आज बडादशैं, मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै, यस्तो छ बडादशैंको महिमा


काठमाडौ – नवरात्रिको दशौ दिन आज विजया दशमी । आमाबुवा, आफन्त र मान्यजनबाट टीका ग्रहण गरिँदैछ । टीकाको दिन घरका मुलमान्छेले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, टाउकोमा जमरा लगाई दक्षिणा दिई आशिर्वाद दिने चलन छ । यस वर्ष दशैंको टीकाको उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको पचाङग निर्णायक समितिले जनाएको छ ।
भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले दशमीलाई विजयादशमी पनि भनिएको हो । यस दिन घर घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जली गर्ने चलन छ । यति गर्नाले कसैले पनि आफूमाथि दमन वा विजय गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ ।
यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ । दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र नभई जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन । टीका लगाईदिनेले ग्रहण गर्नेलाई उन्नती, प्रगति, दीर्घायुका लागि आर्शिवाद् दिने गर्छन् । दशैंमा प्राय आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वचन लिने गरिन्छ ।
दहीमा मुछेको रातो टीका निधारमा लगाउनाले मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासमा भूमीका खेल्छ भन्ने बुझाइ छ । गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभाग अर्थात आज्ञा चक्रमा लगाउँदा मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्ने विश्वास छ । यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख्नु भन्ने भाव राखेको बुझाइ छ ।
टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन् भने यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने बिश्वास छ । यस्तै, दशैंमा टाउकामा सिउरिने जमराको पनि छुट्टै महत्व छ । जौलाई स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । औषधीय गुणले युक्त जमरा टाउकामा राख्नाले स्वास्थ्य लाभ हुने र प्राणलाई बलियो राख्ने विश्वास छ ।
सुख,शान्ती ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई लक्ष्मीको रुपमा खर्च नगरी राख्दा सम्पन्नता मिल्ने विश्वास । बडादशैं सनातन परम्परा, संस्कार –संस्कृति, धर्म, आस्था र बिश्वाससँग जोडिएको बिषयमात्र नभएर समाजबिज्ञान,मनोबिज्ञान र ब्यवहार बिज्ञानसँग पनि निकट मानिन्छ । तर, पछिल्लो समय दशैं आडम्बरी, खोक्रो, मुल्यहिन बन्दै गइरहेको आभाष मिल्छ । अहिलेका युवाले दशैंलाई खानपीन, मनोरञ्जन र मदिरापानमा केन्द्रित गर्दा यो पर्व विकृत बन्दै गएको छ ।