`

रोमाञ्च र रोमान्सका मास्टर: मोहित सूरीका फिल्महरू दर्शकलाई तान्न किन सफल हुन्छ?

Nepal One HD ११ साउन २०८२ १४:४६
चलचित्र

नेपाली दर्शकलाई पनि बलिउडका रोमान्टिक म्युजिकल ड्रामाले सधैं आकर्षित गर्दै आएको छ। त्यसमध्ये मोहित सूरी (Mohit Suri)लाई “भावनात्मक प्रेमकथाका जादुगर” मानिन्छ। उनलाई निर्देशक बनाउने पहिलो प्रेरणा भने उनको मामा महेश भट्ट र घरको फिल्मी वातावरण नै थियो। मोहित सूरीका धेरै फिल्महरूमा संगीतलाई कथा भन्दा पनि गहिरो बनाउने माध्यमका रूपमा प्रयोग गरिन्छ। उनको निर्देशकीय शैलीमा गीत र भावनाले कथा बोलेको अनुभूति हुन्छ। रोचक कुरा के छ भने, मोहित सूरी फिल्म बनाउनुअघि हरेक दृश्यलाई संगीतसँग मेल खुवाएर स्टोरीबोर्ड बनाउँछन् जसले गर्दा उनका फिल्महरूमा गीत मात्र नभई भावनाको धड्कन पनि सुनिएको होला!

मोहित सूरीको नाम लिँदा धेरैलाई पहिलो सम्झना आउँछ, भावनाले भरिएको कथा, आत्मालाई छुने गीत र प्रेमसँग मिसिएको रोमाञ्च। उनको निर्देशन शैलीमा एउटा फरक शक्ति छ जसले कथा र संगीतलाई त्यस्तो किसिमले गाँस्ने कि दर्शकलाई पर्दा मात्रै होइन, भावनाको गहिराइसम्म पुर्‍याइदेओस्।

सूरीका फिल्महरू सफल हुनुको मुख्य कारण भनेको वास्तविक मानवीय भावनालाई सहज र गहिरो तरिकाले प्रस्तुत गर्ने कला हो। ‘आशिकी 2’ले प्रेमलाई बलिदानको भावनासँग जोड्यो, ‘एक भिलेन’ले प्रेमसंग प्रतिशोधलाई मिसायो, ‘आवारापन’ ले आत्मिक प्रेम र पीडाको गहिराइमा डुबायो। हरेक कथामा संगीत केवल पृष्ठभूमि होइन, आत्मा बनेर बग्छ।

उनले सधैं पात्रलाई मानिसको वास्तविक संघर्षसँग जोड्छन्, जसले गर्दा दर्शकले आफ्नो जीवनका टुक्राहरू पर्दामा देख्छन्। यही कारण उनका फिल्महरू केवल हेर्ने वस्तु होइनन्, अनुभव हुने कथा बन्छन्।

हालै रिलिज भएको सैयारा ले फेरि देखाएको छ कि मोहित सूरीका फिल्महरू किन हरेक पुस्ताका दर्शकलाई तान्छन् – किनकि उनका कथाहरू प्रेम र जीवनका अनकही सत्यहरू बोल्छन्, जसले सधैं मुटु छुन्छ।

सैयाराको झिल्को
मोहित सूरीको पछिल्लो फिल्म सैयारा ८ जुलाईमा रिलिज भइसकेको छ। बलिउड लिजेण्ड्री कलाकार चंकी पाण्डेका भतिज अहान पाण्डेको बलिउड डेब्यु रहेको यस फिल्मले सुरुवातमै उत्कृष्ट प्रतिक्रिया बटुल्दै बक्स अफिसमा तताइरहेको छ। शनिबार २६ जुलाइसम्मको भारतीय बक्सअफिस कलेक्सनको रिपोर्ट हेर्ने हो भने सैयाराले २०० बटुलीसकेको छ। अहान पाण्डे र अनीत पड्डा स्टारर यो रोमान्टिक म्युजिकल ड्रामाले सूरीको विशेष स्टाइललाई पुनः पुष्टि गरिदिएको छ।

यसअघि सूरीको निर्देशनमा हिट भएका पाँच रोमान्टिक फिल्महरूको सूची हेर्नुहोस्:
आशिकी 2 (2013) – मोहित सूरीको उत्कृष्ट निर्देशनमा बनेको आशिकी 2 ले श्रद्धा कपूर र आदित्य रॉय कपूरको करियरलाई एकैपटक नयाँ उचाइमा पुर्‍यायो। भावनात्मक प्रेमकथामा बनेको यस फिल्मले संगीतलाई कथाको आत्मा बनायो। बक्स अफिसमा पहिलो दिनमै ६.१० करोड रुपैयाँ कमाएको यो फिल्म वर्षकै सुपरहिट रह्यो र आज पनि यसको गीतहरू दर्शकको मनमा जिउँदै छन्।

एक विलेन (2014) – श्रद्धा कपूर र सिद्धार्थ मल्होत्राको जोडीलाई दर्शकले मन पराएको यस फिल्ममा रितेश देशमुख खलनायकको भूमिकामा थिए। रोमान्टिक थ्रिलर शैलीमा बनेको यस फिल्मले पहिलो दिनमै १६ करोड रुपैयाँ कमाउँदै ब्लकबस्टरको सूचीमा नाम लेखायो। सूरीको कथावाचन र संगीतप्रतिको संवेदनशीलताले यसलाई अझ प्रभावशाली बनाएको थियो।

आवारापन (2007) – इमरान हाशमी र श्रेया सरन अभिनीत यो फिल्म अझै पनि दर्शकको मनमा गहिरो छाप छोडेको छ। आत्मिक प्रेम र बलिदानको कथा भएकाले यसलाई मोहित सूरीका सबैभन्दा भावनात्मक फिल्ममध्ये मानिन्छ। यसले बक्स अफिसमा १२.२६ करोड रुपैयाँ कमायो र यसको सिक्वेलको घोषणा भइसकेकाले दर्शकलाई उत्सुकता बढाएको छ।

मर्डर 2 (2011) – इमरान हाशमी र ज्याक्लिन फर्नान्डिजको जोडीमा बनेको यो थ्रिलरले दर्शकलाई आफ्नो सीटमा बाँधेर राख्यो। साहसी विषयवस्तु र रोमान्टिक भावनाको मिश्रणका कारण यसले पहिलो दिनमै ६.९५ करोड रुपैयाँ कमायो र बलिउडका सफल थ्रिलरमध्ये गनियो।

कलयुग (2005) – कुणाल खेमु र स्माइली सूरीको मुख्य भूमिका रहेको यस फिल्ममा इमरान हाशमी र अमृता सिंह पनि देखिएका थिए। आधुनिक समाजका संवेदनशील मुद्दामा आधारित यस फिल्मका गीतहरू आजसम्म पनि चर्चित छन्। यसले मोहित सूरीलाई एक प्रतिभाशाली रोमान्टिक कथा वाचकका रूपमा स्थापित गर्‍यो।

यी पाँचै फिल्महरूले मोहित सूरीलाई बलिउडका सर्वश्रेष्ठ रोमान्टिक निर्देशकको हैसियतमा उचालेका छन् र सैयारा (Saiyaara) ले फेरि यो धरोहरलाई पुष्टि गरिदिएको छ कि उनको कथा कहिल्यै केवल पर्दामा मात्र सीमित हुँदैन, दर्शकको मुटुमा बस्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *