दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई साझा लक्ष्य बनाउनु पर्छ : शेर बहादुर देउवा


काठमाडौँ / नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई साझा लक्ष्य बनाउनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई साझा लक्ष्य बनाउनुपर्ने बताउनुभएको हो । उहाँले नयाँ संसदमा जनताले धेरै अपेक्षा गरेको भन्दै आगामी यात्रा स्पष्ट हुन जरुरी रहेको जिकिर गर्नुभयो । सभापति देउवाले संविधानको रक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्दे सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सुदृढीकरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले संविधानको कार्यान्वयन गर्न धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको धारणा पनि राख्नुभयो । स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनदेखि कोरोनाबाट जनतालाई जोगाउने काममा आफ्नो सरकारले सफलता प्राप्त गरेको र गौरवको अनुभूति भइरहेको उहाँले बताउनुभयो ।
देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिँदै पाँच वर्षे कार्यकालमा जनताको हितमा काम गर्न सफल हुने कामना गर्नुभयो । त्यस्तै देउवाले आफ्नो पार्टीलाई ठुलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिँदै जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता जनाउनुभयो ।