वाग्मती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल


काठमाडौँ, १२ मङ्सिर : शिवपुरीदेखि बग्दै आएको वाग्मती नदी र नदी तटमा रहेका पशुपतिनाथलगायत पवित्र मठ मन्दिरलाई स्वच्छ राख्ने विषयमा छलफल भएको छ ।
पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव राजुकुमार खत्रीले आज आयोजना गर्नुभएको छलफलमा वाग्मती सफाइ महाअभियानका अभियानकर्मीको सहभागिता थियो । छलफलमा ढल व्यवस्थापन, फोहर व्यवस्थापन, गौरीघाट सौन्दर्यीकरण, ब्रह्मनालबाट गौरीघाटसम्म भक्तजन हिँड्ने कोरिडोर निर्माण, पशुपतिको प्रत्येक द्वारमा हिँड्ने बाटो स्तरोन्नतिलगायत विषयमा छलफल भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।
पशुपति आर्यघाटबाट निष्कासन हुने फोहर व्यवस्थापन, पशुपति क्षेत्रमा स्तरीय चमेना गृह एवं भोजन गृहको निर्माण, वाग्द्वारबाट पशुपतिनाथमा चढाउन स्वच्छ जल आपूर्तिका लागि पहल गर्ने विषयमा पनि छलफल भएको थियो । छलफलमा पूर्व मुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता रहेको थियो ।