दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो
त्रिशूली (नुवाकोट), १७ मङ्सिरः ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाका अवसरमा लाग्ने मेलामा दर्शनार्थीको भीड लागेको छ ।मोक्षदा एकादशीदेखि सुरु भएको मेला भोलि पूर्णिमासम्म विशेष रूपमा लाग्ने मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार, यसवर्ष चतुर्दशी र पूर्णिमा एकैदिन परेकाले मुख्य दर्शनको घुइँचो आजैदेखि लागेको हो ।
आज बिहानैदेखि साँझ ५ बजेसम्म १५ हजारभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान छ । भोलि पूर्णिमाका दिन यो सङ्ख्या अझै धेरै हुने दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
मेलामा विशेषगरी बाँस र निगालोका चोयाबाट बनाइएका धुन्से, डोका, भकारी, नाङ्लोलगायत हस्तकलाका सामग्रीको कारोबार हुने स्थानीय राजकुमार श्रेष्ठको भनाइ छ । गाईभँैसीलाई धुवाउने परम्परागत धुपी र शिखरबेंसी क्षेत्रमा उत्पादन हुने समुन्द्रफिनी जातको धानको चामलसहित अन्य कृषिउपजको व्यापार मेलाको मुख्य आकर्षण मानिन्छ ।
