सामाजिक सद्भाव र शान्ति कायम गर्न धार्मिक संघसंस्थाको संयुक्त अपिल


काठमाडौ– बिभिन्न धार्मिक संघस्थाले धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्न संयुक्त अपिल गरेका छन् ।
आज सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै उनीहरुले यस्तो सामाजिक सद्भाव र शान्ति कायम गर्न यस्तो अपिल गरेका हुन् ।
केहि समययता देशका बिभिन्न स्थानमा धर्म, जाति सम्प्रदायको आधारमा एकअर्काप्रति घृणा, द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरि गतिविधि भइरहेको र कतिपय ठाँउमा अराजक रुपमा प्रस्तुत भइ फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार प्रचलनमा आघात पुग्ने गतिविधि देखा परेका सम्बन्धमा गम्भीर ध्याकर्षण भएको संयुक्त अपिलमा उल्लेख छ । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले मुलुकको रक्षा र एकतालाई सुदृढ गर्न धामिर्क सांस्कृतिक सहिष्णुतालाई बलियो बनाउनु आवश्यक रहेको बताए ।
धार्मिक संस्थाहरु एक अर्काबिरुद्ध प्रतिष्पर्धामा उत्रनु उचित नभएको भन्दै उनले देशको मौलिक पहिचान र बिशेषताको रक्षा गर्न एकतावद्ध हुनुपर्नेमा जोड दिए । संयुक्त अपिलमा हिन्दु महासंघ, हिन्दु परिषद्, बौद्ध महासंघ, तामाङ बौद्ध सेवा समाज, इस्लामी संघ, मुस्लीम महासंघ, क्रिश्चियन महासंघ, इशाई मण्डली एकता परिषद् लगाएत २४ धार्मिक संघसंस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।