`

मैले बुझेको के.पी. ओली

Nepal One HD ११ फागुन २०८० १७:०५
अन्तर्वार्ता/बिचार

मोनिका सिंह ।


कुरा २०७२ सालको संविधान घोषणा गर्ने समयको हो । भारतले संविधान जारी नगर्न नेपाललाई दबाब दिँदै आएको थियो । तर नेपालका राजनीतिक दलले भारतको दबाबलाई वेवास्ता गरे र २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो । त्यसपछि भारतले अघोषितरुपमा नेपालमा नाकाबन्दी गर्यो । नाकाबन्दीलाई कुनै दलले नाकाबन्दी भन्न सकेका थिएनन् ।

तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो नाकाबन्दी भएको भन्दै नाकाबन्दी नगर्न भारतलाई आग्रह गर्दै आउनुभएको थियो । उहाँले ठूलो देशले सानो देशलाई गरेको यो व्यवहारको विरोध गर्नुभएको थियो । हुन त त्यतिबेला हाम्रै देशका मधेसी दलका नेताहरु भारतलाई नाकाबन्दी गर्न उक्साइरहेका पनि थिए । त्यसबेला म पत्रकारितामा आइसकेको थिइनँ । उहाँको यो अडानबाट भने म प्रभावित भएको थिएँ । त्यसपछि उहाँलाई भेट्ने इच्छा जागेको थियो । किन भेट्ने भन्दा केपी ओली कस्तो हुनुहुँदो रहेछ भन्ने मेरो मनमा कौतुहलता जागेको थियो । किनकी यत्रो अरु दल चुप लागेर बस्दा भारतले गरेको त्यो ज्यादतीकाबारेमा उहाँले कसरी बोल्ने आँट गर्नुभयो भन्ने जिज्ञासा मेरो मनमा थियो ।

त्यसपछि म पत्रकारितामा लागें । एमाले केन्द्रीय कार्यालयमा एमालेका अरु नेताहरुसँग भेटघाट हुने तथा अन्तरवार्ता लिएको काम भइरहेका हुन्थे । तर एमाले अध्यक्ष ओलीसँग भने त्यो भएको थिए । एक दिन उहाँसँग भेट भयो । मैले उहाँसँग अन्तरवार्ता गर्ने चाहना रहेको बताएँ । त्यसपछि उहाँले कुनै दिन समय मिलाएर बोलाउँला भन्नुभयो । त्यसबेला उहाँका बारेमा लेखिएका पुस्तक पनि पढेको थिएँ । उहाँसँग बालकोटमा भेटघाट पनि भयो । अनि नेकपाको सरकार हुँदा धेरै जिल्लामा उहाँसँग भ्रमण गर्ने मौका मिलेको थियो । उहाँ जहाँ जानुहुन्छ उहाँप्रतिको क्रेज देखेर म अचम्मित भएँ । अरु दलका नेता जाँदा त्यस्तो कहिल्यै देखिन र अहिले पनि देखेको छैन ।

उहाँले प्रधानमन्त्री हुँदा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरालाई समेटेर नक्सा प्रकाशन गर्दा देश जसरी एकजुट भएको थियो, त्यसबाट उहाँको लोकप्रियता झनै बढेको छ । अतिक्रमित भूमि समेटिएको नक्सा पास गर्दा संसदका सबै दललार्ई उहाँले सहमत गराउनुभएको थियो । त्यसबाट झनै उहाँको उचाई बढ्यो ।

त्यस्तै उहाँले एसिड पीडितको न्यायका लागि कानुन निर्माणका लागि जुन तदारुकता देखाउनुभएको थियो त्यसबाट पनि बुझ्न सकिन्छ उहाँबाट धेरै कुरा राजनीतिमा लागेकाहरुले सिक्नुपर्ने हुन्छ । सामाजिक संजालबाट सुझाव माग्ने, अनि उहाँ आफैंले टेलिफोन गरेर सर्वसाधारणसँग सुझाव लिने गर्नुभएको छ । दुई दुई पटक मृगौला प्रत्यारोपण गरेर पनि जुन सक्रियता देखाइरहनु भएको छ त्यसबाट पनि उहाँको जीवन भावी पिँढीका लागि एउटा पाठ हुनसक्छ ।

त्यस्तै नेकपा एमालेका आएको विभाजनपछि पनि उहाँले गतवर्ष सम्पन्न संसदीय निर्वाचनमा लोकप्रिय मत एमालेका पक्षमा पार्न सफल हुनुभयो । गठबन्धन मिलेर चुनाव लड्दा पनि एमाले एक्लैले लोकप्रिय मत पाउनु चानचुने कुरा थिएन । त्यो ओलीकै लोकप्रियाता र क्रेजका कारण सम्भव भएको हो । त्यस्तै मेची महाकाली यात्रा होस् वा बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा होस् उहाँ आफैं सक्रिय भएर लाग्नु भएको छ ।

यो हेर्दा उहाँले आफ्नो स्वास्थ्यलाई भन्दा देशको स्वास्थ्यमा बढी ध्यान दिएको स्पष्ट हुन्छ । आज केपी ओलीको ७३ औं जन्मदिन । उहाँलाई जन्मदिनको धेरैधेरै शुभकामना अनि मुलुकलाई समृद्ध बनाउने र मुलुकलाई नेतृत्व गर्ने चाहना छिटै पूरा होस् !


प्रतिक्रिया