`

कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल

बाकु (अजरबैजान) – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ ।

कोप–२९ सम्मेलनको पाँचौ दिन शुक्रबार कोपको अध्यक्षमण्डलले आयोजना गरेको कार्यक्रममा नेपालले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले गरेका असरबारे ध्यानाकर्षण गराएको थियो ।

वन तथा वातवरणमन्त्री ऐनबहादुर शाही ठकुरी सहभागी उक्त बैठकमा उहाँका तर्फबाट वन सचिव डा दीपकुमार खरालले पर्वतीय क्षेत्रको महत्व र हिमालमा जलवायु परिवर्तनले गरेका असर तथा गर्नुपर्ने कामका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

सम्मेलनमा छलफलका लागि एजेण्डा तय गर्ने बारेमा कोपको अध्यक्षको समूहले राखेको बैठकमा यसरी हिमालका मुद्दाबारे पहिलोपटक छलफल भएको हो । यसअघि सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनमा सहभागिताका क्रममा हिमालमा परेको असरले तल्लो तटीय क्षेत्रमा पारेको असरबारे धारणा व्यक्त गर्नुभएको थियो । सो विषयलाई समेत आज विभिन्न देशहरुले उद्धृत गर्दै आफ्ना धारणा व्यक्त गरेको बैठकमा सहभागी मन्त्री शाहीका जलवायु सल्लाहकार मन्जित ढकालले जानकारी दिनुभयो ।

नेपालले यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो । नेपालको उक्त प्रस्तावमा भुटान, तान्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए ।

यसैगरी वन मन्त्री शाही र संयुक्त अधिराज्य बेलायतका जलवायु परिवर्तनसम्बन्धी मन्त्री केरी एमसिक्याथ्रीबीच भेटवार्ता भएको छ । सम्मेलनस्थलमा कार्बन टे«डसम्बन्धी कार्यक्रमपछि उहाँहरुबीच भएको संक्षिप्त भेटवार्तामा मन्त्री शाहीले जलवायु परिवर्तनका असर र त्यसको न्यूनीकरणमा सहयोगलगायत विषयमा धारणा राख्नुभएको थियो ।

मन्त्री शाहीले यसअघि उक्त कार्यक्रममा कार्बन व्यापार प्रवर्द्धनका लागि नेपाल सरकारले नीतिगत, कानुनी र संरचनागत सुधारको प्रयास गरिरहेको र वातावरण नियमावली संशोधन, ‘लिफ कोलिजन’ सम्झौता अन्तिम चरणमा रहेको बताउनुभएको नीतिविज्ञ प्रताप पौडेलले जानकारी गराउनुभयो ।

कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरु भेला भई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गर्नुभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

सहकारीमा दोषी भएका जो कोहीलाई कारबाही गरिनुपर्छ -सभापति देउवा

डडेल्धुरा – सोमबारदेखि जिल्ला भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान राष्ट्र हितका लागि संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

डडेल्धुरामा नेपाल प्रेस युनियनले शुत्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको खुलासा गर्नुभयो । उहाँले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने बताउनुभयो । अरू दलहरूलाई पनि समेटेर दुई तिहाई पुर्‍याउने र संविधान संशोधन गर्ने सहमति भएकाले देउवाको भनाइ छ ।

गठबन्धन भत्किने कुराहरू आमसञ्चार माध्यमबाट सुन्ने गरेको भन्दै सभापति देउवाले त्यस्तो नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेसबाट गठबन्धन फुट्ने कुराहरू मैले पनि सुन्छु । प्रेसमा मात्रै छ । अरू कही छैन ।”

यो गठबन्धन २०८४ सम्मै जान्छ भन्ने पत्रकारहरूको प्रश्नमा सभापति देउवाले भन्नुभयो, “दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो । त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा । मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ ।”

वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको सभापति देउवाको भनाइ थियो । “हाम्रा साथीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । बयानहरू लिइरहेको छ,” उहाँले भन्नुभयो, “यसमा कुनै राजनीतिक प्रतिशोध छैन । प्रहरीले कानुनबमोजिम काम गरिरहेको छ ।”

सहकारीमा दोषी भएका जो कोहीलाई पनि नियमअनुसार कारबाही गरिनुपर्ने बताउँदै सभापपति देउवाले शिवशिखर सहकारीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको सवालमा बदमासी गर्नेलाई कारबाही गरिने र रकम बचतकर्ताले आफ्नो वचत पाउने बताउनुभयो । देउवा मङ्सिर १ गते लाग्ने उग्रतारा मेलापश्चात् मात्रै काठमाडौँ फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ ।

“देशभर पूर्वाधारहरू बनिसकेका छैनन्, ठाउँठाउँमा सडकहरू बनाउन अझै बाँकी छ,” सभापति देउवाले भन्नुभयो, “सिँचाइको व्यवस्था भएको छैन, बिजुली पुगेको छैन । आवश्यक भौतिक पूर्वाधारका संरचनाहरू निर्माण गर्नुपर्छ ।”

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

दमौली(तनहुँ) । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएको छ ।

आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने विश्वास व्यक्त गरे । पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको छ ।

मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माण जारी छ ।

पूर्वी खण्डअन्तर्गत सडकको काम भने ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै

काठमाडौँ, १ मङ्सिर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ ।

बालविवाहका कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिला थप प्रताडित हुने समस्या रोक्नका लागि पनि रणनीति निर्माणको अन्तिम चरणमा पुगेको महिलामन्त्री नवलकिशोर साह सुडीले जानकारी दिनुभयो ।

“अशिक्षा, आर्थिक अवस्था कम्जोर र बालविवाह गर्दा हुनसक्ने समस्याका बारेमा जानकारी नभएकै कारण ग्रामीण क्षेत्रका बालबालिकाहरु उमेरै नपुगी वैवाहिक जीवनमा जोडिन बाध्य छन, विशेषगरी बालविवाहलाई व्यावहारिक रुपमै अन्त्य गर्नका लागि पनि रणनीति र्निमाण लागिएको हो”, मन्त्री सुडीले भन्नुभयो ।

विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएको र बालबालिकाको शिक्षा, प्रजनन स्वास्थ्य र बाल अधिकारलाई ध्यानमा राखी नेपालमा २० वर्षमुनि उमेरका व्यक्तिको विवाहलाई बालविवाह मानिएको छ ।

नेपालको संविधान, राष्ट्रिय बालबालिका नीति, २०८०; मुलुकी अपराधसंहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बालबालिकासम्बन्धी नियमावली, २०७८; स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालविवाह विरुद्धको रणनीति, २०७२ लगायत अन्य कानुन पनि बालविवाह अन्त्यका लागि कार्यान्वयनमा रहेका छन् ।

बालबालिकाको हक र अधिकारको सुनिश्चतताका लागि बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ र महिलामाथि हुने सबै प्रकारका विभेदहरूको अन्य गर्ने महासन्धि, १९७९ लाई अनुमोदन गरी बालबालिका र महिलाको अधिकारलाई कार्यान्वयनका लागि प्रतिबद्धता जनाएको छ ।

दिगो विकासको लक्ष्य (२०१६–२०३०) लगायतका मानव अधिकार र बाल अधिकारसँग सम्बन्धित दस्तावेजहरूलाई नेपालले अङ्गिकार गरेको छ । नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ हजार ६४ हजार पाँच सय ७८ मध्ये बालबालिका (१८ वर्षसम्मका) को ९८ लाख ६९ हजार पाँच सय ८३ (३३.८४ प्रतिशत) रहेका छन् । जसमध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेको छ । कुल पुरुषमध्ये बालक ३६ प्रतिशत र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेको छन् ।

नेपाल बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण, २०७६ अनुसार २० देखि २४ वर्ष उमेर समूहका विवाहित व्यक्तिहरुमध्ये १५ वर्षमुनिका ५.२ प्रतिशत (पुरुष १.५ प्रतिशत र महिला ७.९ प्रतिशत) र १८ वर्षमुनिका २२.७ प्रतिशत (पुरुष नौ प्रतिशत र महिला ३२.८ प्रतिशत) को विवाह भएको पाइएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले गरिबी, बाल अधिकारप्रति बेवास्ता, दायित्व र जिम्मेवारी बहन हुन नसक्नु, बालबालिका प्राथमिकतामा नपर्नु, समन्वय, सहयोग, सहजीकरण र सहकार्यमा कमी हुनु, कानुनी र नीतिगत व्यवस्थाअनुरुप योजना र कार्यक्रम तर्जुमा र भएका पनि कार्यान्वयन हुन नसक्नु बाल विवाहका मुख्य समस्या र चुनौती भएको बताउनुभयो ।

बिस दिनकी सुत्केरी छत्यालको हेलिकोप्टरबाट उद्धार

सिमकोट (हुम्ला), १ मङ्सिर : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो ।

अदानचुली–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतीक्षा भारतीले बताउनुभयो ।

गाउँमै रहेको स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएकी छत्याललाई अचानक रक्तस्राव भएपछि पालिका केन्द्र श्रीनगर स्वास्थ्यचौकीमा पुर्‍याएको र उपचार सम्भव नभएपछि सम्बन्धित निकायमा खबर गरेर थप उपचारका लागि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत अस्पतालमा उद्धार गरिएको प्रमुख डाक्टर भारतीले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्लासहित कर्णाली प्रदेशका दुर्गम जिल्लाका गर्भवती, सुत्केरी व्यथामा समस्याग्रस्त महिलाको उद्धार गर्दै आएको छ ।

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

सिमकोट (हुम्ला), १ मङ्सिर : हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नुभएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्य तालिकाअनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनको कार्य तालिकाअन्तर्गत मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो ।

निर्वाचन कार्य तालिकाअनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजेसम्म हुनाका साथै सोही दिन नै उम्मेदवारको सूची सार्वजनिक हुने भएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरीमाथि छानबिन मङ्सिर ४ गते गरिने भएको बतइएको छ । उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने भएको छ ।

त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो ।

उपाध्यक्ष पदको उम्मेदवार नेपाली कांग्रेसले आफ्नो उम्मेदवार सविता बुढालाई सर्वसहमत टुङ्ग्याएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवार टुङ्ग्याएका छैनन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १ मङ्सिर : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक

काठमाडौँ, १ मङ्सिर : सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ ।

सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ ।

बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकमा सहभागी हुन सशस्त्र सीमा बलका महानिर्देशकसहितको प्रतिनिधिमण्डल शुक्रबार नै काठमाडौँ आएको छ ।

समन्वयात्मक बैठक प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । यसअघि सो बैठक भारतमा भएको थियो । छैटौँ समन्वयात्मक बैठक २०७९ असोजमा काठमाडौँमा भएको थियो । कोभिड–१९ का समयमा भने समन्वयात्मक बैठक नियमित हुन सकेका थिएनन् ।

सीमा सुरक्षामा खटिइएका दुई सङ्गठनबीच महानिर्देशक–महानिरीक्षक, वाहिनीपति, गणपति तथा बोर्डर आउट पोस्ट स्तरमा पनि नियमित छलफल हुँदै आएका छन् ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, १ मङ्सिरः हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

कार्तिक शुक्ल पूर्णिमाः भण्डारा एवं ‘गुरु गन्थ साहेव’ पाठ गरी मनाइयो गुरुनानक जयन्ती

काठमाडौँ, ३० कात्तिक : गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘सुकमणि साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ ।

त्यस अवसरमा ‘गुरु ग्रन्थ साहेव’का बारेमा विशेष प्रकाश पारिएको थियो । कार्यक्रममा चार सय ५० जनालाई भण्डारा गराइएको स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । गुरु ग्रन्थ साहिबको अखण्ड पाठ एवं भोगप्रसाद पनि सम्पन्न भएको छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।

यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाआराधना गरिन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज कुपण्डोलस्थित गुरुद्वारामा पनि पाठ पारायण एवं पूजाआराधना गरी मनाइएको छ ।

गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेव’को रचना गर्नुभभएको थियो भने जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गराउनुभएको बताइन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’को थालनी गर्नुभएको र निर्गुण उपासनाका पक्षपाती उहाँ ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो भन्ने शिख समुदायले बताउने गरेका छन् ।

जर्मन चान्सलर स्कोल्ज र रूसी राष्ट्रपति पुटिनबीच दुई वर्षपछि पहिलो पटक फोन वार्ता

जर्मन चान्सलर ओलाफ स्कोल्ज र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लगभग दुई वर्षपछि पहिलोपटक शुक्रबार फोनमा एक घन्टासम्म कुराकानी गर्नुभएको जर्मन सरकारी स्रोतले बताएको छ । यद्यपि कुराकानीको विषयवस्तु खुलाइएको छैन । क्रेमलिन प्रमुख र प्रमुख पश्चिमी मुलुकका प्रमुखबीच सन् २०२२ डिसेम्बरपछि पहिलो पटक कुराकानी भएको हो । युरोपेली सङ्घ (इयु) र अमेरिकाले युक्रेनमा आक्रमण गरेकामा रुसमाथि ठूलो प्रतिबन्ध लगाएपछि पुटिनले सन् २०२२ देखि अधिकांश नेटो र पश्चिमी नेताहरूसँग कुरा गर्नुभएको छैन ।

नाटो समूहभित्र पश्चिमी नीतिको आलोचना गर्दै आउनुभएका हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पुटिन सम्पर्कमा हुनुहुन्छ । जर्मन र रूसी नेताबीचको यो कुराकानी युक्रेनमाथि रूसको पूर्णस्तरको आक्रमणको महत्त्वपूर्ण मोडमा आएको हो । सन् २०२२ को फेब्रुअरीमा रुसले सुरु गरेको युद्ध तेस्रो जाडोतिर अघि बढ्दै जाँदा किएभका सेनाहरू बढ्दो दबाबमा छन् ।

जर्मनी युक्रेनको सबैभन्दा ठूलो सैन्य समर्थकहरू मध्ये एक हो । अमेरिकापछि जर्मनी युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने दोस्रो ठूलो देश पनि हो । तर चुनावी अभियानमा युक्रेनलाई सहयोगको आलोचना गर्ने ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको विजयले वासिङ्टनको निरन्तर समर्थनमा शङ्का खडा गरेको छ ।

बालबालिका राष्ट्र निर्माणका पुँजी हुन्ः प्रदेश प्रमुख भट्ट

गण्डकी, ३० कात्तिक : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पुँजी रहेको बताउनुभएको छ ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–५, रिभानस्थित निष्पक्ष मावि परिसरमा आयोजित मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले बालअधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको बताउनुुभयो । उहाँले संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र सबै बालबालिकालाई साक्षर बनाउने अभियानमा सरकार निरन्तर लागिरहेको उल्लेख गर्नुभयो ।

असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा सुधार गर्न सकिने प्रदेश प्रमुख भट्टको भनाइ छ । “बालबालिकाको हातमा कुटो कोदालो होइन, कलम र किताब नै हुनुपर्दछ । यसका लागि परिवार, समाज, संस्था र सिङ्गो राज्यको दायित्व रहनुपर्दछ”, उहाँले भन्नुुभयो, “हाम्रो दायित्व बालबालिकालाई विद्यालयमा पु¥याउनु मात्र पनि होइन, सबै विद्यालयहरूलाई बालबालिकाको इच्छाअनुसार उपयुक्त शिक्षाको व्यवस्थापन गर्न सक्ने बनाउनु पनि हो ।”

प्रतिष्ठानले विसं २०५४ देखि नै यहाँका विद्यालयहरूमा भौतिक संरचना निर्माण, पुस्तकालय स्थापना, छात्रवृत्ति प्रदान, प्रोजेक्टर, विज्ञान सामग्री तथा कम्प्युटरलगायतका शैक्षिक सामाग्री सहयोग गरेर शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको थाहा पाउँदा खुसी लागेको छ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।

प्रतिष्ठानका तर्फबाट विभिन्न १० विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ

बागमती, ३० कात्तिकः चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाको उपमहानगरपालिका–८ कमाने निवासी सन्तोष अधिकारीको घरबाट चोरी भएको गरगहनासहित हेटौँडा उपमहानगरपालिका–१५ निवासी मनोज पुलामीमगर र हेटौँडास्थित शिवशक्ति सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

यही कात्तिक ७ गते अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाइलसमेत चोरी भएको सूचनाका आधारमा चोरीमा सङ्लग्न व्यक्तिको खोजतलास गर्ने क्रममा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । चोरीमा सङ्लग्न मगरले चोरीका गरगहना, नगद र मोबाइलमध्ये केही सुनका गरगहना शिवशक्ति सुनचाँदी पसलका सञ्चालक विश्वकर्मालाई बिक्री गरेको बताएपछि उहाँलाई पनि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुबाट चोरीका साढे तीन तोला सुन र पाँच तोला चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनामाथि अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ ।

आइएइए प्रमुखद्वारा इरानका संवेदनशील आणविक संयन्त्रहरूको भ्रमण

तेहरानले आफ्नो महत्वाकांक्षाबारे ‘शङ्का’ सम्बोधन गर्न तयार रहेको बताएपछि संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखले शुक्रबार पश्चिमी चिन्ताको केन्द्रविन्दु बनेका दुईवटा इरानी युरेनियम संवर्धन संयन्त्रको भ्रमण गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमलाई लिएर ‘व्यवहारको सीमा सङ्कुचित हुन थालेको’ चेतावनी दिएपछि इरानको भ्रमण गर्नुभएको हो ।

ग्रोसीले शुक्रबार मध्य इरानमा नातान्ज र फोर्डो संवर्धन संयन्त्रहरूको भ्रमण गर्नुभएको आधिकारिक आइआरएनए (इर्ना) समाचार एजेन्सीले जनाएको छ ।

उहाँसँग इरानको आणविक ऊर्जा सङ्गठनका प्रवक्ता बेहरोज कमलभान्डी पनि हुनुभएको इर्नाले पोस्ट गरेको तस्बिरले देखाएको छ ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्दा तेहरानसँग कडा रवैया लिने अपेक्षा बढेको छ । यद्यपि उहाँका टेक अर्बपति सहयोगी एलोन मस्कले संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतलाई भेट्नुभएको न्युयोर्क टाइम्सले बिहीबार रिपोर्ट गरेको थियो ।

ट्रम्पको सङ्क्रमण टोली र संयुक्त राष्ट्रसङ्घका लागि इरानको मिसन दुवैले राजदूत सईद इरवानीसँगको भेटको पुष्टि गरेका छैनन् । इरानी मिसनले कुनै टिप्पणी नगरेको बताएको छ ।

ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा तेहरान र प्रमुख शक्तिहरूबीचको सन् २०१५ को ऐतिहासिक आणविक सम्झौता त्याग्दै ‘अधिकतम दबाब’ को नीतिमा आर्थिक प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो ।जवाफमा इरानले बिस्तारै सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता फिर्ता लिन थालेपछि ऊमाथि तीन दशमलव ६५ प्रतिशतभन्दा माथि युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइयो ।

इरानले आफ्नो युरेनियम भण्डार ६० प्रतिशतसम्म विस्तार गरेको छ । यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरको धेरै नजिक भएकाले यसले अन्तर्राष्ट्रिय चेतावनी निम्त्याएको छ ।आइएइएका अनुसार ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्ने इरान एक मात्र गैर–आणविक हतियार मुलुक हो ।

डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ, ३० कात्तिक : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

स्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार

काठमाडौँ, ३० कात्तिक : नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट चुनाव लड्ने कोशी र गण्डकी प्रदेशका उम्मेदवार सर्वसम्मत रूपमा चयन गरेको छ ।

कोशी प्रदेशको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ को वडाध्यक्ष पदमा भीमकुमार लक्सम्वा, झापा कन्काई नगरपालिका-६ को वडाध्यक्ष पदमा रामगोपाल वली, मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बलराम सरदार, तेह्रथुम लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष पदमा नगेन्द्र लिम्बू, सुनसरी जिल्ला गढी गाउँपालिका- ६ को वडाध्यक्ष पदमा तेतर साह, ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा टेकराज भट्टराई, ओखलढुङ्गा मोलुङ गाउँपालिका-५ को वडाध्यक्ष पदमा घनश्याम दाहाल, उदयपुर त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष पदमा सञ्जीव काफ्ले र बेलका नगरपालिका-९ को वडाध्यक्ष पदमा नवराज बस्नेतलाई सर्वसम्मत चयन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी गण्डकी प्रदेशअन्तर्गत गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष पदमा भाइकाजी आलेलाई सर्वसम्मत चयन गरिएको पनि जनाइएको छ । पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनको मैदानमा सामेल हुन कांग्रेस केन्द्रीय कार्यालयले अनुरोध गरेको छ ।

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी

काठमाडौँ, ३० कात्तिकः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको निर्देशनभित्र रहेर प्रतिस्पर्धी र व्यावसायिक बैंकिङ कारोबारमार्फत जनताको विश्वास जित्न आग्रह गर्नुभएको छ । नेपाल बैंक लिमिटेडको ८८औँ वार्षिकोत्सव समारोहमा उहाँले वित्तीय अनुशासन कायम गर्दै प्रतिस्पर्धात्मक बैंकिङ कारोबारमार्फत सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

गभर्नर अधिकारीले नेपाल बैंकले आफ्नो सेवा सुविधाहरूलाई थप विस्तार एवं नवप्रवर्तन गरी समयानुकूल प्रविधिमैत्री बैंकिङलाई आत्मसात् गर्दै आर्थिक विकास तथा रोजगारी सृजनामा अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल बैंकिङमा देखिएका चुनौतीलाई सामना गर्दै विश्वसनीय र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने दायित्वबाट कहिल्यै बिमुख नहुन आग्रह गर्नुभयो । “विगतमा कमजोर व्यवस्थापनका कारण समस्यामा परेका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई जोगाएर उल्लेखनीय प्रगति हासिल गर्ने बैंकको रूपमा स्थापित भएको छ । यो बैंक धेरै दुःख गरेर ‘रिकभर’ भएको बैंक हो । राज्य र नियामकले ठूलो लगानी र जोखिम मोलेर बाह्य ऋणसमेत लिएर बैंकको रिकभर गरेको हो । त्यसैले जुन किसिमका नीति नियमन, निर्देशिका बने त्यसको प्रभावकारी कार्यान्यवनले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरे । फेरि ‘मिस म्यानेजमेन्ट’का कुरा सुनिन थालेका छन् । त्यस्तो अवस्था आउन नदिन म बोर्ड र उच्च व्यवस्थापनको ध्यानाकर्षण गराउन चाहन्छु”, गभर्नर अधिकारीले भन्नुभयो ।

नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंक लिमिटेडले देशको कुनाकाप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पु्र्याउनुका साथै बैंकिङमार्फत रोजगारीको अवसर सृजना गर्दै देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न बैंकको अग्रणी भूमिका रहेको उहाँको भनाइ थियो ।

बैंकका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले आगामी दिनमा सेवा प्रवाहलाई अझ बढी प्रतिस्पर्धी, प्रविधिमैत्री, सुरक्षित र विश्वसनीय बनाउँदै बैंकको संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित भई सहकारिता र साझेदारिताको अनुपम उदाहरण बनेको बताउनुभयो । उहाँले नेपाल बैंकले राष्ट्रिय अर्थतन्त्रका सम्पूर्ण पक्षलाई मुलुकको विकास र समृद्धितर्फ दिशानिर्देश गर्न आवश्यक वित्तीय साधन उपलब्ध गराउने र नेपाली मुद्रा चलनचल्तीमा ल्याउने आधार तयार पार्न भूमिका खेलेको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा बैंकमा २५ वर्ष र २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक दिनाका साथै उत्कृष्ट १० शाखालाई सम्मान गरिएको थियो ।

नेपाल बैंक लिमिटेड, नेपालकै पहिलो वाणिज्य बैंकका रूपमा विसं १९९४ कात्तिक ३० गते स्थापना भई मुलुकमा संस्थागत बैंकिङ सुुरुआत गर्ने अग्रणी संस्था हो । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा रु आठ लाख ४२ हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको चुक्ता पुँजी अहिले रु १४ दशमलव ६९ अर्ब छ । बैंकको जगेडा कोषमा रु २२ दशमलव ६९ अर्ब रहेको छभने रु ३७ अर्ब बढी नेटवर्थ रहेको त्यस अवसरमा जानकारी दिइयो ।

हाल बैंकले दुई सय २९ शाखासँगै दुई सय पाँच वटा एटिएम, ६० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो उपस्थिति जनाएको छ । विसं २०८० असार मसान्तसम्म दुई सय ८३ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ९७ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । तीन हजारभन्दा बढी कर्मचारी रहेको बैंकको २५ लाख हाराहारी ग्राहक रहेको जनाइएको छ ।

भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो ।

आज यहाँ सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको सुनाउनुभयो । कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उहाँको भनाइ थियो । “वास्तविक समाजवाद न कुनै किताबका पानाबाट निस्कन्छ न पार्टीका उपदेशबाट”, उहाँले भन्नुभयो, “समाजवाद जगैदेखि निर्माण गर्ने कुरा हो । हामीले अब समाजवाद उमार्नु छ, समाजवाद थोपर्नु होइन ।” अध्यक्ष दाहालले मुलुकमा समाजवादको वैचारिक बहस गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक घिमिरेको लेखनमाथि समीक्षा गर्नुहुँदै उहाँले आफ्नो पार्टीले ‘२१औँ शताब्दीको नयाँ जनवाद’ पुस्तक निकालेर जनताको समाजवादको विषय उठान गर्दै आएको बताउनुभयो । अध्यक्ष दाहालले उक्त दस्तावेजमा असली समाजवादमा जनताको नियन्त्रण, निगरानी र सक्रिय हस्तक्षेपको कुरा उल्लेख गरिएको छ भन्नुभयो ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले २०४६ सालदेखि जनताले समाजवादको भाषणमात्रै सुन्दै आएको तर अहिले पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गर्नुभयो । समाजवादले जनताको भोको पेटसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि नेपालको राजनीतिक दल सत्तामुखी भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समाजवादबाटै सीमान्तकृत समुदायको मुक्ति सम्भव हुने र आफ्नो पार्टी यसैका आधारमा सङ¬्घर्षरत रहेको बताउनुभयो । आदिवासी जनजाति अधिकारकर्मी सरु सिङ्गक लिम्बूले लेखक घिमिरेको पुस्तकमा समाजवादको वास्तविक मार्गदर्शन चित्रण भएको टिप्पणी गुर्नभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत (समाजवादी)का नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । घिमिरेको पुस्तक मदानी बुक्सले प्रकाशन गरेको हो ।

अनलाइनमा बालयौन दुव्र्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ

काठमाडौँ, ३० कात्तिकः नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रतापुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेका केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बालयौन दुर्व्यवहारको सामग्री तयार पारी विद्युतीय माध्यमबाट प्रसारण गरेको विषयमा आवश्यक अनुसन्धान गर्दा निज अमनप्रताप हरिजन खुल्न आएकाले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सहयोगमा बिहीबार पक्राउ गरिएको हो ।”

पक्राउ परेका निजउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक अवस्थीले बताउनुभयो ।

डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण

काठमाडौँ, ३० कात्तिकः डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई चार सय आठ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्रीबहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री लामाले यसबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले नागरिकको गुनासालाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने बताउनुभयो । कार्यक्रममा बागमतीका यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेल, बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले उक्त स्मार्ट फोनले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रदेश यातायात मन्त्रालयका सचिव बलराम निरौलाले मन्त्रालयका भावी योजनाबारे जानकारी दिनुभएको थियो । प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गरिहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगीसिद्ध हुने विश्वास लिएको बताउनुभयो । प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकाले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिस्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उहाँले उल्लेख गर्नुभयो ।

जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही

बाकु (अजरबैजान), ३० कात्तिकः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायुको उच्च जोखिम भोग्ने राष्ट्रको रूपमा रहेकाले जलवायु उत्थानशील दिगो विकास आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा आज ‘वल्र्ड ग्रिन इकोनोमी अर्गनाइजेसन’ (डब्ल्युजीइओ)का अध्यक्ष सईद मोहम्मद अल ताएरसँग भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले उक्त सङ्गठनमा सामेल हुने र यसको सामूहिक प्रयासहरूमा योगदान गर्ने सम्भावित लाभका बारेमा आफूहरू उत्साहित रहेको उल्लेख गर्नुहुँदै कुनै पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय सङ्लग्नतामा नेपालले स्थापित प्रक्रियाहरू पालना गर्ने र सम्बन्धित मन्त्रालयबाट आवश्यक अनुमोदन खोज्ने उल्लेख गर्नुभयो । “हामी संयुक्त अरब इमिरेट्स र डब्ल्युजीइओसँँगको सहकार्यका सम्भावित क्षेत्रहरू विशेषगरी नवीकरणीय ऊर्जा, दिगो कृषि र जलवायु वित्तको क्षेत्रमा प्राविधिक तथा वित्त सहयोग, ज्ञान, सीप तथा हरित वित्तका टुल्स हस्तान्तरण तथा क्षमता अभिवृद्धिलगायतका कार्यहरू अन्वेषण गर्न उत्सुक छौँ”, मन्त्री शाहीले भन्नुभयो ।

यस सहकार्यले नेपालका जलवायु चुनौतीहरूलाई सम्बोधन गर्न र हरित अर्थतन्त्रलाई बढावा दिन महत्वपूर्ण प्रगति हासिल गर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो । त्यस अवसरमा मन्त्रालयका सचिव डा दीपककुमार खरालगायत उपस्थित हुनुहुन्थ्यो ।

गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह

हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् ।

“यदि युद्धविराम प्रस्ताव प्रस्तुत गरिन्छ र त्यो इजरायलाई मान्य हुन्छ भने हमास गाजा पट्टीमा युद्धविराममा पुग्न तयार छ, हामी अमेरिकी प्रशासन र ट्रम्पसमक्ष इजरायली सरकारलाई आक्रमण अन्त्य गर्न दबाब दिन आह्वान गर्दछौँ”, हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमले भन्नुभयो, “विस्थापित मानिसहरूको फिर्ती, कैदीहरूको आदानप्रदानका लागि गम्भीर सम्झौता, मानवीय सहायता र पुनर्निर्माणको पहुँच दिने गरी गाजा पट्टीबाट प्रस्तुत गरिएको कुनै पनि प्रस्तावले स्थायी युद्धविराम र सैन्य फिर्ताको समझदारीमा पुग्न सहयोग गर्नेछ भनेर हमासले मध्यस्थकर्ताहरूलाई जानकारी दिएको छ ।” 

उक्त माग गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणपछि सुरु भएको युद्धविराम वार्ताहरूमा तोकिएका बुँदाहरू हुन् ।

चुनावी प्रचार अभियानमा ट्रम्पले मध्यपूर्वमा शान्तिको वाचा गर्नुभएको थियो र इजरायललाई अझ स्वतन्त्रता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

हमास र इजरायलले वार्तामा ‘गम्भीरता’ नदेखाएसम्म गाजाको युद्धविराम र बन्धक मुक्तिका लागि प्रमुख मध्यस्थकर्ताका रूपमा आफ्नो भूमिका निलम्बन गरेको कतारले शनिबार बताएपछि नइमको टिप्पणी आएको हो ।

सन् २०१२ देखि अमेरिकी आशीर्वादमा हमासको राजनीतिक नेतृत्वलाई आफ्नो भूमिमा आश्रय दिएको कतारले गत अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणले सुरु गरेको युद्ध अन्त्य गर्ने लक्ष्यका लागि महिनौँदेखि लम्बिएको कूटनीतिक प्रयासबाटा पछि हट्ने घोषणा गरेको थियो ।

इजरायली आधिकारिक तथ्याङ्कको एएफपीले गरेको गणनाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय छ जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार गाजामा भएको इजरायलको प्रतिक्रियात्मक अभियानमा हमास प्रशासित क्षेत्रमा ४३ हजार सात सय ६४ मानिसको मृत्यु भएको छ । तीमध्ये धेरै सर्वसाधारण थिए ।

रक्षामन्त्री राईबाट सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण

काठमाडौँ, ३० कात्तिकः रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्ला नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गर्नुभएको छ ।

त्यस क्रममा उहाँले गुल्मको कार्य, जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा उहाँले सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका वरिष्ठ संरक्षण अधिकृत, खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष र अन्य सुरक्षा निकायका पदाधिकारीसँग त्यस क्षेत्रका गतिविधि र समस्याबारे केन्द्रित रही अन्तक्र्रियासमेत गर्नुभएको जनाइएको छ ।

परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न जनजागरणसभा : महासचिव पोखरेल

काठमाडौँ, ३० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई अराजकताबाट मुक्त गरेर परिवर्तनको आकाङ्क्षालाई सही दिशा प्रदान गर्न पार्टीले जनजागरणसभा गर्न थालिएको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले समाजमा देखिएको अराजकतालाई निरुत्साहित गर्ने कर्तव्य प्रमुख राजनीतिक दलको रहेकाले सभाको आयोजना गर्न थालिएको बताउनुभयो ।

महासचिव पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको र त्यसका लागि समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । “जनता असन्तुष्ट छन् भन्ने खालको कुरा खडा गर्न खोजिएको छ तर जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्छन् भन्ने सन्देश दिन जरूरी छ, त्यो हिसाबले हामीले जागरणसभा गर्दैछौँ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले सरकारका बारेमा उठेका प्रश्नको जवाफ दिने परम्परा विश्वव्यापी नै रहेको उल्लेख गर्नुभयो । “छिमेकी भारतमा पनि प्रधानमन्त्री स्वयंले भाषण गरेर हिँडदै गरेको देखिन्छ । सत्तापक्ष भनेको जनताका बीचमा जानै हुँदैन भन्ने होइन”, उहाँले भन्नुभयो, “सत्तापक्ष पनि जनताका बीचमा जान्छ, आफ्नो दृष्टिकोण स्पष्ट पार्दछ । भ्रमहरूलाई चिर्दछ । जनतालाई आवश्वस्त बनाउँछ । निराशालाई आशामा बदल्छ ।”

महासचिव पोखरेलले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि संयन्त्र बनाएको धारणा राख्नुभयो । “संयन्त्रले साझा धारणा बनाउने र सरकारलाई सुझाव प्रस्तुत गर्ने काम गर्छ । यसले सरकारको काममा हस्तक्षेप गर्ने होइन । सरकारको कामका लागि संयन्त्रले सहजीकरण र समन्वयको भूमिका मात्र निर्वाह गर्ने हो”, उहाँले भन्नुभयो ।

अहिले मुलुकमा अस्थिरता सृजना गर्नेको मनोबल घटेको महासचिव पोखरेलको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, “सरकारमा रहेका राजनीतिक दलको सामूहिक प्रतिबद्धता र प्रमुख राजनीतिक दलले राजनीतिक स्थायित्व खोज्ने जुन सङ्कल्प गरेका छन् त्यसले पनि मुलुकमा अस्थिरता सृजना गर्नेको मनोबल घटेको छ । अन्योलताको अवस्था एक हदसम्म अन्त्य भएको छ ।”

पत्रकार सम्मेलनमा बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले जनताका बीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएकाले जनजागरणसभाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सभाका लागि बिहान ११ः३० बजे भद्रकालीबाट सुरु भई र्याली न्युरोड–रत्नपार्क–बागबजार–पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगी सभाआयोजना हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक अस्थिरता र अराजकताविरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्नका लागि जनजागरणसभा आयोजना गर्न थालिएको बताउनुभयो । उहाँले सभाले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्नेसमेत बताउनुभयो । एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको मुख्य आयोजनामा यही मङ्सिर ७ गते जनजागरणसभा हुँदैछ ।

प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन् ।

शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै राणाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताइन् ।

परराष्ट्रमन्त्री डा राणाले भनिन्, ‘नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ ।’

उनले नेपालको दुईवटा छिमेकी देश भारत र चीनसँग परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रहेको बताइन् ।

अर्को प्रसङ्गमा राणाले ठूला र प्रतिस्पर्धी पार्टीको सरकार भएकाले दुवै पार्टीका नेता कार्यकर्ताबीच तल्लो तहदेखि नै समझदारी एवं सहकार्यका लागि संयन्त्र बनाइएको बताइन् । उनले भनिन्, ‘देशमा स्थायी सरकार बनाएर लग्ने भन्ने नेताहरुको योजनालाई साकार पार्न पनि यस्तो संयन्त्र बनाइएको हो ।’

परराष्ट्रमन्त्री राणा आफ्नो गृहजिल्ला डडेलधुराको उग्रतारालगायत मन्दिरमा लाग्ने मेलामा सहभागी हुन धनगढी हुँदै शुक्रबार डडेलधुरातर्फ गएकी छन् । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनदेखि डडेलधुरामै छन् ।

गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा चलचित्र बन्ने

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

फिल्मका निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएका हुन् । निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ को दशैंमा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ । निर्माण पक्षले कलाकार फाइनल हुन बाँकी रहेको जनाएको छ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।
निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

झाँक्री प्रकाश भुजेलसँग पिडित पक्षले १ करोड माग गर्यो

दुई दिनअघि झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करका कारण ज्यान गुमाएका नारायण नगरकोटीको शव उठ्न सकेको छैन् । बुधवार शंकरापुर( ९, इन्द्रायणीमा भुजेलले चलाएको गाडीले ठक्कर दिँदा कागेश्वरी मनहरा( २ आलापोटका ३८ वर्षीय नगरकोटीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

दुर्घटनामा घाइते भएकी उनकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटीलाई सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तरयता मृतक परिवारसँग आर्थिक लेनदेनको कुरा नमिल्दा शव उठ्न नसकेको बताइएको छ । प्रहरीले मृतकको परिवारसँग शव बुझ्नका लागि आग्रह गर्दा चालक भुजेलले मृतक र घाइतेलाई ‘यथोचित’ क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए । भुजेलले १५ देखि २० लाख रूपैयाँसम्म क्षतिपूर्ति दिन चाहेका छन् । तर, मृतकको परिवारले १ करोड माग गरेपछि शब उठ्न सकेको छैन् । ‘पीडित ९मृतक० पक्ष प्रतिव्यक्ति ५० लाखभन्दा घट्न मञ्जुर भएको छैन् ।

भेन्टिलेटरबाट दिइएको कृत्रिम श्वासप्रश्वासका कारणमात्र पत्नी सानुमाया जीवित रहेको भन्दै उनलाई पनि मृतकसरह क्षतिपूर्ति दिनुपर्ने माग पीडित पक्षले गरेको छ ।सवारी तथा यातायात ऐन २०४९ अन्तर्गत चल्ने सवारी ज्यान मुद्दामा मृतकका परिवारलाई पाँच लाख ५० हजार रुपैयाँसम्म जरिवाना दिनुपर्ने व्यवस्था छ । ऐनअनुसार घाइतेको सबै उपचार खर्च व्यहोर्नुपर्छ ।‘कुन दफाअन्तर्गत भुजेललाई मुद्दा चलाउने भन्ने कुरा उपलब्ध प्रमाणहरुको अध्ययनपछि मात्रै भन्न सकिने प्रहरीको भनाइ रहेको छ । नारायण नगरकोटी पूर्वमाओवादी लडाकु हुन् । नगरकोटी दम्पत्तिका १४ र ६ वर्षिया दुई छोरी छन् ।

यदि लापरवाह तरिकाले सवारी साधन चलाएको पाइएमा उपदफा २ आकर्षित हुन्छ, जसअन्तर्गत बढीमा १० वर्षसम्मको कैद सजाय तोकिएको छ । यदि नियतवस दुर्घटना गराइएको भन्ने कुरा कुनै प्रमाणले खुलेमा दफा १६१ को उपदफा १ आकर्षित हुने व्यवस्था छ । त्यसअन्तर्गत बढीमा २० वर्षसम्म कैद सजाय तोकिएको छ ।

कोप–२९ सम्मेलन : नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी

बाकु (अजरबैजान), ३० कात्तिकः जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ । सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ ।

वन तथा वातावरण मन्त्रालयले कोप–२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा छुट्टाछुट्टै समूह निर्माण गरी वार्ता, छलफल र भेटवार्तामा सहभागी भइरहेको जनाएको हो ।

सम्मेलनमा बिहीबार दिउँसोसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । उहाँ बिहीबार नै स्वदेश प्रस्थान गर्नुभएपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वनमन्त्री ऐनबहादुर शाही ठकुरीले गरिरहनुुभएको छ ।

मन्त्री शाही र वनसचिव डा दीपककुमार खरालले आज सम्मेलनस्थलमा नेपालका तर्फबाट भइरहेको कामकारबाही र तयारीबारे जानकारी दिन तथा समीक्षा गरी आवश्यक निर्देशन दिन कार्यक्रमको आयोजना गर्नुभएको थियो ।

नेपालबाट यहाँ आएका सबै सहभागीहरू उपस्थित सो कार्यक्रममा मन्त्रालयले गठन समूहले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहसचिवहरू धनिराम शर्माले जलवायु वित्त, डा महेश्वर ढकालले जलवायुजन्य हानिनोक्सानी, डा बुद्धिसागर पौडेलले संरचनाको पारदिर्शतामा अभिवृद्धि, नवराज पुडासैनीले कार्बन व्यापार, सञ्जीव राईले क्षमता अभिवृद्धि, उपसचिव धनञ्जय लामिछानेले न्यूनीकरण र उपसचिव दीपा ओलीले समावेशिताका विषयगत समूहले गरेका कामका बारेमा अवगत गराउनुभएको थियो ।

त्यस अवसरमा मन्त्री शाहीले को–२९ सम्मेलनमा नेपालले प्राथमिकता दिएर राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाएको बताउनुहुँदै अपेक्षित उपलब्धि हासिल गर्न सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले नेपालले उठाउँदै आएका जलवायु न्यायका विषयलाई सशक्त बनाउन सरकारी निकायका साथै नागरिक समाज, सञ्चारकर्मी, गैरसरकारी संस्था सबैको सहयोग हुने आशा व्यक्त गर्नुभयो ।

सचिव डा खरालले विषयगत समूहले सहभागिताका क्रममा गरेका कामको दैनिक रूपमा अनुगमन र समन्वय भइरहेको जानकारी दिनुहुँदै प्रभावकारिताका लागि जनशक्तिलाई सशक्त रूपमा परिचालन गरिएको उल्लेख गर्नुभयो । मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाले सम्मेलनमा सहभागी सबै देशको हितमा मात्र बोल्न र काम गर्न आग्रह गर्नुहुँदै सहभागीका लागि आचारसंहिता निर्माण गरिएको जानकारी गराउनुभयो ।

कोप–२९ मा ७३ हजारको सहभागिता

आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा हालसम्म एक सय ९३ देशका सरकारी तथा गैरसरकारी प्रतिनिधि, विज्ञ, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थीलगायत गरी ७३ हजार जनाले सहभागिता जनाएको बताइएको छ । सहसचिव डा ढुङ्गानाका अनुसार नेपालबाट यस सम्मेलनमा आउनका लागि वन मन्त्रालयबाट राष्ट्रपति पौडेल नेतृत्वको टोलीसमेत गरी करिब दुई सय जनाको नाम दर्ता गरिएको थियो । त्यसमध्ये अधिकांश सम्मेलनस्थलमा आइसकेको र केही अझै आउने क्रममा रहेका छन् ।

कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरू भेला भई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गर्नुभएको युएनफसिसिसीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले उच्चस्तरीयसत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुभएको थियो । त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो । सम्मेलन स्थलमा राष्ट्रपति पौडेलको नेतृत्वमा सो कार्यक्रको आयोजना गरिएको थियोे ।

यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ । एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।

नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

काठमाडौँ, ३० कात्तिकः नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

आज संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीहरूले नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई रु १० लाख दिने घोषणा गरेका हुन् । युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।

नेपाली यु–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ । यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।

यु–१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ । त्यसअघि नेपालले यु–१९ एसिया कप खेल्नेछ । आगामी मङ्सिर ३० गतेदेखि मलेसियामा हुने एसिसी यु–१९ महिला एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन्भने समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

शान्तिश्री र नेत्रको ‘आधा मुटु’मा गरिमा र सुशान्तको बेजोड अभिनय

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी गीतले एक जोडीकामे प्रेम, विवाह र डिभोर्सको कथा समेटेको छ ।

शान्तिश्री परियार र नेत्र भण्डारीको स्वर रहेको आधुनिक फ्लेवरको गीतमा रमेश परियारको शब्द रचना तथा गायक भण्डारीको संगीत छ । रिजन नेपालको युट्युब च्यानलकाट सार्वजनिक भएको गीतलाई कृष्ण केसीले एरेञ्ज गरेका हुन् ।

म्युजिक फिल्म शैलीमा निर्माण भएको गीतको भिडियोमा जेरी भण्डारीको निर्देशन, कथा र पटकथा रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा सुजन कोइरालाको भिइ, सिजी, जीएफएक्स र भिएफएक्स रहेको छ ।