रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बुधवार बिहानैदेखि खुल्ने


काठमाण्डौ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधवार बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधवार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाण्डौ महानगर प्रहरी बलका प्रमुख एवम् वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।
“सम्पूर्ण तयारी पूरा भएको छ, महानगर प्रहरीले व्यवस्थापनको पाटो मिलाउनेछ”, पाण्डेले भने । भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष यो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।