नेवार समुदायमा गरियो म्हः पूजा


काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदाका दिन बुधवार नेवार समुदायमा म्हः (आत्म) पूजा मनाइएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन् । यसदिन कसैले दिउँसो र कसैले बेलुकी म्हः पूजा गर्ने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहि आएको नेवा समूदायका अगुवा राकेश अवालेले बताए ।
आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहेको कारण नेवा समूदायले म्हः पूजा गर्ने गरेको उनको भनाइ छ । आत्मजीवनको सुख र शान्तीको कामना गर्दै यो पर्व मनाउँदै आइएको उनको भनाइ छ ।
उनले भने, ‘म्हः पुजा हाम्रो गौरव हो । हामी नेपाली समूदायमा पनि कसैले पूजा गर्छ कसैले गर्दैन । नयाँ वर्षको सिलसिलामा आफ्नो जीवनमा सुख, शान्ती र समृद्धि एवं सफलताको कामना गरी जीवनमा कुनैपनि दुःखद् घटना नहोस् भन्ने हेतुले आफूले आफैंलाई पूजा गर्ने चलन छ । यो एकदमै राम्रो चलन छ ।’
नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा म्हः पूजा मनाउने गरिएको छ ।