हनुमानढोकामा इन्द्रजात्राको रौनक


काठमाडौ– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्व सुरु भएको छ । इन्द्रजात्रा पर्वमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्न बहन्तपुरमा सर्वसाधरणदेखि मन्त्रीहरुको उपस्थिति छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरका मेयर उपमेयरलगायत विशिष्ट व्यक्तिहनुमानढोका सवार भइसकेका छन् ।



इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरुको पनि बसन्तपुरमा बाक्लो उपस्थिति छ । हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी लगायतको रथको अवलोकन गर्नेछन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
