ठूला चार दललाई भुईँ मान्छेको चार बिन्ती !


सम्माननीय प्रधानमन्त्री ज्यू,
शेरबहादुर ज्यू,
प्रचण्ड ज्यू,
रवि लामिछाने ज्यू,
सम्पूर्णमा नमस्कार !
म यही माटोमा जन्मे, हुर्केँ र पसिना वगाई सुन्दर सपना बोकेको आम भुईँ मान्छेको एक प्रतिनिधी पात्र । यहाँहरुका आदर्श व्यक्तीत्व र यहाँहरुले पहिला आमुल क्रान्ती गर्दा जस्ता साहसीक कार्यहरु गर्नुभयो सुनेका, पढेका र आफैंले भोगेको भन्नु पर्दा “जनताको अवस्था बदल्नका लागि नै भनेर धेरै व्यवस्था फेर्नु भयो ।” कोही कयौं वर्ष जेल जानुभयो, कोही जनयुद्ध लड्नु भयो र कोही भड्किएका जनाताको छोटो समयमानैँ मन जित्ने क्रान्ति गर्नु भयो । भलै कालखण्ड अनुसारका क्रान्तिहरु भित्रका अँध्यारा पक्षहरुको मूल्यांकन इतिहाँसले छुट्टै गर्नेछ तर सारमा जहाँनिया र वंशवादको निरंकुशतालाई ढालेर जनताकै छोरा छोरीले सक्षम नेतृत्व छान्न पाउने सुन्दर लोकतन्त्रको जग बसाल्नु भयो । दुर्भाग्य, यहि सुन्दर मुहारमा कालो बादल मडारिन थालेको छ र यसको कारण अरुकोही नभएर तपाईँहरु नै हो । जस–अपजसहरुको भागीदारमा भर्खर आएको पार्टीको हिसाबले रा.स्व.पा.लाई चाँहिनै भनीहाल्ने ठाँऊ छैन भलै उपनिर्वाचनको परिणामले उहाँहरु आफैँलाई प्रश्न गर्ने बेला आएको स्वीकार गरी सक्नु भएको छ र बाँकी तिन दलले त भन्ने कुनै ठाँऊ नै छैन ।
अब एक पटक वर्तमानमा रहेर तपाईहरुको विगत हेर्नुहोस् त ! तपाईँहरुले एक–अर्कालाई कुन हद सम्मको शत्रु ठान्नु भएको थियो ? अनी व्यवहार पनि ? टाउकाको मोल तोक्ने, सफाया गर्ने, सिध्याउने मात्र नभई नो नट अगेन भनेर जनतामा अपिल सम्म गर्नुभयो । पानी बाराबार सम्म भए । गणतन्त्रको दुई दशक नपुग्दै तपाईँहरुका बोली र व्यवहार छेपारोले रङ्ग बदल्नु भन्दा कुनै कमी भएन । आफ्नै चुनावी घोषणा पत्रले गिज्याई रह्यो । राष्ट्रको आवश्यकता भन्दा तपाईँहरुको व्यक्तिगत स्वार्थ र दलगत फाइदाको तराजुमा आम जनताहरुलाई जोख्दैमा दशक बित्यो ।
माओवादी जनयुद्धको साथ र २०६२–०६३ को जन आन्दोलनले गणतन्त्र ल्यायो तर जनताको प्रत्यक्ष अभिमत बिना नै देशमा संघियता र धर्म निरपेक्षता थोपरियो । शासकिय, आर्थिक र सामाजिक रुपमा समस्या यहीँबाट सुरु भयो अनी मलजल तपाईँहरुको व्यबहार र विकृतीले । जनमतको कदर त भएन नै एक पक्ष हावी हुँदा अर्को पक्षलाई निषेधको राजनीतिले समय खेर फाल्नुभयो । तपाईँहरुले युग परिवर्तनको नेतृत्व गर्नुभयो भलै योगदान धेरै या थोरै होला । धेरै अधिकारहरु स्थापित भए तर आम भुँई मान्छेको आर्थिक अवस्था बदल्न सक्नु भएन । उनीहरुका समस्याहरु जिउँका तिउँ भए बरु चाङ्ग लाग्दै गए परिणामतः जनतामा व्यवस्था परिवर्तनबाट अवस्था नफेरिएपछि निराशा यसरी बढ्यो की तपाईँहरु हरेकले परिवर्तनका लागि उद्घोष गर्दाको क्षण जस्तै ।
