बलिउड अभिनेत्री ‘स्वच्छता’लाई लिएर नेपाली उपन्यास ‘साबिति’को मञ्चन न्युयोर्कमा
काठमाडौं। नेपाली साहित्यकार जगदीश घिमिरेको उपन्यास ‘साबिति’मा आधारित नाटक ‘साबिति’ न्युयोर्क स्थित ‘द ट्यांक’ थिएटर मा मञ्चन हुने भएको छ।
विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकमा बलिउड फिल्म ‘लुटेरा’की अभिनेत्री ‘स्वच्छता गुहा’ ले मुख्य भूमिका निर्वाह गर्नेछिन्।
नाटकमा नेपाली मूलका अमेरिकी कलाकार नवल राई तथा हलिउडका विभिन्न चलचित्रमा अभिनय गरिसकेका जड मेयर्स को पनि सहभागिता रहनेछ।
नेपाल र भारतमा पटक-पटक मञ्चन भइसकेको यो नाटकलाई न्युयोर्कका दर्शकलाई लक्षित गर्दै पुनर्लेखन तथा रूपान्तरण गरिएको हो। मूल उपन्यासमा विपन्न पुरुष पात्रमार्फत कथा प्रस्तुत भए पनि नाट्य संस्करणमा महिला पात्रलाई केन्द्रमा राख्दै नयाँ दृष्टिकोण प्रस्तुत गरिएको छ। नाटकले महिला आवाज,सशक्तिकरण र सामाजिक संरचनामाथि प्रश्न उठाउने विषय समेटेको छ।
भारतको नेसनल स्कुल अफ ड्रामाबाट निर्देशन र डिजाइनमा अध्ययन गरेका सुवेदीले नेपाली-अमेरिकी समुदायका अगुवा अमित प्रताप शाहको ‘आपन फाउन्डेसन’ र ‘द ट्यांक’ थिएटरसँगको सहकार्यमा यो प्रस्तुति तयार गरेका हुन्। नेपाली महावाणिज्य दूतावास न्यूयोर्क ले पनि यसलाई सांस्कृतिक कूटनीतिक पहलका रूपमा सहयोग गरिरहेको छ।
निर्देशक सुवेदीका अनुसार नाटकलाई ‘द ट्यांक’ थिएटरले अन्य अमेरिकी नाटकसरह नियमित रूपमा मञ्चन गर्नेछ। न्युयोर्क सहरको केन्द्रमा रहेको यस थिएटरमा प्रस्तुति दिन करिब सात महिना कुर्नु परेको जानकारी दिइएको छ।
यसैबीच, सुवेदीकै निर्देशनमा अमेरिकामा निर्माण भएको चलचित्र ‘हिउँको गीत’ पनि यसै वर्षको अन्त्यसम्म नेपाली तथा अन्तर्राष्ट्रिय दर्शकमाझ प्रदर्शन गर्ने तयारीमा रहेको छ।
