`

युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग

Nepal One HD १२ साउन २०८३ २०:४०
समाचार

झापा। भद्रपुर नगरपालिका-१० चन्द्रगढीस्थित पोख्रेल टोलमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

युवतीका मृतकका माइती पक्षले घटनालाई शङ्कास्पद भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ती युवतीको नौ महिनाअघि चन्द्रगढी निवासी प्रसिल कोइरालासँग विवाह भएको थियो । ती युवती गत सोमबार राति करिब ११ः४५ बजे घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटनापछि मङ्गलबार बिहान माइती पक्ष तथा स्थानीयहरु जिल्ला प्रहरी कार्यालय झापा पुगेका थिए । उनीहरूले युवतीको मृत्यु सामान्य आत्महत्याको घटना नभई शङ्कास्पद रहेको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

युवतीको शव माइती पक्षले प्रादेशिक अस्पताल भद्रपुरमा परीक्षणका लागि सहमति नजनाएपछि धरान पठाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनाको प्रकृति, मृत्युको कारण र घटनाअघि भएका गतिविधिबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

शव परीक्षण प्रतिवेदन, फरेन्सिक प्रमाण र अनुसन्धानबाट प्राप्त अन्य तथ्यका आधारमा घटनाको वास्तविकता सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *