श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा घुमाइयो पशुपतिनाथको मूल मन्दिर
काठमाडौँ – श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्र घुमाइएको छ ।चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले राससलाई जानकारी दिनुभयो ।
चन्द्रविनायकलाई पिता अर्थात् भगवान् पशुपतिनाथको दर्शन गराएपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकहरुमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिनुभयो । यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ ।
पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन बुधबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।
मार्गशीर्ष कृष्ण प्रतिपदामा दुवै रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो । स्नानपछि दुवै खटलाई त्यस दिन बेलुकी नै चारुमती बिहारमा लगेर बिसाइएको थियो ।
जात्रा करिब ३५० वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुवात गराएको स्थानीयवासीको भनाइ छ । श्री चन्द्रविनायक तथा भैरवनाथको रथयात्रा कार्तिक शुक्ल पूर्णिमा अर्थात् बुधबारदेखि सुरु भएको हो ।
जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । मार्गशीर्ष कृष्ण तृतीयाका दिन शनिबार अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि जात्रा सम्पन्न हुन्छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा सिन्दूर जात्रा गर्ने परम्परा रही आएको जनाइएको छ ।
जात्रा कार्तिक शुक्ल पूर्णिमामा चावहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा हर्षोल्लासका साथ मनाउने परम्परा भुपालेन्द्र मल्लका पालादेखि नै रही आएको जनाइएको छ ।
