घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै


जलेश्वर (महोत्तरी), १५ असोजः बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै छ ।
महोत्तरीसहित मिथिला क्षेत्रमा महानवमीका दिन घरघरमा कन्या पूजा गरी नवरात्रिपर्व समापन भइरहेको जलेश्वर–८ का पण्डित गोविन्द झाले बताउनुभयो । बडादसैँको घटस्थापनादेखि आजसम्म नौ दिनसम्म व्रत बसेका श्रद्धालु महिला तथा पुरुषले आज नवौँ दिनका अवसरमा गच्छेअनुसार पाँच, सात वा नौजना कन्यालाई बोलाएर पूजा गरी नवरात्रि व्रत समापन गर्ने परम्परा रहिआएको छ ।
आ–आफ्ना घर तथा टोल–छिमेकीका कुमारीलाई कन्याकुमारीलाई बोलाएर निजहरुका खुट्टा धोई टाउकोमा चुनरी हालेर, जीउमा फूल प्रसादहरु चढाएर पूजा गरेका छन्भने पूजापश्चात्कन्याहरुलाई प्रसादका रुपमा हलुवा, पुरी र चनाको भोजन गराएका छन्भने भोजनपछि कन्याको पाउ ढोग्दै दक्षिणासहित बिदाइ गरेको नवरात्रव्रत बसेका श्रद्धालु जलेश्वर नगरपालिका–२ का सुदिश साहले बताउनुभयो ।
मिथिलामा आजका दिन कन्यालाई माता वैष्णवीको रुप मानेर कन्यापूजन, कन्याभोजन र कन्याबाट आशीर्वाद प्राप्त गर्ने चलन रहेकाले यहाँका घर घरमा आज कन्या पूजन गरिँदै नवरात्रि पर्व समापनका क्रममा छ ।
बडादसैँका नवरात्रि व्रत बसेर कन्यापूजन गर्नाले सुख, शान्ति र समृद्धिका साथै वर्षभरि मातादुर्गा भवानीको आशीर्वाद प्राप्त भइरहने जनविश्वास रहेका कारण मिथिलाको प्रत्येक घरमा नवरात्रि धुमधामका साथ मनाइने चलन रहेको जलेश्वर–५ का संस्कृतिविद् धु्रव रायले बताउनुभयो ।