‘आरोपित लक्ष्मी महतोलाई पक्राउ गर्न आईजीपीलाई निर्देशन दिइसकेको छु ‘ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका हुन् ।
बुधबार पत्रकारहरुले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ”मैले देखिनँ । पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भई प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए । मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।