गृहमन्त्रीमाथि राजीनामाको दवाव


काठमाडौं । भिजिट भिसाको आवरणमा मानव तस्करी गरेको आरोपमा गृह मन्त्रालयका अधिकारीहरू नै अनुसन्धान दायरामा तानिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दवाव बढेको छ । गिरोहसँग मिलेर रकम असुल गर्दै भिजिट भिसामा नागरिकलाई विदेश पठाएको आरोपमा विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ । यसमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको समेत शंकास्पद भूमिका देखिएको छ । त्यसपछि गृहमन्त्री लेखकमाथि राजीनामाको दवाव बढेको हो । पार्टीभित्रैबाट लेखकमाथि राजीनामाको दवाव बढेको छ ।
कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् । उनले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् । उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए । कोइरालाको भनाई छ, ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि।’
पार्टीभित्रैबाट राजीनामाको दवाव बढेपछि शनिबार अपरान्ह गृह मन्त्रालयले यस प्रकरणमा नेतृत्व संलग्न नरहेको र अनुसन्धानमा सघाउने भन्दै विज्ञप्ति जारी गर्यो । मन्त्रालयले ती समाचारहरू तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भएको उल्लेख गरेको छ ।
साँझ फेरि गृहमन्त्री लेखकले गृह मन्त्रालयमा हजारौंमा नभएर लाखौं कर्मचारी रहेकाले कुनै कर्मचारीले बदमासी गर्दैमा मन्त्रीले राजीनामा दिननपर्ने बताए ।
उनले प्रश्न गरे, ‘अनुसन्धान गर्ने सक्षय निकायले कुनैबेला बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ । कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिदै जाने हो ? मेराविरुद्ध राजनीतिक रुपले नियोजित रुपले षड्यन्त्रमूलक ढंगले झुटाप्रचारबाजी भइरहेको छ ।’ मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाट राजीनामा दिने बताएका छन् ।
रास्वपाले पनि गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाले भनेको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं ।’
गृहमन्त्री लेखकले रास्वपा सभापति गृहमन्त्री भएका बेला, मन्त्री माथि प्रश्न उठेपछि राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्ने भन्दै २०८० चैत ६ गतेको संसदमा बोलेको थिए । उनले भनेका थिए, ‘यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको छ कि कुनै पनि माननीय मन्त्री यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदि अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । त्यसकारण गृहमन्त्रीले राजीनामा गर्नुपर्छ । यसअघि डा. रामशरण महत अर्थमन्त्री भएका वेला विदेशी बैंकमा खाता छ भन्ने प्रश्न उठ्दा उहाँले राजीनामा दिएको इतिहास यही संसदमा छ । माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा बोल्दा केही कुरा बिग्रियो, बेठिक बोल्नुभयो भनेर प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको इतिहास पनि छ । माननीय गोकुल बाँस्कोटाजीमाथि प्रश्न उठ्दा छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नुभएको यसै संसद्को इतिहास हो । पछिल्लो समय जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटबारे प्रश्न उठ्यो । उहाँले राजीनामा गर्नुभयो र यहाँ छानबिन समिति गठन भयो ।’
रास्वपाकी सांसद सुमना श्रेष्ठ भिजिट भिसा प्रकरण नभई मानव तस्करी नै भएको बताउँछिन् । उनको टिप्पणी छ, ‘यो भिजिट भिसा प्रकरण हैन, मानव तस्करी हो ! आफ्नै छोरा छोरीहरूलाई, अनजान ठाउँमा बिना कुनै श्रम अधिकार संरक्षण पठाउने, त्यो ‘मूल्य’ तोकेर किन्ने विदेशीहरू र यस्तो विषयमा रोक्नुको सट्टा आफ्नो लागि भाग खोज्ने तपाईहरु सम्पूर्णमा— हार्दिक श्रद्धाञ्जली—तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला ! माथिको आशिर्वाद नभइ यो सम्भव हुँदैन भन्ने अनुसन्धान अधिकृतको कुरा छ, सहसचिवलाई माथिको आशिर्वाद क–कसको हो ?’