`

सङ्ग्रहालयको प्रवर्द्धन र विकासका लागि गैरसरकारी एवं निजी क्षेत्रसँग सहयोग लिनुपर्छ : संस्कृतिमन्त्री पाण्डे

Nepal One HD २७ साउन २०८२ २२:१५
राजनीति

काठमाडौँ, २७ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सङ्ग्रहालयको प्रवर्द्धन र विकास सरकार एक्लैले गर्न नसक्ने भएकाले गैरसरकारी एवं निजी क्षेत्रको पनि सहयोग लिइने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय सङ्ग्रहालय परिषद् (आइकम) नेपालले आज प्रकाशन गरेको ‘सङ्ग्रहालय’ स्मारिका विमोचन समारोहमा उहाँले नेपालमा पर्यटन प्रवर्द्धनका लागि पनि सङ्ग्रहालयको विकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभाको आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणसम्बन्धी विधेयक पेस भएकाले प्रतिनिधिसभाबाट पनि पारित गराएर कानुनी व्यवस्था भएपछि सम्पदाको संरक्षणमा योगदान पुग्ने विश्वास मन्त्री पाण्डेले व्यक्त गर्नुभयो ।

“मन्त्रिपरिषद्मा संस्कृति नीति पारित गर्ने गरी तयारी भएको छ, अब केही दिनमै संस्कृति नीति पारित भएपछि त्यसै अनुसार कानुन पनि निर्माण गरिनेछ, कानुन कार्यान्वयन गरेर आवश्यकता अनुसार त्यसको संशोधन पनि हुँदै जान्छ”–उहाँले भन्नुभयो ।

मन्त्रालयले अभौतिक सम्पदा सूचीकरणका लागि जारी गरेको सूचना अनुसार १०५ वटाको सूचीकरणका लागि प्रस्ताव प्राप्त भए पनि एउटाले मात्र आवश्यक सबै कागजात र प्रमाण पुर्‍याएकाले योमरी अभौतिक सम्पदामा सूचीकरण भएको मन्त्री पाण्डेले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *