नेपाललाई हिन्दू राष्ट्र घोषणा किन ?


केशवप्रसाद भट्टराई ।
हिन्दू राष्ट्रको सन्दर्भ र विरोधमा गलत र भ्रामक उदाहरण दिने दुषित र कपट मनसायका कुराहरू:
१. एघारौँ र बाह्रौं शताव्दीमा भएको युरोप र मध्यपूर्वमा क्रिश्चियन र मुसलमान राष्ट्रहरूवीचको भयानक धार्मिक युद्ध र राज्य सर्वोच्च कि चर्च सर्वोच्च भनेर र राज्य र चर्च वीचको युद्ध र द्वन्द्वको इतिहास पढेर/सुनेर उहाँहरू नेपाल हिन्दू राष्ट्र हुनुहुन्न भन्नुहुन्छ ।
२. पछि आएर सत्रौँ शताव्दीमा त क्रिश्चियन र प्रोटेस्टेन्टवीचको द्वन्द्वले युरोपले ३० वर्ष सम्म युद्ध लडिरह्यो । तर धर्मको नाउमा हिन्दूहरूले अर्को धर्मका धार्मिक संस्था र व्यक्तिहरूमाथि राज्य र सामूहिक रुपमा योजना बनाएर आक्रमण गरेको इतिहास छैन ।
३. भारतमा मुसलमान शासकहरूले आक्रमण गरेर हजारौँ मन्दिर भत्काएर, धन सम्पत्ति लुटेर शहरका शहर आगो लगाएर, हजारौँ –हजारको हत्या, बलात्कार र बलपूर्वक सामूहिक धर्म परिवर्तन गराएको इतिहास छ । हिन्दूहरूले त्यसो गरेको छ कुनै इतिहास ? हिन्दूहरूमा धार्मिक सत्ता र राज्य सत्तावीच कुनै युद्ध र द्वन्द्व भएन । त्यस्तो द्वन्द्व हिन्दू धर्म , संस्कृति, मूल्य र परम्परा विपरित मानिन्छन् । अधर्म मानिन्छ त्यो ।
४. ईश्वरीय सत्तालाई अस्वीकार गर्नेहरू सत्य, त्रेता, द्वापर सवै युगमा थिए । जस्तो शिवलाई मान्ने तर विष्णु नमान्ने पनि थिए । विष्णु मान्ने र शिव नमान्ने पनि थिए । त्यसै आधारमा उनीहरू वीच कहिल्यै कुनै युद्ध र द्वन्द्व भएन । उनीहरूमाथि त्यसै आधारमा स्वयं भगवान शिव र विष्णुले भेदभाव गरेको पानि कतै उल्लेख पाइन्न । स्वयम् भगवान रामको अयोध्यामा, ईश्वरको राज्यमा ईश्वरको अस्तित्वलाई अस्वीकार गर्ने सभासद थिए । धर्न/अधर्म , सत्य/असत्य , न्याय/अन्याय को आधारमा सार्वजनिक कल्याण /अकल्याणको आधारमा हिन्दू /सनातनी वीच युद्ध र द्वन्द्व भएका छन् । दण्ड –सजाय भएको छ ।
५. त्यसैले युरोपको उदाहरण दिएर हिन्दू राष्ट्र हुनुहुन्न भन्ने कुरा अर्थहीन हो । पाखण्ड हो त्यो । नेपालका श्री पाँच र श्री ३ राजा–महाराजाहरूको वीचमा काठमाडौँको मुटुमा दुई ठूला ठूला मस्जिद हिन्दू राष्ट्रले/हिन्दू राजाले बनाउन अनुमति दिएको हो । सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कूल र कलेजहरू खोल्ने अनुमति पनि हिन्दू राजाले नै दिएका थिए । सत्ता र शक्ति तपाईंहरूको हातमा छ , त्यसैले हिन्दू राष्ट्र बनाउनुहोस् नबनाउनुहोस् त्यो तपाईंहरू जान्नुहोस् तर दूषित मनसायले हिन्दूहरूमाथि गलत, भ्रामक र द्वेषयुक्त दुष्प्रचार गरेर हिन्दू राष्ट्रको माग र दावी गर्नेलाई जथाभावी नभन्ने कि ? हिन्दूहरुको धर्म, परम्पारा र संस्कृतिलाई बुझेर नै कट्टर मुस्लिम देश अबुधादीले आफ्नो राज्यमा त्यत्रो विशाल हिन्दु मन्दिर बनाउन. दियो । त्यहाँ रणनीतिक सवाल पनि होला ।
६. एउटा कुरा भने पक्का हो–हिन्दू राष्ट्रको पाहिचान नेपालले पायो भने त्यसले नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई अकुण्ठित राख्न भने ठूलो सहयोग गर्दछ । समृद्धिलाई पनि योगदान पुर्याउँछ भन्ने लाग्दछ । यो धार्मिक सवाल मात्र होइन, अझ मूलतः राष्ट्रिय सुरक्षाको रणनीतिको सवाल हो । राज्यको अस्तित्व रक्षामा योगदान पुर्याउने कुरा हो ।