पशुपतिनाथ मन्दिर परिसरमा वृहत् साइकल र्याली


काठमाडौँ, ३० असारः पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि हुने बृहत कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आज वृहत् साइकल ¥याली आयोजना गरिएको छ ।
कोटिहोम महायज्ञको प्रचारप्रसारका लागि आज बृहत् साइकल र्याली आयोजना गरिएको हो । साइकल र्याली पशुपति नाथ मन्दिर परिसरदेखि, चाबहिल हुँदै चक्रपथ परिक्रमा गरिएको मानव सेवा फाउन्डेसनका मिडिया पर्सन अनुज पछाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार र्यालीमा दुई सय ७६ वटा साइकिल रहेका थिए । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा एक महिनासम्म चल्ने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको पछाईले बताउनुभयो ।
महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरुबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजक समितिका खेमराज रेग्मीले जानकारी दिनुभयो । यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने आयोजकले जनाएको छ ।
विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार बेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउन्डेसनले जानकारी दिएको छ ।