`

कञ्‍चनवनमा ‘मिथिला मध्यमा परिक्रमा’को डोला, होली सुरु

Nepal One HD ११ फागुन २०८२ १७:२५
अध्यात्म

काठमाडौं । महोत्तरीको कञ्‍चनवनमा मिथिला मध्यमा परिक्रमाको डोला आइपुगेको छ ।

फागुन शुक्ल प्रतिपदाबाट शुरु भएको यो ऐतिहासिक १५ दिने धार्मिक पदयात्रा सप्तमी तिथिमा कञ्‍चनवन पुगेपछि परम्परागत रूपमा होली महोत्सव सुरु भएको हो ।

भगवान राम (मिथिला विहारी) र माता सीता (किशोरीजी)का प्रतिमा राखिएका डोलाहरू हजारौँ श्रद्धालु, साधुसन्त तथा महात्माहरूको लावालस्करसहित कञ्‍चनवन आइपुगेका हुन् ।

जनविश्‍वासअनुसार त्रेता युगमा भगवान राम र सीताले यो कञ्‍चनवनमै रङ अबिर दलेर होली खेलेका थिए ।

सोही सम्झनामा डोला यहाँ पुगेपछि परिक्रमा सहभागीहरूले एकअर्कालाई रङ अबिर लगाएर होली खेल्ने परम्परा छ ।

यो वर्ष पनि कञ्‍चनवनमा डोला बिसाइएपछि भक्तजनहरूले दर्शन, पूजाआराधना तथा अबिर चढाएका छन् ।

संस्कृतिविदहरूका अनुसार कञ्‍चनवनको यो होली मिथिलाञ्‍चलको सबैभन्दा पुरानो र विशेष होली उत्सव मानिन्छ ।

यहाँ मठमन्दिरका महन्थहरू, सामाजिक अगुवा, सांस्कृतिक तथा राजनीतिक व्यक्तित्वहरूको पनि उल्लेख्य सहभागिता हुने गरेको छ ।

परिक्रमा यात्रा धनुषाको हनुमानगढीबाट शुरु भएर भारतको कल्याणेश्‍वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्‍वर, मडै, ध्रुवकुण्ड पुगेपछि कञ्चनवन आइपुगेको हो ।

कञ्‍चनवनमा होली खेलेपछि यात्रा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः जनकपुरधाम फर्केर फागुन पूर्णिमामा समापन हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *