आज भाइटीका : सप्तरङ्गी टीका लगाई दिएर दिदी–बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै


काठमाडौं । नेपाली हिन्दु समुदायले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह र प्रेमको प्रतीकस्वरूप मनाउने भाइटीका पर्व आज (बिहीबार) देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।
हिन्दु धर्मअनुसार यमपञ्चकको पाँचौं दिन, अर्थात् कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीहरूले दाजुभाइलाई पञ्चरङ्गी टीका, मखमली फूलको माला र मीठा परिकारहरू अर्पण गरी दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्छन् ।
शास्त्रीय मान्यताअनुसार, आजकै दिन यमुनाले आफ्ना दाजु यमराजलाई टीका गरी दीर्घायुको कामना गरेकी थिइन् । त्यसैबेलादेखि भाइटीकाको प्रचलन सुरू भएको विश्वास गरिन्छ । पर्वमा दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, उपहार वा आशीर्वाद प्रदान गर्ने प्रचलन छ । यस अवसरमा परिवारभित्रको प्रेम, आत्मीयता र एकताको भावना झनै प्रगाढ हुने विश्वास गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । आज (बिहीबार) बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।
आज बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन’, उनले भने ।
नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ । विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ ।
समितिका अनुसार २२ र २३ अक्टोबरमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये भारतको दिल्लीमा ११ बजेर ५५ मिनेटमा साइत जुराइएको छ भने अमेरिकामा २२ अक्टोबरमा शुभ साइत जुरेको छ ।
समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ११ बजेर ५५ मिनेटमा, फ्र्याङ्कफर्ट र केन्टुकीमा ११ बजेर ३१ मिनेटमा, वोवेन्स्वोरो र केन्टुकीमा ११ बजेर ४५ मिनेटमा, टेक्सासमा ११ बजेर ५७ मिनेटमा, वासिङ्टन डीसीमा ११ बजेर ४१ मिनेटमा, क्यालिफोर्नियामा ११ बजेर ४९, कोरोराडोमा ११ बजेर २७ मिनेटमा, सिकागोमा ११ः ३३ मिनेटमा शुभ साइत जुराएको छ । क्यानडाको टोरन्टोमा ११ बजेर २३ मिनेटमा, भ्यानकुभरमा ११ बजेर ३५ मिनेटमा साइत जुजाइएको छ ।
यस्तै अष्ट्रेलियाको सिड्नीमा ११ बजेर २५ मिनेटमा, ब्रिसवेनमा ११ बजेर ४३ मिनेटमा, एडिलेडमा ११ बजेर ५३ मिनेटमा, क्यानबेरामा ११ बजेर २७ मिनेटमा, तास्मानियामा ११ बजेर २५ मिनेटमा, पर्थमा १० बजेर ३४ मिनेटमा र डार्विनमा ११ बजेर ५७ मिनेटमा शुभ साइत जुराइएको छ ।
यस्तै न्यूजिल्याण्डको वेलिङटनमा ११ बजेर ३१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११ बजेर २९ मिनेटमा, बेलायतको लण्डनमा ११ बजेर ३७ मिनेटमा, फ्रान्सको पेरिसमा ११ बजेर २१ मिनेटमा, नर्वेको ओस्लोमा ११ बजेर ४३ मिनेटमा , डेनमार्कमा ११ बजेर २५ मिनेटमा, जर्मनमा ११ बजेर ४३ मिनेटमा साइत जुरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस्तै समितिले फिनल्याण्डमा ११ बजेर ४७ मिनेटमा, स्वीटजरल्याण्डमा ११ बजेर ५४ मिनेटमा, माल्टामा ११ बजेर २३ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११ बजेर ५७ मिनेटमा, युएईको अबुधाबीमा ११ बजेर ४५ मिनेटमा, कतारको दोहामा ११ बजेर ५५ मिनेटमा, कुवेतमा ११ बजेर ४५ मिनेटमा, इजरायलको तेल अभिभमा ११ बजेर १ मिनेटमा, साउदी अरेबियामा ११ बजेर ५५ मिनेटमा, थाइल्याण्डको बैंककमा ११ बजेर ४१ मिनेटमा सुभ साइत जुराएको छ ।
यस्तै जापानको टोकियोमा ११ बजेर ४२ मिनेटमा, दक्षिण कोरियामा ११ बजेर २१ मिनेटमा, सिंगापुरमा ११ बजेर ५८ मिनेटमा, हङकङमा ११ बजेर ४५ मिनेटमा र म्यानमारको याङ्गुनमा ११ बजेर ५५ मिनेटमा टीकाको शुभ साइत जुरेको समितिले जनाएको छ । पर्वमा दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, उपहार वा आशीर्वाद प्रदान गर्ने प्रचलन छ । यस अवसरमा परिवारभित्रको प्रेम, आत्मीयता र एकताको भावना झनै प्रगाढ हुने विश्वास गरिन्छ ।
यस अवसरमा विशेष गरी घरआँगन सफा गरिन्छ, रंगोली बनाइन्छ, दियो बत्ती बालिन्छ र परम्परागत परिकारहरूको व्यवस्था गरिन्छ । मखमली, सयपत्री फूल र सेलरोटी भाइटीकाको प्रमुख पहिचान हो । सरकारले भाइटीकाको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । सुरक्षाका दृष्टिले देशभरका प्रमुख नाका र स्थानहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी गृह मन्त्रालयले दिएको छ ।
(‘नेपाल वान एचडी’ को तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिहार तथा भाइटीकाको पावन अवसरमा हार्दिक शुभकामना । पञ्चरङ्गी टीकासँगै सम्बन्धमा प्रेमको गहिराइ थपिँदै जाओस्, मखमली मालासँगै स्नेह अझ बलियो बनोस् । दिदी–भाइको यो सम्बन्ध सधैं अमिट, आत्मीय र अटुट रहोस् । भाइटीकाले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिको उज्यालो लिएर आओस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।)