`

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व हाे – प्रचण्ड

Nepal One HD ३ असोज २०८३ ६:३४
प्रमुख खबर

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् ।

संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए ।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयत्न स्वीकार्य नभएको उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

“राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ । संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ”, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले संविधान केवल एउटा कानुनी दस्ताबेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *