`

‘कर्मचारीलाई तर्साएर गराइएको काम प्रभावकारी हुँदैन, उत्प्रेरित गर्नुपर्छ’ – प्रचण्ड

Nepal One HD २० भदौ २०८३ २०:५१
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन गर्नुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा २३ औं निजामती सेवा दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित ‘निजामती सेवा सम्मान–२०८३’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले राज्यका निकाय र कर्मचारीतन्त्र अन्योलमा परेको टिप्पणी गरे ।

कर्मचारीतन्त्रलाई अनुशासित र जिम्मेवार बनाउन त्रासको वातावरण सिर्जना गर्न नहुने भन्दै उनले करबलले गराइएको काम प्रभावकारी नहुने स्पष्ट पारे ।

‘कर्मचारीलाई जिम्मेवार बनाउने दुई तरिका हुन्छन्— एउटा असल कर्म र नीतिद्वारा उत्प्रेरित गर्ने, अर्को तर्साएर बाध्य पार्ने। करबल र त्रास देखाएर गराइएको काम प्रभावकारी हुन सक्दैन। अहिले राज्यका निकाय अन्योलमा छन्,’ उनले भने ।

सरकारले राम्रो काम गरे सहयोग र नराम्रो काम गरे खबरदारी गर्ने नीति रहेको स्मरण गराउँदै प्रचण्डले अहिलेका लक्षणहरू सकारात्मक नदेखिएको दाबी गरे । उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र लामो संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि सबै सचेत नागरिक र राजनीतिक नेतृत्व एकजुट हुनुपर्नेमा जोड दिए ।

हालैको बाढी–पहिरोको वितण्डा र उद्धार कार्यको समीक्षा गर्दै अध्यक्ष प्रचण्डले १० दिनपछि सुरुङ (टनेल) बाट दुई जनाको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमै प्रभावकारी कदम चाल्न नसक्दा ठूलो मानवीय क्षति भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *