`

धुरन्धर-२ को वर्ल्ड वाइड कलेक्शन साँढे १४ सय करोड नाघ्यो

Nepal One HD १९ चैत २०८२ १२:२४
चलचित्र

काठमाडौं। बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म धुरन्धर २ ले बक्स अफिसमा राम्रो कमाई गर्दै नयाँ कीर्तिमान बनाएको छ। प्रदर्शनको दोस्रो सातासम्म यो फिल्मले विश्वभर करिब १४६६.४७ करोड भारुको कुल कलेक्सन गर्दै भारतीय सिनेमा इतिहासमा उच्च स्थान हासिल गरेको हो।

ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार रिलिजको चौधौँ दिन बुधबारमात्रै फिल्मले भारतमा २०.१० करोड भारुको नेट कलेक्सन गरेको थियो।

फिल्म अहिले विश्वकै सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा छ। यसअघि यस सूचीमा दंगल, बाहुबली २, र पुष्पा २ रहेका छन्। भारतमा नेट कलेक्सन ९२०.०२ करोड र ग्रस कलेक्सन ११०१.४७ करोड भारु पुगेको छ। विदेश बजारमा ३६५ करोडको व्यापार भएपछि विश्वव्यापी ग्रस कलेक्सन १४६६.४७ करोड पुगेको हो।

विशेषगरी हिन्दी भर्सनले सबैभन्दा बढी कमाइ गरेको छ। चौधौँ दिनमा मात्र हिन्दी भर्सनबाट १८.७५ करोड भारुको कमाइ भएको छ भने तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा पनि फिल्मले आफ्नो प्रभाव देखाएको छ।

धुरन्धरको पहिलो भागले पनि विश्वभर करिब १३०७ करोड कमाई गरेको थियो र अमेरिका तथा क्यानडामा बाहुबली २ को रेकर्ड तोडेर १९३ करोडभन्दा बढी कमाएको थियो।

चाखलाग्दो कुरा के छ भने, खाडी मुलुकहरूमा प्रदर्शनको अनुमति नपाए पनि धुरन्धर २ ले यति ठूलो सफलता हासिल गरेको छ। यो फिल्म भारतीय सिनेमाकै सबैभन्दा धेरै कमाउने ‘ए’ रेटेड (वयस्कका लागि मात्र) फिल्म समेत बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *