विपदमा एक्लै रहेन नेपाल
काठमाडौं। भोटेकोशी बाढीले नेपालमा ठूलो विपत्ति निम्त्याएपछि विश्व समुदाय सहयोगका लागि अघि सरेको छ। शुक्रबारसम्म २९ देशसहित संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंकलगायत ठूला अन्तर्राष्ट्रिय संस्थाले नेपाललाई साथ दिएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भारत, चीन, अमेरिका, बेलायत, जापान, यूएई, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनीलगायत २९ मुलुकले विपद्पछि तत्काल ऐक्यबद्धता जनाउँदै सहयोग उपलब्ध गराएका छन्। कतिपयले अत्यावश्यक राहत सामग्री पठाएका छन् भने केहीले आर्थिक तथा मानवीय सहयोगको घोषणा गरेका छन्।
युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, विश्व बैंक र एसियाली विकास बैंकलगायत संस्थाबाट पनि सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ। देशभित्र र बाहिरका विभिन्न व्यक्ति तथा सामाजिक संस्थाले समेत सहयोगको हात बढाएका छन्।
विपद्को यो कठिन घडीमा सहयोग र साथ दिने सबै मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाप्रति सरकारले धन्यवाद दिएको छ।
बाढीमा ज्यान गुमाएकाको पहिचान अझै चुनौती बनेपछि चार देशका फरेन्सिक विज्ञ नेपाल आएका छन्।
भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका विशेषज्ञ टोलीले नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग मिलेर शव तथा मानव अवशेषबाट डीएनए नमुना संकलन, परीक्षण र विश्लेषण गरिरहेका छन्।
बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा कतिपय शव पहिचान हुन नसकेको अवस्थामा विदेशी विज्ञको प्राविधिक सहयोग लिइएको हो। डीएनए परीक्षणमार्फत मृतकको पहिचान टुंग्याउने र परिवारलाई आफन्तको अवस्थाबारे यकिन जानकारी दिने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विपद्को पीडा शव भेटिएर पनि पहिचान हुन नसक्दा झन् बढ्छ। त्यसैले खोजीपछि अब पहिचानको काम पनि उत्तिकै तीव्र बनाउनुपर्ने अवस्था छ।
