३३ वर्षपछि सञ्चालित भैरव नाच र बोडेको नीलबाराही नाच आजदेखि सम्पन्न


भक्तपुर, १९ भदौ : मध्यपुरथिमि नगरपालिका–६ चपाचोमा ३३ वर्षपछि यस वर्ष प्रर्दशन गरिएको लोपोन्मुख अवस्थामा पुगेको ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको भैलः प्याखँ अर्थात भैरव नाच आजदेखि सम्पन्न भएको छ ।
मल्लकालीन र तान्त्रिक शक्तिको आधारमा गाईजात्राको भोलिपल्ट मध्यरातिदेखि विभिन्न टोलमा चार रातसम्म प्रदर्शन भएको नाच आजदेखि सम्पन्न भएको स्थानीयवासी श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । तेत्तीस वर्षपछि चपाचोमा यहाँका प्रजापति समुदायले चपाचोका देवता घर अर्थात द्यो छेंँबाट प्रदर्शन गरेका थिए ।
विसं २०८० भैरव नाच व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण प्रजापतिका अनुसार देवता घरबाट निकालिएको भैरव नाच चपाचो नासः द्यो, गार्चा गणेश, थामद्यः, गुंगचिभाः, कुतिचिभाः, हात्तिमहांकाल, दिगुटोल, ईनालाछि, लायकु, दत्तलय, मरुटोल, बालकुमारी, बालकुमारी भैलः द्य, दिगुटोल भैलःद्य, कुम्हाननी, तुलंननी, नासननी, चपाच्व, जलांननी र अन्तिममा पुनः चपाच्व द्योछेंमा प्रदर्शन गरेर सम्पन्न भएको थियो । चार रातसम्म टोलको विभिन्न रुट तय गर्दै नाच प्रर्दशन गरिएको उहाँले जानकारी दिनुभयो ।
तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारणा गरेपछि सुरु हुने भैरव नाचमा भैरव दुई जना, दागी दुई जना र ज्यापुंगचा एक जना गरी पाँच जनाको टोलीले रातभर नाच प्रर्दशन गरेका हुन् । नाचमा धाःबाजा, भुस्याः, पोङ्गा र म्वाय्ली बाजा बजाएर सोही बाजाको तालमा नाच्ने गरिन्छ ।
यस वर्षको नाचमा सरगत प्रजापति ज्यापुंगःचा, श्यामसुन्दर प्रजापति म्यापा भैल अर्थात भैरव, राजन प्रजापति लु भैलः अर्थात भैरव, निरोज प्रजापति न्हापा दाँगी र नयन प्रजापति लु दाँगी बनेर नाचिरहेको स्थानीय रामकृष्ण शंखदेवले जानकारी दिनुभयो ।
धाःबाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरूमा दुईदेखि तीनतालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नासःद्य) को प्राङ्गणमा भने सबै तालमा नचाउने गरिन्छ । मन्त्रोचारण गरी नाच निकालिसकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नु पर्ने प्रावधान रहेको छ ।
प्राचीनकालमा मध्यपुरथिमिमा भूत, प्रेत, पिशाचले दुःख दिन थालेपछि यहाँका राजाले तान्त्रिक गुरु बोलाएर तान्त्रिक शक्ति जगाएर लाय्कु भैलःको रूपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिशाच भगाउने गरेको जनविश्वास रहेको छ ।
थिमि भैलः प्याखँ यस वर्ष सात जना गुरुले १५ दिन नाच सिकाएको प्रजापतिले जानकारी दिनुभयो । गुरु सन्तकुमार प्रजापति, तेजकुमार प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, मोहनकृष्ण प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापतिले तीन सातासम्मम नाच सिकाउनुभएको थियो । भैलः प्याखमा अरु देवगणसँग मुकुण्डो धारणा गर्ने भए पनि ज्यापुंगःले विनामुकुण्डो नाच्नुपर्दछ । नाचमा भैल र दाँगी क्रोधित हुने बेला शान्त पार्न ज्यापुंगःले देवगणलाई कपासको बियाँले हान्ने गर्दछ ।
प्राचीन कालमा यहाँका बासिन्दालाई भूत प्रेतले दैनिक दुःख दिएपछि राजाले तान्त्रिक गुरु बोलाएर तान्त्रिक शक्ति जगाई भैरव नाच प्रदर्शन गरेपछि भूत, प्रेतले दुःख दिन छाडेको स्थानीयवासीले पनि यो नाच नियमित चलाउँदै आएको किम्बदन्ती रहेको छ ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच आज दिनभर प्रदर्शन गरी सम्पन्न भएको छ ।
बोडे सहरमा भव्यरूपमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलिपल्टको मध्यरातिदेखि बोडेको अखा द्यो छेँ अर्थात देवता घरबाट सुरु भई आज सम्पन्न भएको मथिनपा–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले जानकारी दिनुभयो । हरेक दिन मध्यरातिदेखि सुरु हुने यो नाचमा बिहान टोल टोलमा देवताको पूजा गर्नेको भीड लागेको थियो भने दिनभर पनि टोलटोलमा नीलबाराही नाच नाचिएको छ ।
बोडेका नेवार समुदायले मनाउँदै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । पन्ध्र दिन अघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने उहाँले बताउनुभयो । नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु छ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौ जना गरी यो नाचमा एक सयभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् । दैनिक १० देखि १४ घण्टासम्म दैवी शक्तिको आधारमा परम्परागत नियममा बाँधिएर बोडेमा मनाइने नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्नेबारे यकिन नभए पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने प्रजापतिले बताउनुभयो ।
नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किम्वदंन्ती एवं जनविश्वास रहँदै आएको छ ।
नीलबाराही नाचका पोङ्गा बाजाका भरत लुमद्योले भन्नुभयो, “नाचको नियम कडा छ, देवगणले मुकुण्डो लाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालुको काखमा या जीउमा अडेस लगाएर बस्नुपर्छ ।” उहाँले नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हँुदैन भन्ने मान्यता रहेको बताउनुभयो । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ ।