`

सत्ता परिवर्तनले मात्र सम्भव छैन शान्ति र समृद्धि

Nepal One HD १ भदौ २०८१ ८:५०
अन्तर्वार्ता/बिचार

-डा. युवराज संगौला । 
दस दिन सुदूरपश्चिमका विभिन्न स्थान र कलेजहरुको भ्रमण गरियो । जहाँ जहाँ मौका मिल्यो, त्यहाँको जीवन जान्ने प्रयास पनि गरियो । बाटोमा जताततै भव्य होटलहरु बनेका छन्, तर सडकमा झुप्रामा चिया बेचेर जीवन चलाउने मानिस पनि छन् । गरीब र धनीका बीचमा ‘कमाइको खाडल’ झन् झन् फराकिलो र गहिरो भएको छ । नगरपालिकाहरुमा धनी मात्र बस्नुपर्छ, शहरहरु गरीबले कमाइ खाने ठाउँ होइनन भन्ने ‘संकथन’ स्थापित भएको छ । अतः सडक सफा र सुन्दर बनाउने नाममा गरीबहरु लखेटिएका छन् । खेतहरु प्लटिङ्ग भएका छन् । अस्पतालहरु ‘पैसा कमाउने ठाउँ बनेका छन् ।’ हरेक गाउँपालिका नगरपालिकामा भ्रष्टाचार व्यापक छ । भ्रष्टाचारका उपाय जानी नसक्नु छन् । स्थानीय निकायहरु सेमिनार र सडक बनाउन व्यस्त छन् । यस्ता कामबाट राम्रो कमिसन आउँछ। शिक्षा लथालिङ्ग छ । शिक्षाको मालिक कहिल्यै स्कुल नगएको राजनीतिक कार्यकर्ता बनेको छ । कोही जनताप्रति उत्तरदायी छैनन् । उद्योग कतै छैनन् ।

उद्यमका नाममा स्थानीय निकाय एक घर एक कागतीको बिरुवा बाँडिरहेका छन् । कृषकले पाउने अनुदान माफियाले पाउँछन् । किसानका तरकारी ‘भारतीय तरकारीले विस्थापित गरेका छन् ।’ पाल्पाको तरकारी बुटवल जान्छ, अनि भारतको तरकारी पाल्पा आउँछ, उदाहरणका लागि। अपराध जताततै छ । हत्याका, बलात्कार र सम्बन्ध बिच्छेदका घटना बढेका छन् । साना व्यापारी करको भार बोक्न नसकी विस्थापित भएका छन् । गाउँपालिका र नगरपालिका सिहंदरवार जस्तै बनेका छन् । हरेकमा स्कोर्पियो छन् । मानिस राजनीतिलाई राम्रो जागिर ठान्छ। किन यो हालत भएको होला ? कोही यो बिहंगम समस्याको कारण खोज्दैनन् । हरेक विद्यार्थी विदेश जान चाहन्छ । उसलाई पैसा चाहिएको छ। उसलाई सुख चाहिएको छ । उसलाई निर्वाध ‘सुखभोग’ चाहिएको छ, उसलाई समाज, नातागोता र बाबुआमा चाहिएको छैन । स्कुलका विद्यार्थी कक्षामा होइन ‘रील’ बनाउन कर्णालीका पुलमा छन् । प्रत्येक दशवटा ‘रील’ मा एउटा दुर्गा प्रसाईंको गाली गलौजको टुक्रा, एउटा ‘स्कुल पढ्ने बालिकाको अश्लिल नृत्य, एउटा अश्लिल व्यंग्य, एउटा अङ्ग प्रदर्शन, एउटा उत्पादनको बजार नभएको गुनासो, आदि इत्यादि । समाज अश्लिल बनेको छ । सामाजिक संजाल शिक्षा होइन यौन अश्लिलता सिकाउने माध्यम बेनेको छ । समाजमा ‘राजनीतिक भ्रष्टाचारको समस्या मात्र होइन’ समग्र समाज भ्रष्टाचारको शिकार बनेको छ। यो अवस्थाको सिर्जना गर्नमा ‘पार्टी मौसुफ“हरुको भूमिका त छ नै, तर ‘पुँजीवादी उपभोक्तावाद’को भूमिका र ‘हाम्रो समाजमा जरा गाडेर बसेको भोगवादी’ प्रवृत्तिको भूमिका पनि सानो छैन । मेरा केही अनुभूति छन्, जो हाम्रा चुनौती हुन र यी चुनौतीको समाधान नखोजी, केवल सत्ताको परिवर्तनले मात्र नेपालमा शान्ति र समृद्धि सम्भव छैन, र लोकतन्त्रको संस्थापन हुन सक्दैन ।

१. हाम्रो समाजमा ज्यान र जीवनको मूल्य कमजोर छ। अपराध हुन्छ, हरेक दिन दुर्घटनामा मानिस मर्छन्, आत्महत्या हुन्छ तर हामीलाई कुनै पीडा हुँदैन। हामी मानिसका मृत्युलाई दर्जनमा गन्छौं । हामीलाई मानिसको प्रतिभा र गुणको कुनै मतलब छैन । जहाज दुर्घटना हुन्छ र पाइलट र क्र्यू तथा महत्त्वपुर्ण मानिसको मृत्यु हुन्छ, हामीलाई लाग्दैन देशलाई कत्रो नोक्सानी भयो । सरकारलाई त कुनै मतलब नै हुन्न । मृत्युप्रतिको संवेदना नासिदैछ ।

२. देशमा राम्रा विज्ञहरु बस्तैनन् । सरकारका अधिकृतहरु राजनीतिक दलका ठेट्नाको चाकरी गर्न बाध्य हुन्छन् । नेताका नजिकका विनाज्ञानका मानिस ठूलठूला पदमा नियुक्त हुन्छन्, विज्ञहरु अपमानित हुन्छन् । गाडी चढ्ने गुन्डाको सम्मान हुन्छ तर वैज्ञानिक र साहित्यकारको हुन्न । हाम्रो सांस्कृतिक प्रवृत्तिमा ‘भड्किला लुगा लगाउने, महंगो गाडी चढ्ने, महंगो रक्सी खाने, घरबाहिर खाने, महंगा लुगा लगाउने, पदवाला हाकिमलाई सम्मान गर्ने गहिरो आदत निर्माण भएको छ । तर हामीलाई छ ‘सडकमा चर्का नारा लगाउने मानिस सत्तामा पुगे सबै ठिकठाक हुन्छ । त्यसो भए त मोदी आएपछि भारत अमेरिका भैसक्नु पर्ने ।

३. पुँजीवादी उपभोक्तावादको ‘हवास हाम्रो संस्कृतिको जगमा गाडिएको छ।’ भ्रष्टाचार यही उपभोक्तावादको हवासले जन्माएको प्रवृत्ति हो। अमेरिका र चीन जस्ता देशमा पनि उपभोक्तावाद छ, तर उनीहरुको समाजमा यसलाई नियन्त्रण गर्ने न्यूनतम संयन्त्रहरु छन् । तर नेपालमा यस हवासलाइ रोक्ने कुनै व्यवस्था छैन । हाम्रो समाजमा त अधिक भोगलाई नै भाग्य मानिन्छ । त्यसैले प्रधानमन्त्रीलाई तीन करोडको, सेनापतिलाई तीन करोडको, आइजिपीलाई तीन करोडको गाडी चाहिन्छ । यस्ता हाकिम कति छन् कति, जो गरीब जनताका करबाट विलासको जीवनयापन गर्दछन् । उनीहरुलाई लाग्छ, भोगविलासनै सान र सौकत हो । हिजो राजाले जे भोग्थे, उनीहरु आज त्यही भोग्छन् । डेनमार्कका हुनेवाला राजा कार्पेन्टरी गर्छन्, तर हाम्रा मन्त्रीलाई सलौट हान्ने गार्ड चाहिन्छ । जिल्ला जाँदा सबैलाई पिर्के सलामी चाहिन्छ । के हाम्रो यो सांस्कृतिक प्रवृत्ति हाम्रो राजनीतिलाई भ्रष्ट पार्ने तत्व होइन ? यो परिवर्तन नगरी नागरिकतन्त्र निर्माण गर्न सम्भव छैन।
४. कानुन र नीतिले यस्ता प्रवृत्तिलाई केही घटाउलान्, तर मुख्य समस्या त ‘हाम्रो भोगवादी हवस नै हो’ जसले हामीलाई भ्रष्ट, मफिया, चोर, लुटेरा, र ठग बनाउँछ, र त्यो मानिसलाई नै नेता बनाउँछ किनकी ऊ सङ्ग पैसा हुन्छ ।

५. हामीले ‘हाम्रो जीवनको अन्तरनिहीत दर्शनलाई नबदलि नत लोकतन्त्रको संस्थापन हुन्छ नत सभ्य समाजको निर्माण । यो अन्तरनिहीत बैगुणयुक्त प्रवृत्तिलाई बदल्ने सोच र क्षमताविना ‘इन्द्रका बाबू चन्द्रलाई प्रधानमन्त्री बनाउनुहोस् त्यो भ्रष्ट नै हुन्छ ।’

६. जीवनको तात्पर्य असीमित भोग होइन । बुद्धले भनेका छन् ‘न त अतिभोग न त अतिपीडा, हामीले हिँड्ने बाटो बीचको हो।’ असल चरित्रले मात्र जननेता बनाउँछ । जीवनको लक्ष त रचना हो । अतःनेपालको पहिलो आवश्यकता हाम्रो शिक्षाको सुधार हो । त्यस्तो शिक्षा जसले असल नागरिक निर्माण गर्छ । शिक्षाको सुधार बिना राम्रो पेटी, फराकिलो पेटी र चौडा सडकले मात्र राष्ट्रको विकास हुँदैन । तर भोगवादीहरुलाई समाजको रूपान्तरण होइन, महंगो गाडी र बिलासी रेष्टुरेन्ट चाहिएको छ । तर हाम्रो आवश्यकता ‘विद्यार्थीलाई भोगी मानिस होइन जागृत वैज्ञानिक मानिस बनाउनु हो।’ उत्पादनको सिर्जना गर्ने मानिस बनाउनु हो । तर हामी हाम्रो सन्तानलाई मानिस बन्न होइन ‘कमाउन र बिलासी बनाउन चाहन्छौं । हामी असल मानिस होइन ठूलो मानिस विद्यार्थीका दिमागमा भर्छौं । जब उसले यो सपना देशमा सम्भव देख्दैन तब ऊ भोगको खोजीमा पलायन हुन्छ।’

समाजको यो सांस्कृतिक अन्तरनिहीत गलत प्रवृत्तिलाई बदल्ने क्षमताको खोजी नै नेपालको भविष्यको राजनीति हो । राजनीति ‘सत्ता प्राप्तिको खेल राजनीति होइन।’ आज राजनीति सडकमा ‘भोगका हवसबाट नअघाएका र भोग्न नपाएर भुँडी कराइरहेकाहरुका बीचमा गाली गलौजको प्रतिस्पर्धामा परिणत भएको छ।’ राजनीतिमा कसैको एकलौटी समाप्त गर्नुनै परिवर्तन हो । जब परिवर्तन चिन्ता, चिन्तन र विचारबाट निर्देशितत हुन्छ, तब नागरिकतन्त्रको निर्माण हुन्छ । यो नै हामीले खोजेको राज्य व्यवस्था हो ।


प्रतिक्रिया