`

काठमाडौँमा ग्यासको हाहाकार टार्न उद्योगहरू दैनिक १४ घण्टा सञ्चालन

Nepal One HD २६ भदौ २०८३ १८:४८
अर्थ समाचार

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्।चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४ घण्टा बोटलिङको काम गरिरहेका छन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले चितवनको बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जानकी र धनुषाको नेपाल ग्यास, नारायणीले दैनिक दुई सिफ्टमा १५ हजार सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिए। उक्त प्लान्टले २४ वटा बोटलिङ उपकरणबाट एक मिनेटमा २४ सिलिन्डर भरिरहेका छन्।धनुषाको नोबेल, बाराको वान (एनएल), जगदम्बा, लियो, अम्बर ग्यास, पर्साको सुप्पर, मनोज, मकवानपुरको साहरा ग्यास र नवलपरासीको चन्डेश्वरी ग्यासले बोटलिङ गराएर सिलिन्डर उपत्यका पठाइरहेका छन्।

उक्त उद्योगले दैनिक १० हजार हाराहारी सिलिन्डर भरेका छन्। तीमध्ये आधा स्थानीय बजारमा र बाँकी काठमाडौँ पठाइरहेको बताइन्छ।कालाखेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरेर बजार पठाउनेसम्मको काममा सबै उद्योगी लागिरहेको बताए।

दैनिक उपत्यकामा ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ। बुधबार ५३ हजार ४६९ सिलिन्डर पठाइएको थियो। यो सङ्ख्या दैनिक तलमाथि हुने गरेको छ।चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौँ पठाइएको छ। साँघुरो सडक र सवारीको उच्च चापसँगै बेलाबेलामा खस्ने पहिरोका कारण ढुवानी असहज हुँदा समस्या भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *