`

आजदेखि बिस्का: जात्रा सुरु

Nepal One HD २७ चैत २०८२ ११:१२
अध्यात्म

काठमाडौं। बिस्का: जात्रा शुक्रवारदेखि भक्तपुर मा सुरु हुँदैछ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलतर्फ लगेर भैलखः (भैरवनाथको रथ) तानातान गर्दै जात्राको औपचारिक सुरुआत गरिन्छ।

अब भक्तपुर नौ दिन आठ रातसम्म जात्राको रौनकमा झुम्नेछ। काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतल्ले भैलखःमा भैरवनाथ र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तान्ने परम्परा रहिआएको छ।

भैलखः तान्नु अघि रथमा खड्ग, तरवार र निशान राखिन्छ। त्यसपछि क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार डोरीले तानातान गर्दै आ-आफ्नो क्षेत्रमा लैजान्छन्। यही तानातान जात्राको मुख्य आकर्षण हो।

तानातानका क्रममा थनेतर्फ तानेर दत्तात्रयसम्म पुर्‍याइन्छ भने पुनः तमारी हुँदै क्वनेतर्फ फर्काएर तेखापुखु पुर्‍याई अन्ततः गःहिटीमा ल्याएर ‘द्योः थातेलाकेगु’ गर्दै पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ।

दोस्रो दिनलाई शून्य दिन मानिन्छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई पूजा गरिन्छ।

चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो उभ्याइन्छ र साँझ ल्यसिङखेल मा ५५ हात लामो यसींद्योः ठड्याइन्छ।

यसींद्योः (लिङ्गो) उभ्याउने परम्परा पुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागतको प्रतीक हो। यसमा झुण्ड्याइने वीरध्वजा र विश्वध्वजाले संवत् परिवर्तन जनाउँछन्।

धार्मिक विश्वासअनुसार यसींद्योः उठाएको हेर्दा शत्रु नाश हुने मान्यता छ, त्यसैले यसलाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ।

वैशाख १ गते चुपिङघाट र ल्यसिङखेल क्षेत्रमा भक्तजनको भीड लाग्छ। भैरव, भद्रकाली, बेताल र यसींद्योःको पूजा गरिन्छ।

साँझ यसींद्योः ढालेर भैलखः र भद्रकालीको रथ जुधाई ‘द्योः ल्वाकिगु’ (संगम जात्रा) मनाइन्छ।

छैटौँ दिन महाकाली र महालक्ष्मी, सातौँ दिन ब्रम्हायणी, महेश्वरी, बटुकभैरव र ज्याठा गणेशको जात्रा गरिन्छ। आठौँ दिन ‘द्यो स्वगं पूजा’ (सगुन जात्रा) मनाइन्छ।

अन्तिम दिन पुनः भैलखः तानातान गर्दै जात्रा सम्पन्न गरिन्छ।

संस्कृतिविद्का अनुसार यस जात्रालाई प्राचीन अभिलेखमा ‘विश्व जात्रा’ भनेर उल्लेख गरिएको पाइन्छ। उनका अनुसार बिस्का: जात्रा भैरवनाथ र भद्रकालीसँग सम्बन्धित धार्मिक परम्परा हो, सर्पसँग जोडिएको किंवदन्ती ऐतिहासिक रूपमा प्रमाणित छैन।

सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थित बनाउन यस वर्ष विशेष सुरक्षा योजना लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ।

जात्रामा हुलदङ्गा नियन्त्रण गर्न सिसी क्यामेरा जडान गरिएको छ भने रथमा सीमित व्यक्तिलाई मात्र चढ्न दिइनेछ। साथै रथमा बस्नेले नाङ्गो खुट्टा राख्नुपर्ने व्यवस्था गरिएको छ।

यसरी भक्तपुर नौ दिनसम्म सांस्कृतिक, धार्मिक र सामाजिक उत्सवमा डुब्नेछ,जसले नेवार समुदायको मौलिक परम्परा र पहिचानलाई जीवन्त राख्दै आएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *