`

१५ औँ महाधिवेशनबाट संविधान संशोधनको स्पष्ट खाका ल्याउने गगनको दाबी

Nepal One HD ३ असोज २०८३ १२:५९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट संविधानका मूल मूल्य र मान्यताको संरक्षणसँगै आवश्यक संशोधनका लागि स्पष्ट धारणा लिएर अघि बढ्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले संविधानका आधारभूत उपलब्धिलाई कमजोर हुन नदिने र समयअनुसार आवश्यक विषयमा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनका अनुसार संविधानमा केही विषय परिवर्तन गर्नुपर्ने आवश्यकता भए पनि त्यस्तो संशोधनले संविधानका मूल मूल्य र मान्यतालाई संकुचित गर्ने नभई थप विस्तार गर्नुपर्नेछ। यसका लागि कांग्रेसले आवश्यक साहस र स्पष्टतासहित आफ्नो १५औँ महाधिवेशनबाट धारणा अघि सार्ने उनको भनाइ छ।

‘संविधानमा कतिपय कुराहरू बदल्नुपर्नेछ । जसले संविधानका मूल्य र मान्यताहरूलाई खुम्च्याउने होइन, थप विस्तार गर्नेछ,’ थापाले भनेका छन्।

थापाले संविधान नेपालको लामो राजनीतिक संघर्ष र नागरिकको बलिदानीबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यसको संरक्षण र कार्यान्वयनमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताए। संविधानले गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्व र नागरिक अधिकारलाई संस्थागत गरेको उनको भनाइ छ।

कांग्रेसको आसन्न महाधिवेशनलाई उनले पार्टीभित्रको मतभेद व्यवस्थापन र आपसी सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन्। महाधिवेशनका क्रममा विगतका तिक्तता थप बढाउनेभन्दा असहमति र नमिलेका विषयलाई संवादमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।

‘अधिवेशन हाम्रा बीचका नमिलेका मन बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ। यसलाई थप फाटो बढाउने अवस्था निर्माण गर्नु हुँदैन,’ थापाले भनेका छन्।

उनले विगतमा भएका घटनालाई लिएर महाधिवेशन प्रक्रियामा अघि बढ्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन्। विशेषगरी वडा अधिवेशनबाटै पुराना असमझदारी बिर्सेर नयाँ वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र विभिन्न विषयमा मतभिन्नता देखिए पनि एउटै धारणा बनाएर अघि बढ्ने प्रयास भइरहेको थापाले बताए। पछिल्ला केही महिनामा पार्टीभित्रका केही घटनाका कारण कतिपय विषयमा नेताहरूबीच मत बाझिएको स्वीकार गर्दै उनले महाधिवेशनमा साझा समझदारी निर्माणका लागि प्रयास भइरहेको बताएका छन्।

कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *