै महत्त्वपूर्ण छ ।”

रूस र युक्रेनबीच कुनै अर्थपूर्ण वार्ता भएको छैन, तर ट्रम्पको राष्ट्रपति पदले द्वन्द्वको भविष्यमाथि प्रश्न उठाएको छ । रिपब्लिकन नेता ट्रम्पले बारम्बार छिटो युद्ध अन्त्य गर्ने बताउनुभएको छ । 

जेलेन्स्कीले भन्नुभयो, “रूसीहरु के चाहन्छन् भनेर हामीले बुझ्नुपर्छ ।”

रूसतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “हामीले यस्तो राज्यसँग युद्ध गरिरहेका छौँ कि जसले आफ्ना जनताको कदर गर्दैन, जहाँ धेरै उपकरणहरू छन्, जसले कति मानिसहरू मर्छन् भन्ने कुराको वास्ता गर्दैन ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले कब्जा गरेको युक्रेनी भूमि किएभले दाबी नगरी आत्मसमर्पण गरेमा मात्र युक्रेनसँग वार्ता स्वीकार गर्ने बताउनुभएको छ । 

क्रेमलिनले शुक्रबार जर्मन चान्सलर ओलाफ स्कोल्जसँग फोनमा भएको कुराकानीमा उक्त माग दोहो¥याएको जनाएको छ ।

जेलेन्स्कीले पुटिनको सर्त अस्वीकार गर्नुभएको छ । 

मस्को यस वर्षको गृष्मयामदेखि पूर्वी युक्रेनमा निरन्तर अघि बढ्दै पोक्रोभ्स्क र कुराखोभ जस्ता प्रमुख क्षेत्रहरूको नजिक पुगेको छ । जेलेन्स्कीले शनिबार रुसी सेनाले ठूलो क्षति व्यहोर्नुपरेको र केही क्षेत्रमा सैन्य कारबाही ‘सुस्त’ भएको बताउनुभएको थियो । 

सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ

सुन्दरबजार (लमजुङ), १ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताउनुभएको छ ।

लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको आज यहाँ उद्घाटन गर्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताउनुभयो । “सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो । 

धेरै व्यक्तिमाथि प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको मन्त्री गुरुङले बताउनुभयो । सरकार अहिले कुनै पार्टीको नेतालाई समात्ने र फसाउने पक्षमा नरहेको उल्लेख गर्दै मन्त्री गुरुङले  सही गलत छुट्टयाउने जिम्मा न्यायालयको भएको बताउनुभयो । सरकारको कामलाई अतिरञ्जित गरेर सरकारलाई गाली गर्नु जायज नभएको उहाँको भनाइ थियो ।

“प्रतिवेदनमा कांग्रेस, एमालेलगायत अन्य राजनीतिक दलका व्यक्तिको नाम आएको छ भने पनि उनीहरुमाथि पनि अनुसन्धान हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “केही दिनअघि मात्र कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधखोज गरिएको छ ।” 

देशमा भ्रष्टाचार मौलायो भन्नेहरु नै भ्रष्टाचार हो कि होइन भनेर छानबिन गर्दैगर्दा अनुसन्धान प्रभावित पार्नेगरी नाराजुलस लगाइरहेका मन्त्री गुरुङले बताउनुभयो । 

फरक प्रसङ्गमा मन्त्री गुरुङले देशको सूचना प्रविधि आइटी क्षेत्रको विकासको सुरुआत लमजुङबाट गरिने बताउनुभयो । नेपाललाई आइटी क्षेत्रका लागि उद्योगका रुपमा विकास गरेर करिब तीन लाख युवालाई रोजगार दिने काममा आफू लागिरहेको उहाँले उल्लेख गर्नुभयो । 

विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी

जानकी (बाँके), १ मङ्सिर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताउनुभएको छ । सरकार यसमा जोड दिन तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

बाँके उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले ठूला र मझौला उद्योगलाई संरक्षण गर्न सकेमा नेपालले अर्थतन्त्रमा नसोचेको फड्को मार्ने धारणा व्यक्त गर्नुभयो । उहाँले रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको उल्लेख गर्दै लगानी प्रवर्द्र्धनमा सरकार गम्भीर भएको बताउनुभयो । सरकार प्रतिस्थापन र निर्यात प्रवर्द्र्धधनमा केन्द्रित रहेर काम गरिरहेको मन्त्री भण्डारीले बताउनुभयो ।

बाँकेको नौवस्तामा निर्माण हुन गइरहेको औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा परेको उहाँको भनाइ थियो । उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वसर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताउनुभयो । 

नौवस्ता औद्योगिक क्षेत्र विकास लिमिटेडका नाममा रहेको जग्गाको केही भागमा अव्यवस्थित रुपमा बस्दै आएका बसोबासीकै कारण लामो समयदेखि विवाद हुँदै आएको उक्त क्षेत्रमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका बसोबासीहरुलाई व्यवस्थित गर्न स्थानीय सरकार र प्रदेशका सांसदहरुको सहयोगमा मन्त्रालयमा छलफल गरेर विवादित क्षेत्रलाई छाडेर अन्यत्र व्यवस्थापन गर्ने विषयमा सहमति भएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । 

मन्त्री भण्डारीले आजै नेपालगन्ज उप–महानगरपालिका–१८ स्थित स्टार पोलिपाइप इन्डष्ट्रिज प्रालिको उद्घाटन समेत गर्नुभयो । निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने सो अवसरमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रालिका अध्यक्ष कमल कार्कीले करिब रु ६५ करोडको लागतमा सञ्चालित उद्योगले उत्पादन थालेको जानकारी दिनुभयो । 

छ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै

काठमाडौँ, १ मङ्सिर : राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन ।

विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती किनारमा सफाइ हुँदै आएको छ । जति सफाइ गरे पनि वाग्मती सफा नदेखिएपछि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन् । 

सुरुआती चरणदेखि महाअभियानमा जुट्नुभएका अभियानकर्मी किशोरसिंह शाही ढलको व्यवस्था नगरी सिधै फोहर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि वाग्मती सफा देखिन नसकेको बताउनुहुन्छ । वाग्मतीको मुहानदेखिकै स्थानीय सरकारले माथिल्लो भेगबाटै आउने फोहर अझै व्यवस्थापन गर्न नसक्नु, पशुपति क्षेत्रको आर्यघाटबाट निस्कने फोहरलाई अझै पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन नगर्नु र फोहर पानी प्रशोधन केन्द्रले राम्रोसँग काम नगर्नुजस्ता कारणले अझै वाग्मती सफाइ हुन नसकेको उहाँको निष्कर्ष छ । महाअभियान नागरिकस्तरबाट सुरु गरी जागरण गर्दा पनि स्थानीय सरकारले फोहर व्यवस्थापनमा चासो नदेखाउँदा प्रभावकारी सफाइ हुन सकेको छैन ।

सफाइ अभियानकर्मी चक्रबहादुर चन्द १२ वर्षअघिको अवस्थाबाट वाग्मतीमा सफाइको अवस्थामा सुधार गर्न सकिए पनि आशातीत काम भने हुन नसकेको बताउनुहुन्छ । ढलमुक्त गराउन भने सरकारले नसकेको उहाँले स्वीकार गर्नुभयो । अधिकार सम्पन्न वाग्मती समितिले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । समितिले गुह्येश्वरीसम्मका छ ठाउँमा ढल मिसिइरहेकामा तीन ठाउँमा बन्द गराइसकेको जनाइएको छ ।

वाग्मती सफाइ महाअभियानको छ सय एक हप्ताको आजको सफाइ काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा गरिएको थियो । वाग्मती सफाइ अभियानकर्मीको समूहले गरेको सफाइसँगै आज त्यस क्षेत्रका वाग्मती किनारमा रोपिएका बोट विरुवा गोड्मेल पनि गरिएको थियो । वाग्मती नदीबाट नकुहिने फोहर पनि व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।

मोडल बिना राउत, गायक रबिन र संगीतकार अर्जुन पोखरेलको सहकार्यमा तयार भयो तिमी हिँड्ने बाटो

काठमाडौँ । सुन्दरी मोडल बिना राउतको अभिनय रहेको तिमी हिँड्ने बाटो बोलको गीतको भिडियो रिलिज गरिएको छ । जहाँ बिनालाई आँफुलाई भन्दा बढी माया गर्ने प्रेमीले दिएको साथको वर्णन गरिएको छ । भिडियोमा बिनाका प्रेमीका रुपमा गायक रबिन बर्तौलाको अभिनय देख्न सकिन्छ । भिडियोमा बिनाका रिलका प्रेमी रबिनले माया नै मायामा डुबेर जुगौँ जुग बाँच्ने वाचा कसम खाएका छन् । गायक रबिन पेशाले सिभिल इन्जिनियर हुन् ।

सार्वजनिक गीतका यी मन छुने शब्द हुन् संगीतकार अर्जुन पोखरेलका । पुरुसोत्तम सुवेदीको एरेन्ज रहेको सार्वजनिक गीत्मा नरेश बिबिसीको मिक्सिगं तथा मास्टरिगं रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन केशव राज भट्टले गरका हुन् । विशाल थापाको छायांकन रहेको भिडियोको सम्पादन राकेश दाहालले गरेका हुन् भने भिडियो गायक रबिन बर्तौलाको अफिसियल च्यानल रबिन बर्तौला मार्फत बजारमा आएको हो । हेर्नुहोस् प्रेम र रोमान्सका रमाइला किस्साले भरिएको यो म्यूजिक भिडियो

जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशन

विराटनगर, १ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माण कार्यलाई जनतासँग जोडेर अगाडि बढाउन निर्देशन दिनुभएको छ । आफू निर्वाचित भएको क्षेत्रमा भएका विकास निर्माण कार्यको आज अनुगमन गर्दै उहाँले जनतासँग जोडिएको विकास मात्र दिगो हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका–३ सानो केर्खामा निर्माण हुन लागेको ‘चिल्ड्रेन पार्क’ निर्माणस्थलको निरीक्षण गर्नुभयो । सो पार्क १२ कट्ठा जग्गामा निर्माण हुन लागेको हो । पार्क निर्माणस्थलको निरीक्षणपछि मुख्यमन्त्री कार्कीले सहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई स्थानीयवासीको सहकार्यमा  काम गर्न निर्देशन दिनुभयो ।

पार्कसम्म जानका लागि गत वर्ष पर्यटन मन्त्रालयको रु २५ लाख लागतमा ५८ मिटर लम्बाइ र साढे तीन मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पत्र भएको स्थानीय टिकाराम भण्डारीले बताउनुभयो । 

पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च

काठमाडौँ, १ मङ्सिर : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात्् रु चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ ।

सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ । चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकका रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्थात् रु ३४ अर्ब ५३ करोड १० लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा रु ८९ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ ।

कात्तिक मसान्तसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा हालसम्म रु तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख बराबर खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकामा हालसम्मको प्रगति शून्य छ ।

लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

गलकोट (बागलुङ), १ मङ्सिर : नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोपकारी काम उदाहरणीय रहेको बताउनुभएको छ । उहाँले नेपालको आर्थिक विकासमा लायन्स र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्न आफू इच्छुक रहेको बताउनुभयो ।

बागलुङमा आज आयोजित लायन्स डिस्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भूकम्प, बाढीपहिरोजस्ता विपद्मा लायन्सको परोपकार प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले आर्थिक विकासमा लायन्ससँग निजी क्षेत्रले मिलेर काम गर्दा धेरै जनतालाई रोजगारी सृजना गर्न सकिने बताउनुभयो ।

लायन्सका सदस्यलाई उत्पादनसँग जोड्ने र निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई लायन्ससँग जोड्दै परोपरकारी बनाउन आवश्यक रहेको ढकालको भनाइ छ । “परोपरकार क्षेत्रमा लायन्सको बढी भूमिका देखिएको छ, अब लाइन्स निजी क्षेत्रसँग जोडिएर उत्पादनमूलक कार्यमा लाग्न आवश्यक छ, जनतालाई उद्योगसँग जोड्का लागि १० अर्ब लगानीको नेपाल पब्लिक डेभलपमेन्ट कम्पनी स्थापना गरेका छौँ, जनता मालिक बन्ने यो सुनौलो अवसर हो, लायन्सका मित्रहरू आउनुहोस् सहकार्य गरौँ, देशको आर्थिक अवस्था उकासौँ”, अध्यक्ष ढकालले भन्नुभयो । 

व्यवसायलाई एकीकृत गर्न सकेमा ठूलो उपलब्धि हासिल हुने भन्दै पछिल्लो समयमा निजी क्षेत्रका व्यवसायहरू एकीकृत ढङ्गले सञ्चालनमा आउन थालेको ढकालले बताउनुभयो । जिल्ला जिल्लामा गरिने क्याबिनेट बैठकले पर्यटनको विकाससँगै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । 

दोस्रो क्याबिनेट बैठकमा देशभरका एक हजार सदस्यहरूको उपस्थिति रहेको डिस्ट्रिक मलिन थापाले जानकारी दिनुभयो । 

रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेलामा एक लाख बढी दर्शनार्थीले गरे पुजापाठ

त्रिवेणी (रुकुम पश्चिम), १ मङ्सिर : रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो ।

मुसिकोट नगरपालिका–५ स्थित डिग्रे शाइकुमारी भगवतीदेविको मन्दिर परिसरमा भव्य मेला लागेको थियो । यो वर्ष एकादशीदेखि पूर्णिमासम्म एक लाख बढी दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । 

एकादशीदेखि पूर्णिमासम्म मन्दिरमा पूजापाठ गर्नेदेखि अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्ति डिग्रे पुगेको समितिले जनाएको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिमसहित छिमेकी जिल्ला रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङलगायतका छिमेकी देश भारतबाट दर्शनार्थीहरू आएका थिए । 

डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्नुका साथै बोकाको बलिसमेत चढाउन मिल्छ । वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । यस वर्ष भने तिथि घटबढका कारण चार दिन विशेष मेला लागेको थियो । 

‘‘एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शनसहित बलि चढाउन मिल्छ, एकादशीदेखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गरेको छ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले भन्नुभयो । उहाँका अनुसार लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला  सकिन्छ । 

मेला सकिए पनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर विवरण सङ्कलनको काम जारी रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ । मुसिकोट नगरपालिकाले हरेक वर्ष मेलाका अवसरमा एक दिन स्थानीय बिदा दिने गरेको छ । डिग्रे मन्दिरमा पुजापाठ गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रहको छ ।

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा

चौतारा, १ मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताउनुभएको छ ।
जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राख्नुभएको हो ।

थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रहसमेत गर्नुभयो । उहाँले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताउनुभयो ।

महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउँदै कृषि क्षेत्रको विकास नभई देश समृद्ध नबन्ने बताउनुभयो ।

तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा

काभ्रेपलाञ्चोक, १ मङ्सिर : बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले तीनै तहका सरकारबीचको समन्वयमा पुनःनिर्माणमा लागिने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित बाढीपहिरो प्रभावित क्षेत्रको आज अवलोकन गर्ने क्रममा उहाँले पुनःनिर्माण एवं पुनर्वास कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो । 

“प्रदेशभित्रका बाढी प्रभावित स्थानीय तहमा पुनःनिर्माण एवं पुनर्वासका कार्यक्रम गर्न योजना बनाइने र क्रमशः कार्यान्वयनमा गइनेछ,” लामाले भन्नुभयो, “यसका लागि पनि तिनै तहको सरकारबीच सहकार्य आवश्यक पर्दछ ।” बाढीपहरिोबाट मृत्यु भएका प्रतिपरिवारलाई कार्यविधिअनुसार नै रु एक लाख राहत रकम प्रदान भइरहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारसँग विपद् ब्यवस्थापनका लागि केही बजेट भएको जानकारी गराउनुभयो । 

मुख्यमन्त्री लामाले भन्नुभयो, “अब क्षतिको विवरण सङ्कलन गर्ने र विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच छलफलमार्फत सहकार्य गर्नका लागि निर्णय पनि गर्न बाँकी रहेको छ ।”

मुख्यमन्त्री लामाले विपद्प्रभावितका लागि अपुग राहतका लागि प्रधानमन्त्रीसँग छलफल भइसकेको बताउनुभयो । “हामीले भएको राहत रकम जिल्लास्थित विपद् व्यवस्थापन कोषमा पठाएका छौँ, बाँकीलाई क्रमशः पठाउँदै गइनेछ,” उहाँले भन्नुभयो । 

असोजको दोस्रो साता आएको बाढीपहिरोमा उक्त गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ताको अवस्थामा छन् । बाढीपहिरोले दुई सय ८२ घरपरिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोले चार सय ८१ घर पूर्णरुपमा र एक हजार एक सय ६३ घरमा आंशिक क्षति पुगेको छ ।

यसैबीच गाउँपालिकाले बाढीपहिरोको क्षति र पुनःनिर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्री लामाको ध्यानार्षण गराएको छ । आज गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले लिखित जानकारी गराउँदै सहयोगका लागि बजेट ब्यवस्थापन गर्न अनुरोध गर्नुभएको हो । मुख्यमन्त्री लामाले आवश्यक सहयोग र बजेट ब्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो ।

राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौँ, १ मङ्सिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाइने बताउनुभएको छ ।

माओवादी केन्द्र काभ्रे–काठमाडौँ सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनःआवश्यक भएकामा जोड दिनुभयो ।

“हामीले संविधान जारी हुँदा जे ‘नोट अफ डिसेन्ट’ लेखेका थियौँ, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगतको अनुभवले देखाइसकेको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ योपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने सङ्कल्प लिएको छु ।” उहाँले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहित नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गर्नुभयो ।

पार्टी छाडेर बाहिर बसेका पूर्वसहकर्मीलाई गोलबन्द गरी समाजवादी अभियान अघि बढाउन सकारात्मक पहल भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “छिट्टै माओवादी धाराहरू एकताबद्ध हुनेछन्  र शक्तिशाली माओवादी आन्दोलन फेरि सृष्टि हुने छ ।”

आफूले नेतृत्वले गरेको पहिलो सरकारले भौतिक पूर्वाधारका रुपमा मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण कोरिडोर निर्माणको थालनी गरेको, गरिब किसानको ऋण मिनाहा गरेको, दोस्रो कार्यकालमा मुलुकलाई लोडसेडिङबाट मुक्त गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा थालनी गरिएका सुशासनको अभियान अब निरन्तर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालले सबै मित्र राष्ट्रसँग समदूरीको सम्बन्ध राखेर जान सक्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले नेतृत्वको पूर्ववर्ती सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा महत्त्वपूर्ण फड्को मारेको जिकिर गर्नुभयो ।

निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता

काठमाडौँ, १ मङ्सिरः बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धरान सरोकार समाजले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा श्रीघिमिरेले आर्थिक कूटनीति, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, बेलायतबाट उच्चपदस्थ अधिकारीलाई नेपाल भ्रमणमा ल्याएर पारस्परिक सम्बन्धलाई नयाँ तहमा पु¥याउने र भूतपूर्व गोर्खा सैनिकसम्बन्धी विषयलाई निष्कर्षमा पु¥याउन हरतरहले प्रयास गर्ने बताउनुभयो । 

पूर्वसञ्चार राज्यमन्त्री कृष्णकुमार राई, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष महेशकुमार अग्रवाल, समाजका कार्यवाहक अध्यक्ष डा महेन्द्र सुब्बा, सदस्य सन्दीप भण्डारीलगायत काठमाडौँलाई कार्यस्थल बनाएर लामो समयदेखि यहाँ रहेका धरानका बासिन्दाले नेपाल–बेलायतसम्बन्ध विस्तारमा प्रस्तावित राजदूत घिमिरेको सफल कार्यकालको कामना गर्नुभएको थियो ।

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने, के-के गर्न पाइँदैन ?

काठमाडौँ, १ मङ्सिर : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।

राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालयमहाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ ।

आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।

 “निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवम् नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रुपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुनेमा आयोग विश्वस्त छ”, प्रवक्ता पोखरेलले भन्नुभयो ।

आचारसंहिता विपरीतका कार्य भए/गरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ ।

यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने आयोगले जनाएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

सिमकोट, (हुम्ला), १ मङ्सिरः हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।

कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या हुने हुँदा बर्सेनि लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।

सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा बर्सेनि स्थानान्तरण गर्नुपर्ने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष गत जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।

गत वर्षको कात्तिक १४ गते सिमकोट झरे पनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोकबहादुर खत्री केसीको नेतृत्वमा खटिँदै आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको प्रहरीले जनाएको छ ।

शाहको क्रिकेट क्रेजः अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म

कमलकुमार बस्नेत, काठमाडौँ । ‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ’, गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र प्रताप शाहले भने ।


‘सुदूरपश्चिम रोयल्स’का मालिक समेत रहेका उनको व्यस्तता पनि उसैगरी बढेको छ, जसरी प्रतियोगिताको ‘चार्म’ बढिरहेको छ ।


‘प्रतियोगिता सुरु हुन धेरै दिन बाँकी छैन, विदेशी खेलाडी अनुबन्धनदेखि प्रायोजकसँगको छलफलले समय निकाल्न पनि मुस्किल भइरहेको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय ब्रोडकास्टरदेखि खेलाडीको प्रवेशले प्रतियोगितालाई अझ स्तरीय बनाउँदै लगेको छ ।’


एनपिएलका आठ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ मा खरिद गरेको हो । जसरी प्रतियोगिताका आम दर्शक र व्यावसायिक कम्पनीहरुको चासो बढिरहेको छ, यसले एनपिएललाई प्रतिष्ठित र महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको उनको बुझाइ छ ।


दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । ‘विगत पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छु, त्यहाँ पनि बर्सेनि क्रिकेट लिग आयोजना हुन्छ, यहाँ जस्तै बोलकबोलमा खेलाडी छनोट गरी प्रतियोगिता आयोजना भइरहेको छ’, उनले भने, ‘अष्ट्रेलियामा जागेको क्रिकेटको क्रेजले नै मलाई एनपिएलसम्म डोर्याएको हो ।’


स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उनी कुनै समय तेक्वान्दो खेलाडी थिए । त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विस्टलगायतसँग सहकार्य गरेको उनको अनुभव छ ।


विष्ट अहिले सुदूरपश्चिम रोयल्सको  ‘ब्राण्ड एम्बासडर’ समेत हुन् ।  अध्ययनका सिलिसिलामा सिङ्गापुर हुँदै सन् २००३ मा अष्ट्रेलिया पुगेका कैलालीको टीकापुरका शाहले अष्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् ।


सन् १९९८ मा टीकापुरबाट एसएलसीको पढाइ सकाएपछि प्लस टु पढ्न काठमाडौँ आएका शाह सन् २००१ मा डिप्लोमा इन बिजनेस एडमिनिष्ट्रेसन पढ्न सिङ्गापुर गएकोमा सन् २००३ मा एड्भान्स डिप्लोमा पढ्न उतैबाट अष्ट्रेलिया गएका हुन् ।


अष्ट्रेलियामा ‘माइग्रेस ल’को पढाइ सकाएपछि सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रबाट व्यवसायमा हात हालेका उनले कुनै समय पाँच वटा रेष्टुरेन्ट समेत सञ्चालन गरेका थिए । उनलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अष्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो ।


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिव समेत रहेका शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घको संस्थापक अध्यक्ष समेत हुन् । महासङ्घको सञ्जाल यतिबेला विश्वका १२ वटा देशमा फैलिएको छ ।


भविष्यमा ४० देखि ५० देशमा सञ्जाल विस्तार गर्ने र नेपालका लागि केही गरौँ भन्ने युवा उद्यमीहरुलाई अवसर प्रदान गर्ने योजना रहेको उनले सुनाए । यसै मञ्चमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी ल्याउने योजनाअन्तर्गत उनको नेतृत्वमा धनगढीमा पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।


विश्वभर फैलिएका नेपाली युवा उद्यमीलाई एकैठाउँमा ल्याइ नेपालमा सामूहिक लगानीको अवसर सृजना गर्ने र ‘आइडिया’ आदानप्रदान गर्ने उद्देश्यले महासङ्घ गठन गरिएको उनको भनाइ छ । महासङ्घले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन यही नोभेम्बर २९ र ३० मा हङहङमा आयोजना गर्दैछ । जसमा विश्वभर छरिएर रहेका दुई सयभन्दा बढी नेपाली युवा उद्यमीको सहभागिता रहने उनले जानकारी दिए ।


शाहको परिचय व्यवसायीका रुपमा मात्रै सीमित छैन, उनले केही चलचित्रमा नायकको भूमिमा अभियन समेत गरेका छन् । नेपाली चलचित्र ‘फेसबुक’मार्फत कलाकारितामा प्रवेश गरेका उनले त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गरे ।


सन् २००६ देखि एनआरएनमा आबद्ध शाह सन् २००९ मा एनआरएनको अष्ट्रेलियाको उपाध्यक्ष भइ ६ वर्ष काम गरे । सन् २०१७ मा एनआरएन अष्ट्रेलियाको अध्यक्षमा झिनो मतान्तरले पराजित भए भने सन् २०२३ मा काठमाडौँमा सम्पन्न एनआरएनएन अधिवेशनबाट वर्तमान कार्यसमितिको सचिवमा निर्वाचित भएका हुन् ।


नेपाली क्रिकेटप्रतिको माया


अष्ट्रेलिया केन्द्रित व्यापार व्यवसाय भए पनि शाहले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहेका छन् । विश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उनलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उनी आफैं पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुन् ।