जनतामा चरम गरिवी र बेरोजगारले युवाहरु खाडीको मरुभुमीमा श्रम बेचीरहेका छन् । अनी रोजी रोटीका लागि रुस र युक्रेनको युद्धमा समेत होमीन बाध्य छन् भने शिक्षित र सिप भएकाहरु सधैका लागि विदेशीन थाली सके तर राजनैतीक नेतृत्व भने ठूला–ठूला भ्रष्टचारका काण्डमा पर्दै गए र दलगत अनुसार जोगाउँदै सिमित माफीया र विदेशी गिरोहको गोटी हुन पुगे । सर्वहारा वर्गको अवस्था फेर्ने रटान लाउँदा–लाउँदा आँफू धनी र मालिक भएको पत्तो नै पाउनु भएन । बैदेशीक ऋणले हामी थलिएका छौं । आज देश अतिनै संवेदनशिल घडीमा छ । आम जनतामा तपाईँहरुको नेतृत्व प्रति नै चरम वितृष्णा जागेको छ भने केहीमा व्यवस्था प्रतिनै । तपाईँहरु एकले उठाएका मागलाई अर्कोले वास्ता नगर्दा आज हामीले दशकौँका स्वर्णीमकालहरु व्यवस्था परिवर्तनमा मात्रै सकायौँ । कृपया हाम्रा भावि सन्ततीले अब यसमा समयखेर फाल्नु नपरोस् किनकी संसारकै आम सुन्दर व्यवस्था केही छ भने त्यो लोकतन्त्र हो । जुन हामीले पाइसकेका छौं अब त्यो सुन्दर बगैचामा गोडमेल गरि हाम्रो राष्ट्रिय गान जस्तै सयौँ थुगाँ फूलका हामी एउटै माला नेपाली भई अपनत्व लिनु पर्नेछ । यदि जनताले चाहेर मत दिए भने संविधान संशोधन मार्फत राजनैतीक दलहरुले चाहेको प्रणाली ल्याउन सक्ने सुन्दर पक्ष लोकतन्त्रमा जहिले पनि हुन्छ । तसर्थ तपाईहरु ठूला चार दलले कृपया तुरुन्तै गोलमेच सम्मेलनको नेतृत्व गरेर अन्य दलहरुको पनि भावना र सुझावहरु लिएर असन्तुष्ट आवाजहरुलाई बेलैमा सम्बोधन गर्नुहोला भनि निम्न चार कार्यहरु अविलम्ब गर्नका लागि बिन्ति गर्दछु ।
१. संघियताको स्वरुप र धर्म निरपेक्ष खारेजी
अहिले जनताको ठूलो असन्तुष्टी यसमा रहेको छ किनकी यो जनताबाटै मत नलिइकन बलजफ्ती थोपरिएको थियो र अहिले परिणामका दृष्टिले पनि असफल भइसकेको छ । २०६२–०६३ मा जहाँ मुख्य सबै दल र आमजनता सहभागी थिए त्यो जनआन्दोलनको माग संघियता र धर्म निरपेक्ष नभएको साथै हाम्रो जस्तो सानो र आर्थिक अवस्था कमजोर भएको मुलुकले संघियता सहितको शासन प्रणाली धान्न नसकेको तितो यथार्थलाई बुझ्न ढिला गर्नु हुँदैन । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरेर विकासलाई विकेन्द्रिकरण गर्नुपर्ने हुन्छ । यसैगरि पहिला नेपालमा जुन सनातन धर्म थियो त्यति बेला अरु कुनै धर्मलाई निषेध गरिएको थिएन जति अहिले चर्चा–परिचर्चा र एक–आपसमा मतभेदका घटनाहरु बाहिर आएका छन् । साथै बाह्य शक्तीको दबाबमा नेपालमा धर्म परिवर्तनका लागि के कसरी लगानी भईराखेको रहेछ भन्नेकुरा अहिले आएर त झन छर्लङ्गनै भयो । अस्तिकै जस्तो तत्वहरु फेरि धर्मको नाममा आन्दोलन गरेर वितण्डा मच्चाउन सक्ने प्रवल सम्भावना छ ।
२. सबै पुर्व विशिष्टहरुको सेवा र सुविधा खारेजी
अहिले हाम्रो कुल बजेटको ६१.३२% चालु खर्च, १९.७४% वित्त व्यवस्थापनका लागि र १८.९४% पुँजीगत खर्चका लागि बजेट छुट्याइएको छ जसका लागि झण्डै ३०% स्रोत त ऋण लिएर जुटाउँछौ । ऋणको ब्याज तिर्नका लागि ऋण लिनुपर्ने दुरा अवस्थामा हामीले यसरी नै सुबिधा दिदै जाने हो भने देश टाट पल्टिन बेरै लाग्दैन । राजतन्त्रका पुर्व राजा देखी अहिले सम्मका पुर्व विशिष्टहरु सबैलाई दिएको सेवा र सुविधा खारेज गर्ने बेला भयो । यसले गर्दा राज्यकोषले नधानेर ऋण लिएरै पुर्व पदाधिकारीलाई पाल्नु परेको भार पनि कम हुन जान्छ र विकृति पनि पुर्ण रुपमा हट्छ अनि सबै जना पुर्वहरु स्वतः सेवा पछि आम नागरिक जस्तै सरल र स्वतन्त्र हुन्छन् ।
३. २०४६ पछिका हत्याकाण्ड र भ्रष्टचारका फाइलहरु खोल्ने
दरबार हत्याकाण्ड देखी मदन भण्डारी हत्याकाण्ड सम्म र सबै भ्रष्टचारका फाइलहरु खोलि दोषी उपर कडा कारवाही चलाउन सम्बन्धित निकायलाई पुर्ण अधिकार दिनुपर्दछ । प्रकृयागत भ्रष्टचारमा संलग्न कर्मचारीहरु हुन या नीतीगत भ्रष्टचारमा संलग्न नेता र जो–कोही भएपनि सबैलाई कानुनी दायरामा ल्याउनु पर्दछ । अहिले का.म.पा.को मेयर बालेन साहले जस्तो कानुन सबैलाई बराबर भन्ने प्रणालीको विकास गर्नुपर्छ । कानुन सबैलाई बराबर लाग्छ भन्ने कुराको प्रत्याभुती हुने भयो भने आगामी दिनमा दण्डहिनता र भ्रष्टाचार हराउँदै र सुशासन मौलाउँदै जान्छ ।
४. पुर्व राजा विरेन्द्रको परिवारका सम्पत्ति पुर्णरुपमा राष्ट्रियकरण र पुर्व विशिष्टहरुको सम्पत्ति छानबिन
अझै पनि स्व. पुर्व राजा विरेन्द्रका परिवारका सबै सम्पत्ति राष्ट्रियकरण हुन सकेको छैन । धेरै सम्पत्ति अझै पनि पुर्व राजा ज्ञानेन्द्रका परिवारमा गएको देखिन्छ । उनले कानुनी राज्यमा कर तिरेर जोडेको बाहेक अरु सबै राष्ट्रियकरण हुनुपर्दछ । त्यसैगरि हालसम्म उच्च ओहोदामा रहेका सबै नेता र कर्मचारीको सम्पत्तिको स्रोतहरुको छानविन गर्नुपर्दछ र गैह्रकानुनी सम्पत्ति राष्ट्रियकरण गर्नु पर्दछ ।
कृपया तपाईहरु ठूला निर्णायक चारदलले नेतृत्व गर्दै अन्य दलहरुको राय लिएर गोलमेच सम्मेलन गरि यी चार विषयहरुको सम्वोधन गर्न अब ढिला नगर्नुहोला नत्र अब यो असन्तुष्टिको झिल्को भुसको आगोझैं फैलिने छ र त्यसको परिणामले विनास मात्रै निम्त्याउने छ । देश अझै कयौं दशक विनाश र द्धन्द्धको भुमरीमा फस्ने कुरामा दुईमत नहोला । शक्ति राष्ट्रहरुले कसरी र कस्ता स्वार्थका लागि सहयोग गर्छन, भिडाउँछन् र लडाउँछन् भन्ने कुरा युक्रेन देखी प्यालेस्टाईन सम्मको युद्ध र अवस्थाले छर्लङ्ग बनाएको छ । त्यसैगरि जनताको विश्वासमा कुठाराघात भएपछिको जन विद्रोह अनि विद्रोह भड्केपछिको अवस्थाका बारेमा श्रीलंका र बंगलादेशले राम्रै पाठ पढाईसके । अनि धमिलो पानीमा माछा मार्नेहरु कसरी परिस्थिति विगार्छन भन्ने कुरा अस्तिको राजाबादीको आन्दोलनमा भएको हिंसा त्यसैको झल्को हो । यदि यी सबै निराशालाई समयमै सम्बोधन गर्न सकिएन भने हाम्रो पनि परिणाम त्यस्तै हुने हो । बरु अहिले नै सोचौं नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ?
अन्तमा, यहाँहरुले यी चार बिन्तीहरुको तुरन्तै सम्बोधन गरेर कम्तिमा ठूला दलका तीन नेताहरुले नेतृत्व सक्षम युवापुस्तामा हस्तान्तरण गर्नुभयो भने पुर्व राजा ज्ञानेन्द्रलाई पहिलानै कारवाही गर्नुको सट्टा यो स्थान दिनाले अहिले फेरि यो वितण्डा भयो भनेर तपाईँहरु जसरी पछुताउनु भएको छ त्यस्तै पश्चताप हामीहरुले पनि भोली गर्नु पर्ने थिएन साथसाथै तपाईंहरुका अहिले सम्मका पापहरु पखालिएलान र सजिलै वैतर्णी पनि तर्नुहुनेछ अनि यहाँहरुकै भाषामा भन्दा स्वर्ग पनि जानु हुनेछ र जनतालाई स्वर्गजस्तो देशलाई नर्क हुने सम्भावनाबाट बेलैमा बचाउनु हुनेछ । धन्यवाद ।
-शंकर पाण्डे ‘मुक्ति’ माडी–२, चितवन . [email protected]