रुवि खानलाई भेट्न पुगे गृहमन्त्री, दोषीलाई संरक्षण गर्नेलाई कारबाही गर्ने लामिछानेको उद्घोष


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाही गर्ने बताएका छन् । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी रुवी खानलाई भेटेर दोषीलाई कारबाही गर्ने बताएका हुन् ।
उनले आफूले घटनाको संवेदनशीलता र जटिलतालाई बुझेको उल्लेख गर्दै आरोपीलाई संरक्षण गर्नेमाथि नै कारबाही गर्ने उद्घोष गरे । घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरेर छाड्ने बताउँदै घर्नामा बसेकालाई ढुक्कसँग घर फर्किन आग्रह गरेका छन् । लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेट गरेका छन् ।
बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली माइतीघरमा धर्नामा छन् । उनीहरुले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान गर्न माग गरेका थिए ।
यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए । तर अधिकारकर्मीले धर्नाको आन्दोलन कार्यक्रम जारी राखेका थिए ।