प्रचण्डबिना पनि त सजिलै सरकार बन्न सक्छ, खोइ त ?


नारायण गाउँले ।
कांग्रेस र एमालेले अस्थिरता र ‘राजनैतिक वेश्यावृत्ति’को दोष जति सबै प्रचण्डलाई दिएको देखिन्छ । तर यो वृत्तिमा खेल्ने मूल प्रवृत्ति त तिनकै हो । एक्लै त त्यस्तो वृत्ति हुँदैन । सरकार बनाउने ठेक्का प्रचण्डको मात्रै त होइन । अरूले हुति देखाउन नसकेपछि गाली गरेर हुन्छ र ? प्रचण्डबिना पनि त सजिलै सरकार बन्न सक्छ । खोइ त ? कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । सबैभन्दा ठूलो दलबिना नै सरकार बन्न सक्छ भने उसले प्रचण्डबाहेकको सरकार बनाउन सक्दैन ? घुसघुसे देउवा र एकआपसमा झगड़ा गरेर आफ्नो भूमिका देखाउने त थुप्रै छन् तर ‘डिल मेकिङ’ क्षमता भएका नेता छैनन् । अघिल्लो गठबन्धन पनि कांग्रेसले होइन, माओवादीले चाहेर बनेको हो । भोलि फेरि बन्यो भने पनि त्यो अरूकै चाहले बन्ने हो ।
एमाले दोस्रो ठूलो शक्ति हो । पाएको मत र कार्यकर्ता बेस हेर्ने हो भने यो कांग्रेसभन्दा सानो दल होइन । पहिलो दलले नसकेपछि स्वाभाविक रूपमा नेतृत्व गर्ने र डिल गर्ने हक उसको हो । च्याँखे थापेर एक–दुई सिक्का जित्नुमा ऊ पनि रमाएकै छ । सानो माओवादीले एमालेबिना सरकार बनाउन सक्छ भने ठूलो एमालेले नसक्ने भन्ने हुन्छ र ? दुई ठूला दलले मिलेर निकास दिएको भए पनि माओवादीले रोकेको थियो र ? आलोपालो प्रधानमन्त्री बन्न तिनले पनि सक्दा हुन् ।
आफू पङ्गू नै भएको हो र हात उठाएको हो भने जनमत स्पष्ट रूपमा रास्वपासँग थियो । यत्ति सबैले बुझेका थिए । साइजमा माओवादी र रास्वपा उत्रै थिए । जनमतप्रति त्यति धेरै सम्मान हो भने बारम्बार प्रचण्डलाई प्रधानमन्त्री बनाउनुको साटो एकपल्ट रास्वपालाई दिएको भए के जान्थ्यो ? राप्रपाजस्तो सैद्धान्तिक रूपमा यो व्यवस्था विरोधी पनि थिएन रास्वपा । दुबैसँग मिल्दोजुल्दो नै थियो । माओवादीसँग जनमत छैन भन्ने, हाम्रै काँध चढेर यो साइजमा पुगेको हो भन्ने अनि उसको ओत नलागी उभिन समेत नसक्ने काँतर र अक्षमहरूले प्रचण्डलाई दोष दिनु कत्ति पनि तर्कसङ्गत छैन । माओवादीबिना सरकार नबन्ने स्थिति भएको र त्यसको फाइदा उठाएर प्रचण्डले अस्थिरता निम्त्याइरहेको भए पो ! आफ्नो नालायकीको फाइदा उठाएकोमा त लाज मान्नु र चुप बस्नु नि । आफ्नै भाषामा जनमत नभएको दललाई काँधमा बोकेर पालैपालो सत्तामा लैजानु जनताप्रति धोका होइन ? धोकेबाज तिमी कि प्रचण्ड ?