हिमपहिरोमा बेपत्ता खड्गबहादुरको ‘कुशको शव’ बनाएर अन्त्येष्टि, खतिवडाले परिवारमा पुगेर दिए समवेदना
काठमाडौं । भदौ १० गते आएको हिमपहिरोमा परी बेपत्ता भएका ओखलढुंगाको लिखु गाउँपालिका-२ का खड्गबहादुर बुढाथोकीको हिन्दु धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
लिखु गाउँपालिका-२ निवासी पूर्णबहादुर बुढाथोकीका छोरा खिलबहादुर बुढाथोकी हिमपहिरोमा परेर बेपत्ता भएका थिए। लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवारले हिन्दु संस्कारअनुसार कुशको शव बनाएर दाहसंस्कार तथा अन्त्येष्टि कार्य सम्पन्न गरेको हो।
बेपत्ता खिलबहादुरको परिवारले अहिले धार्मिक परम्पराअनुसार काजकिरिया तथा अन्य अन्त्येष्टिसम्बन्धी कर्म गरिरहेको छ।
यसैबीच नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा पूर्णबहादुरको घरमा पुगेर परिवारजनसँग भेट गरेका छन्। उनले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै दुःखको यस घडीमा परिवारलाई धैर्यधारण गर्न आग्रह गरे।
बेपत्ता आफन्तको शवसमेत फेला नपरेपछि धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेको परिवारले जनाएको छ।



