भक्तपुरको मुपात्र र याँमता जात्रा आजबाट सुरु

अध्यात्म

भादगाउँ । इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र र याँमता जात्रा आजबाट सुरु हुँदै छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।
जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङ लगाई श्रृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने चलन छ । नगर परिक्रमा गर्दा नगरको टोलटोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्छन् ।
जात्रा सुरु हुनु अघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी नगर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकाल्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको टोलहरूमा परिक्रमा गराइन्छ ।
जात्राको दोस्रो दिन साँझ गोमारीका मानन्धर समुदायको याँमतासँगै चोछेँ टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीका मानन्धर समुदाय छुमा गणेश मन्दिर गएर सुकुण्डा बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता बालिसकेपछि चोछेँ टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आआफ्नो द्योःछे (देवगृह)मा पुर्याइन्छ ।
जात्राको अन्तिम दिन टौमारीको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट बलि पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोलहरू तपालछीँ र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुण्डा बालेर आउँछन् । त्यही सुण्डाबाट बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बाल्छन् । बालिसकेपछि याँमतासँगै टौमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । जात्रामा नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।
भैरवको खटजात्रा गरेपछि स्थानीय लाकुलाछेँ टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपाडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गर्छन् । टौमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छन् । जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ । एकजना पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।
जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरूलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मुपात्र जात्रा गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।
इन्द्रजात्रासम्बन्धी लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरूको बगैँचामा प्रवेश गरे । दैत्यहरूले पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाइ दलबलसहित आएर दैत्यहरूसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यहरूले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरूले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन् । सो क्रममा दैत्यहरूलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरूमा उल्लेखित ग्रन्थका कथामा आधारित गरी जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिन्छ । त्यसैले जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँका व्यक्तिहरू ल्याई पैसा दिएर मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट