`

प्रसिद्ध शक्तिपीठ त्रिशुलीदेवी मन्दिर सर्वसाधारणका लागि खुला

Nepal One HD ६ असोज २०८२ १४:०२
अध्यात्म

जलेश्वर (महोत्तरी) । वर्षमा एकपटक मात्रै खोलिने महोत्तरीको प्रसिद्ध शक्तिपीठ त्रिशूलीदेवी मन्दिर आज सर्वसाधारणका लागि खोलिएको छ ।

सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबाजलेश्वरनाथ महादेव मन्दिरको परिसरमा रहेको जिल्लाकै प्रख्यात त्रिशूलीदेवी मन्दिर आजदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको पुजारी उपेन्द्र पाठकले बताए ।

आज घटस्थापनासँगै सर्वसाधारणको पूजाआजा र दर्शनका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी पाठकले बताए । मन्दिरमा आज बिहानदेखि जिल्लाका विभिन्न गाउँठाउँबाट पूजाअर्चना र दर्शनका लागि भक्तजनहरूको घुइँचो लागेको छ ।

त्रिशूलधारण गरेकी त्रिशूलीदेवी भवानीको प्रतिमा पनि वर्षभर कसैले हेर्न वा छुन पाउँदैनन् । यद्यपी दस दिनसम्म विशेष पूजाआजा गर्न, सर्वसाधारणले माताको पूजाअर्चना गर्न एवं दर्शन गर्न पाउने र भेटी समेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताए ।

जलेश्वर महादेवमन्दिरको परिसरमा नै अवस्थित माता त्रिशूलीदेवी मन्दिर प्रख्यात शक्तिपीठमध्येको एक हो भने यस शक्तिपीठ नेपालमा महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी, दरभङ्गा र मुज्जफरपुर जिल्लामा निकै प्रख्यात रहेको छ ।

दसैँमा त्रिशूलीदेवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरू पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ । दसैँभरि त्रिशूलीदेवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौँको भेटी र प्रसाद चढाइने गरिन्छ ।

यस त्रिशूलीदेवी मन्दिरमा भाकल गरेको र मागेको वर पूरा हुने जनविश्वास रहेको छ भने वर्षमा एकपटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको यस मन्दिरका अर्का पुजारी कामेश्वर पाठक बताँउछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *