हार नमानेको भाटभटेनी! एक वर्षमै पुरानै लयमा फर्कंदै [तस्वीरहरू]
काठमाडौं। जेन-जी आन्दोलनमा ठूलो क्षति बेहोरेको भाटभटेनी सुपरमार्केट एक वर्षमै पुनः पुरानै व्यावसायिक लयमा फर्कने क्रममा छ ।
देशभरका २८ शाखामध्ये १२ वटामा आगजनी भएको थियो भने ९ वटा शाखामा तोडफोड तथा लुटपाट भएको थियो । क्षति भएका २१ शाखामध्ये १७ वटा पुनः सञ्चालनमा आइसकेका छन् ।
आगजनीबाट ध्वस्त भएका १२ शाखामध्ये ८ वटा सञ्चालनमा आइसकेका छन् । धरान, नक्साल, हेटौँडा र दमक शाखा भने पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा छन् । यी शाखा असोज मसान्तसम्म सञ्चालनमा ल्याउने कम्पनीको योजना छ ।
आन्दोलनका क्रममा महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटारको गोदाम, नक्साल, पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखामा आगजनी भएको थियो । कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखामा तोडफोड तथा लुटपाट भएको थियो ।
टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वल्र्ड ट्रेड सेन्टर, पाटन र नेपालगञ्जका शाखा भने सुरक्षित रहेका थिए ।
आन्दोलनपछि कम्पनीले क्षतिग्रस्त शाखाको पुनर्निर्माण र व्यवसाय पुनःस्थापनालाई प्राथमिकता दिएको छ । भौतिक क्षतिसँगै वित्तीय व्यवस्थापन र व्यवसाय विस्तारमा दबाब आए पनि एक वर्षको अवधिमा कम्पनी नियमित व्यावसायिक गतिविधिमा फर्कन थालेको छ ।
भाटभटेनीले पुनर्निर्माणसँगै सञ्चालनको नयाँ मोडलसमेत अघि बढाएको छ । यही योजनाअन्तर्गत भक्तपुरको राधेराधे शाखाबाट रात्रिकालीन सेवा सुरु गरिएको छ ।
क्षतिबाट थलिएको एक वर्षमै अधिकांश शाखा सञ्चालनमा ल्याउँदै भाटभटेनीले व्यवसाय पुनरागमनको संकेत दिएको छ ।