‘गत वर्ष श्रीलङ्कामा सम्पन्न एसिया कपमा त्यही पुगेर नेपाली क्रिकेट टोलीलाई हौसला दिनेमा म पनि थिएँ, सम्भव भएसम्म नेपालको खेल प्रत्यक्ष हेरिरहेको हुन्छ, नेपाली खेलाडीको प्रदर्शन पछिल्लो समय निकै प्रसंशायोग्य छ’, उनले भने ।


क्रिकेटप्रतिको यही प्रेमले आफूलाई एनपिएलसम्म डोर्याएको उनको भनाइ छ । ‘नेपालको खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यसै क्रममा केही समय अघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले एनपिएलको टिमको बोलकबोल आह्वान गर्यो’, उनले भने, ‘नेपाली क्रिकेटसँग आबद्ध हुने यो मेरा लागि अवसर बन्यो ।’


शाह एनपिएलकै कारण पनि नेपालमा क्रिकेटको पूर्वाधार निर्माण छिटो गर्नुपर्ने आवश्यकता भएको बताउँछन् । यसप्रकारका प्रतियोगितामा ‘होम’ र ‘अवे’ आधारमा खेल सञ्चालन गर्ने चलन हुन्छ । तर हाम्रोमा पूर्वाधार कमीका कारण अहिले काठमाडौँमा मात्रै सञ्चालन हुँदैछ । अबका केही वर्षमा प्रत्येक प्रदेशमा खेल हुनेमा शाह आशावादी छन् ।


‘एनपिएल नेपाली क्रिकेट विकासको आधार बन्न सक्छ, चितवन, रुपन्देही, धनगढीलगायतका स्थानमा निर्माणाधिन क्रिकेट मैदान पूरा भएपछि खेलाडीहरुलाई सहज हुनेछ’, उनले भने, ‘एनपिएलकै कारण खेलाडी उत्पादन र विकासमा ठूलो सहयोग पुग्नेछ, राम्रा क्रिकेट खेलाडीलाई आर्थिक अभावकै कारण क्रिकेट छाड्ने वा विदेशिने बाध्यता हट्नेछ ।’


उनी अष्ट्रेलियाको क्विन्सल्याण्डमा पनि सन् २०१९ देखि ‘क्विन्सल्याण्ड नेपाली क्रिकेट लिग’मा पनि आबद्ध छन् । भविष्यमा सुदूरपश्चिम रोयल्सका खेलाडीलाई पनि अष्ट्रेलियामा लैजाने र त्यहाँ पनि अवसर दिने योजना बनाएको उनको भनाइ छ ।


उनले अष्ट्रेलियाका लागि टी–२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रुपमा भित्राएका छन् । यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अष्ट्रेलियामा खेल्ने अवसर प्रदान हुनसक्ने शाहको भनाइ छ ।


जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नेछिन् । उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन् ।


साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।

गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो

गोरखा, १ मङ्सिरः गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो ।

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जुनको उज्यालोमा सामूहिकरुपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

ठूलो आँगनमा प्लाष्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएको थियो । “पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्नबाली ल्याउनुभएको थियो, यसरी सुकाएको अन्नलाई प्रसादका रुपमा ग्रहण गर्ने चलन छ ।”

नेवार समुदायका अगुवासमेत रहनुभएका ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले झण्डै ४० वर्षदेखि मनाउन छोडिएको यो पर्व विगत तीन वर्षदेखि सामूहिक रुपमा मनाउन थालिएको जानकारी दिनुभयो । कात्तिक शुल्क पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायतका गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको उहाँको भनाइ छ ।

शुक्ल पूर्णिमाको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वाससमेत रहेको उहाँको भनाइ छ । यो पर्व परम्परागत रुपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरुपमा मनाउन थालिएको छ ।

परम्परा र संस्कतिलाई पुस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको तीन वर्षदेखि पुनः मनाउन थालिएको श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले लोप हुनै लागेको मकै सुकाउने पर्वको जर्गेना गर्न स्थानीय समुदायले थालेको प्रयास सराहनीय भएको बताउनुभयो । सोही अवसरमा नेवार समुदायको परम्परा र संस्कृति झल्कने पोसाकमा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको आयोजकले जनाएको छ ।

मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मध्यविन्दु (नवलपरासी), १ मङ्सिरः कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

लालझाडीमा जङ्गली हात्तीको बथानको उपद्रो

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ । साँझ नपर्दै हात्तीको बथान बस्तीमा छिरेर घर भत्काउने, घरभित्र राखेका अन्न, खेतमा लगाएको उखुबाली खाएर नोक्सानी पुर्याउन थालेकाले ज्यान जोगाउन समस्या भएको स्थानीयको गुनासो छ ।

गाउँपालिकाको वडा नं ३ र ४ मा हात्तीको बथानले उखुबालीमा ठूलो क्षति पुर्याएको छ । एक महिनादेखि लालझाडी संरक्षण क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै समूहमा आउने हात्तीले क्षति पुर्याउन थालेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । “हात्तीको आक्रमणमा परेर एक जनाले ज्यान गुमाइसकेका छन् । स्थानीय बासिन्दाका आधा दर्जन बढी घर भत्काइदिएको छ, घरभित्र राखेको अन्न खाएर बिजोग बनाएको छ”, उहाँले भन्नुभयो ।

केही दिनअघि हात्तीले आक्रमणबाट स्थानीय रामदल रानाको ज्यान लिएपछि स्थानीय बासिन्दा भगाउनका लागि डराउने गरेका हुन् । एक महिनाको अवधिमा हात्तीको बथानले स्थानीय किसानको ८० बिघा बढी क्षेत्रफलमा लगाएको उखुबाली खाएर पूर्ण रूपमा क्षति पुर्याएको अध्यक्ष रानाको भनाइ छ । उहाँका अनुसार सिगलपट्टिमा तीन घर, दुई गोठ, पर्सियामा दुई घर, डुङ्गामा एक घर भत्काएर पूर्ण क्षतिग्रस्त बनाइदिएको छ । किसानले बैंकबाट कर्जा लिएर गरेको उखुबाली हात्ती सखाप पारेको उल्लेख गर्नुहँुदै अध्यक्ष रानाले स्थानीयलाई जीउज्यान जोगाउन मुस्किल हुन थालेको बताउनुभयो ।

गाउँपालिकाको वडा नं ३ का किसान खडक चौधरीले एक बिघा जग्गामा लगाएको पूरै उखुबाली हात्तीले नोक्सानी गरेपछि सहकारीबाट खेती गर्दा लिएको कर्जा तिर्न समस्या भएको बताउनुभयो ।

हात्तीले लालझाडी संरक्षण क्षेत्रमा भर्खरै छावा (बच्चा) जन्माएकाले त्यो क्षेत्र छाडेर नजाने गरेको वडा नं ३ का अध्यक्ष टीकाराम चौधरीले बताउनुभयो । उहाँका अनुसार दिउँसोपख बस्ती नजिकैको वनक्षेत्रमा रहने हात्ती साँझ नपर्दै उखुबारीमा पस्ने गरेका छन् । वडामा हालसम्म हात्तीको बथानले ३५ जना किसानको २० बिघा जग्गाको उखुबालीमा व्यापक नोक्सानी गरेको उहाँले बताउनुभयो ।

वडा नं ४ का अध्यक्ष बहादुर राना स्थानीय बासिन्दाको घर, उखुबाली, तोरीबाली जोगाउन स्थानीय बासिन्दासँगै रातभर जाग्राम बसेर हात्ती भगाउने कार्यमा सङ्लग्न रहँदै आएको बताउनुभयो । थप क्षति हुनबाट जोगाउन हात्ती नियन्त्रण गरी जीउधनको सुरक्षा गरिदिनका लागि उहाँले सुरक्षा निकायसँग अनुरोध गर्नुभयो ।

युरोजोनमा सन् २०२५ मा खतराका लक्षणका साथ आर्थिक वृद्धि केही बढ्ने

युरोपेली आयोगले शुक्रबार युरोजोनमा अर्को वर्ष आर्थिक वृद्धि केही बढ्ने र मुद्रास्फीति घट्दै जाने भविष्यवाणी गरेको छ । यद्यपि आयोगले भू–राजनीतिक तनावसँग जोडिएको बढ्दो जोखिमको चेतावनी दिएको छ ।

आयोगको पूर्वानुमानले युरोजोनको वृद्धि यस वर्ष शून्य दशमलव आठ प्रतिशतबाट बढेर सन् २०२५ मा एक दशमलव तीन प्रतिशतमा पुग्ने देखाएको छ भने २० मुलुकको एकल मुद्रा क्षेत्रमा मुद्रास्फीति दुई दशमलव चार प्रतिशतबाट घटेर दुई दशमलव एक प्रतिशतमा हुने बताएको छ ।

“दीर्घकालीन स्थगनपछि युरोपेली अर्थतन्त्र सामान्य वृद्धिमा फर्किरहेको भए पनि मुद्रास्फीति घटाउने प्रक्रिया जारी छ”, आयोगले भनेको छ ।

गत जुनमा प्रकाशित पछिल्लो पूर्वानुमानमा २०२५ मा आर्थिक गतिविधि एक दशमलव चार प्रतिशतले बढ्ने अनुमान थियो । शुक्रवार प्रकाशित नयाँ पूर्वानुमानमा यो आँकडा एक दशमलव तीन प्रतिशत देखाइएको छ ।

आयोगका अनुसार आगामी वृद्धि घरेलु मागले प्रेरित हुने अनुमान छ । यो सन् २०२६ मा युरोजोनमा एक दशमलव छ प्रतिशत हुने अपेक्षा गरिएको छ ।

“ज्याला खरिद गर्ने शक्ति बिस्तारै सुधार हुँदै जाँदा र ब्याज दर घट्दै जाँदा उपभोग अझ विस्तार हुने निश्चित छ”, आयोगले भनेको छ, “लगानीले बलियो कर्पोरेट ब्यालेन्स सिट, नाफा पुनःप्राप्ति र क्रेडिट सर्तहरूमा सुधारको पछाडि पुनरुत्थान हुने अपेक्षा गरिएको छ ।”

युरोजोन बेरोजगारी सन् २०२४ मा छ दशमलव पाँच प्रतिशत र त्यसपछि २०२५ र २०२६ मा छ दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

तर आयोगले युक्रेनमा रुसको युद्ध र मध्यपूर्वमा द्वन्द्वले स्थिरता र ऊर्जा सुरक्षालाई खतरामा पार्दै गर्दा यसको दृष्टिकोण बढ्दो ‘अनिश्चितता र नकारात्मक जोखिम’ को अधीनमा रहेको चेतावनी दिएको छ ।

प्रत्यक्ष रूपमा उद्धृत नभए पनि यस महिना डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति चुनावमा विजयपछि उहाँको ह्वाइट हाउसमा आसन्न फिर्तीले पनि युरोपेली सङ्घ (इयु) को आर्थिक सम्भावनामा ठूलो असर पारेको आयोगले बताएको छ ।

“व्यापारिक साझेदारहरूद्वारा संरक्षणवादी उपायहरूमा थप वृद्धिले विश्वव्यापी व्यापारलाई बढावा दिन सक्छ, यसले इयुको अत्यधिक खुला अर्थतन्त्रमा असर पार्न सक्छ”, आयोगले भनेको छ ।

विशेष गरी इयुलाई लक्षित गर्ने धम्की दिँदै ट्रम्पले बारम्बार चुनावी अभियानमा शुल्कको पक्षमा अनेकौँ पटक आवाज उठाउनुभएको थियो ।

यसले संयुक्त राज्य अमेरिका र युरोपबीच हानिकारक व्यापार युद्ध निम्त्याउन सक्छ र अर्थशास्त्रीहरूले १० प्रतिशत शुल्कले पनि युरोपेली आर्थिक उत्पादनमा असर पार्न सक्ने चेतावनी दिएका छन् ।

“घरेलु क्षेत्रमा नीतिगत अनिश्चितता र उत्पादन क्षेत्रका संरचनागत चुनौतीहरूले प्रतिस्पर्धात्मकता गुम्न सक्छ र त्यसले वृद्धि तथा श्रम बजारमा पनि दबाब दिन सक्छ”, आयोगको भनाइ छ ।

जर्मनीसहित युरोपका शक्तिशाली अर्थतन्त्रमा राजनीतिक सङ्कट देखा परेको छ । कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धको असरले जर्मनीका कारखानाहरू विशेषगरी अटोमोबाइल क्षेत्र गम्भीर रूपमा प्रभावित भएका छन् । त्यहाँ चीनजस्तो प्रमुख बजारमा विशेषगरी विद्युतीय गाडीहरूमा होड बढेको छ ।

स्कोल्जद्वारा पुटिनलाई युक्रेनसँग वार्ता गर्न आग्रह

करिब दुई वर्षपछिको पहिलो फोन वार्तामा जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह गर्नुभएको छ ।

“स्कोल्जले युक्रेनविरुद्धको रुसको आक्रमणको निन्दा गर्नुभयो र राष्ट्रपति पुटिनलाई यसलाई अन्त्य गर्न तथा सेना फिर्ता लिन आह्वान गर्नुभयो”, चान्सलरका प्रवक्ता स्टेफेन हेबेस्ट्रिटले विज्ञप्तिमा भन्नुभयो, “जर्मन नेताले “न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्ने उद्देश्यले युक्रेनसँग वार्ता गर्ने इच्छा देखाउन रुसलाई आग्रह गर्नुभयो ।”

चान्सलर स्कोल्जले रुसी आक्रामकता विरुद्धको लडाइँमा युक्रेनलाई आवश्यक हुँदासम्म समर्थन गर्ने जर्मनीको अटल दृढतालाई पनि जोड दिनुभयो ।

युद्धको महत्त्वपूर्ण मोडमा यो आह्वान आएको छ । युक्रेनी सेनाहरू दबाबमा आइरहेका छन् र संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा विजयले किएभलाई वासिङ्टनको निरन्तर समर्थनमा शङ्का उत्पन्न गरेको छ ।

स्कोल्ज र पुटिनबीच सन् २०२२ डिसेम्बरपछि पहिलो पटक कुराकानी भएको र कुराकानी एक घन्टासम्म चलेको जर्मन सरकर स्रोतले बताएको छ ।

“स्कोल्जले विशेष गरी युक्रेनमा नागरिक पूर्वाधारमाथि रुसी हवाई हमलाको निन्दा गर्नुभयो”, सरकारी स्रोतले भन्यो, “उहाँले युक्रेनविरुद्ध लडाइँका लागि उत्तर कोरियाली सैनिकहरू रुसमा पठाउँदा द्वन्द्व गम्भीर रूपमा बढ्ने र विस्तार हुने कुरा स्पष्ट पार्नुभयो ।”

क्रेमलिनले कुराकानीको आफ्नो रिडआउटमा दुई नेताहरूले ‘स्पष्ट विचार आदानप्रदान’ गरेको र यो आह्वान जर्मनीले सुरु गरेको बताएको छ ।

“सम्भावित सम्झौताहरूले रूसी सङ्घको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्दछ, नयाँ क्षेत्रीय वास्तविकताहरूबाट अगाडि बढ्नुपर्दछ र सबैभन्दा महत्त्वपूर्ण रूपमा द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्दछ”, क्रेमलिनले भनेको छ ।

पुटिनसँगको फोन कुराकानी गर्नुअघि स्कोल्जले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुराकानी गर्नुभएको प्रवक्ता हेबेस्ट्रिटले बताउनुभयो । “जर्मन र युक्रेनी नेताले पहिले नै कुरा गर्नुभएको थियो र रुसी राष्ट्रपतिसँगको कुराकानीपछि फेरि गर्नुहुनेछ”, प्रवक्ताले भन्नुभयो ।