के रवि जेल जाँदैछन् ?


मोनिका सिंह ।
सायद आज फर्किएर सोच्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोस्रो पटक सरकारमा गएर गल्ती गरिएछ कि झैं लागिरहेको होला । किनभने दोस्रो पटक गृहमन्त्री हुनु उनका लागि प्रत्याउत्पादक मात्र भएको छैन, आत्मघाती नै हुने सम्भावना बढेर गएको छ । पहिलोपटक सरकारबाट बाहिरिँदा खासै केही काम नगरेपनि काम गर्न नपाएको र अदालतले पदबाट निकालेको निहुँमा उनले आमजनताबाट सहानुभूति नै बटुलेका थिए जसको बलमा दोस्रोपटक लोकप्रिय मतसहित संसद प्रव्रेश गरेका थिए । राहदानी दुरूपयोग जस्तो संवेदनसील मुद्दा र व्यक्तिगत जीवनका गम्भिर नैतिक प्रश्नका बाबजुद पनि सामाजिक संजालमा उनको पक्षमा व्यापक समर्थन देखिन्थ्यो ।
उनको बारेमा आउने कुनै पनि समाचारमा न्ययम Good luck Rabi dai लेखिएका कमेन्टहरूको ओइरो लाग्थ्यो भने उनलाई आलोचना गर्ने जोसुकैलाई Harass हुनेगरि troll गरिन्थ्यो । तर आज परिस्थिति बदलिएको छ । अहिले उनका बारे लेखिने समाचारमा फाट्टफुट्ट बाहेक Good luck Rabi dai देखिँदैन । उल्टै उनको तिखो आलोचना गरिएको भेटिन्छ । सामाजिक संजालकै बलमा उदाएका रवि लामिछानेका लागि यो पक्कै पनि सुखद संकेत होइन । पुराना पार्टी र नेताहरू नैतिकहीन र भ्रष्ट भएको आरोप लगाएर उदाएका लामिछानेलाइ अहिले थुप्रैले ठगको उपमा भिराएका छन् ।
यसरी सामाजिक संजालमा उनको लोकप्रियताको ग्राफ ओरालो लाग्नुमा उनको दोस्रो पटकको सत्ता यात्राले महत्वपूर्ण भूमिका नै खेल्यो । हुन त त्यही सहकारी ठगीको मुद्दाबाट बच्न लामिछाने सरकारमा गएको भन्नेको पनि कमि छैन । कमसल काम गरिरहको तत्कालिन प्रचण्ड सरकारमा जादा अलोकप्रिय भइने कुरा लामिछाने जत्तिका चतुर राजनीतिक खेलाडीलाइ थाहा नहुने कुरा पनि भएन ।
जे भएपनि यदि उनले कांग्रेसलाई गलहत्याएर पुनर्गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा एमालेसँगै नगएको भए अहिलेको परिस्थिति नआउन पनि सक्थ्यो । सरकारबाट नबाहिरिएको भए कांग्रेसले सहकारी ठगीको मुद्दा संसदमा उठाउने थिएन र सहकारी बचत संसदीय विशेष छानबिन समिति गठन नै हुने थिएन । धेरै रस्काकस्सीबीच सूर्य थापाको नेतृत्वमा यो समिति गठन हुँदा रवि लामिछानेलाई लागेको हुँदो हो सत्ताधारी दलको बहुमत भएको समितिले उनलाई सफाइ नै दिने छ । तर समितिले काम सकाउँदा उनी प्रतिपक्षमा हुत्तिसकेका थिए र तथ्य प्रमाण उनको पक्षमा थिएन ।
आफ्नो प्रतिवेदनमा समितिले उनलाई कारबाहीको लागि सिफारिस गरेको छ । अझ गजब त के छ भने त्यो सिफारिसमा उनकै पार्टीका सांसदको समेत हस्ताक्षर छ । यस कारबाहीको सिफारिस अगावै उनका निकटतम् विश्वासपात्र रास्वपाका तत्कालिन महामन्त्री डा. मुकुल ढकालले उनले प्रधानमन्त्री हुन भारतलाई गुहारेको लगायतका थुप्रै गम्भीर आरोप लगाएका थिए। त्यसक्रममा तिव्र विवाद हुँदा डा. मुकुल ढकाल महामन्त्रीबाट निष्कासित हुनपुगे । मुकुलका आरोपले धुमिलिएको रविको छविलाई सहकारी विशेष छानबिन समितिको सिफारिसले सकाइ नै पो दिने हो कि भन्ने अड्कल भइरहेको छ ।
गोर्खा मिडियामा रविका साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेसँगै रवि अत्तालिएको देखिन्छन् जसका कारण उनले रातारात पार्टी कार्यालयमा मान्छे थुपारेका थिए । पहिले दलहरूले अदालतकाविरूद शक्ति प्रदर्शन गरे भनेर तिखो आलोचना गर्ने रवि अहिले आफैं कार्यकर्ता जम्मा गरेर शक्ति प्रदर्शन गर्न अग्रसर भएका छन् । यस घटनाले सम्पूर्ण राष्टिय स्वतन्त्र पार्टी नै कति विचलित भएको छ भन्ने त पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा गएको भ्रमण दल भ्रमण छोट्टयाएर फर्किएकोबाट बुझ्न सकिन्छ ।
उनको यो काण्डले तुलनात्मक रूपमा स्वच्छ छवि भएका भनिएका रास्वपाका धेरै नेता कार्यकर्ताको आलोचनात्मक चेत तथा राजनीतिक नैतिकतामै प्रश्न उठाएको छ । पढेलेखेका भनिएका उपसभापति डा. स्वर्णिम वाग्लेले रविले क्लिन चिट पाएको प्रतिक्रिया दिँदा उनको सामाजिक संजालमा troll भएको थियो । सहकारी काण्डले रविको राजनीतिक भविष्यमाथि कालो बादल मडारेको छ । अब यो सहकारी काण्डले कुन मोड लिने हो ? रवि जेल जान्छन् वा जादैनन् ? अहिलेका लागि यी सबै प्रश्नको उत्तर थाहा पाउन प्रधानमन्त्री ओलीको स्वदेश आगमनलाई पर्खिन पर्ने भएको छ ।