शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ – परराष्ट्रमन्त्री खनाल
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले विश्व शान्ति तथा सुरक्षाको प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालले पुर्याउँदै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा राष्ट्रसङ्घका शान्ति सञ्चालन विभाग उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँग न्युयोर्कमा भएको साइडलाइन भेटवार्ताका क्रममा मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि आभार व्यक्त गरेका हुन् ।
“संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वासका लागि धन्यवाद व्यक्त गर्दछु”, मन्त्री खनालले भने “नेपालले संयुक्त राष्ट्रसङ्घसँगको दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको छ र पारस्परिक विश्वास, सम्मान तथा सहकार्यमा आधारित यस सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउन चाहन्छ ।”
विश्व शान्ति र सुरक्षाका लागि समर्पित हुँदै शान्ति स्थापनाका क्रममा जीवन उत्सर्ग गरेका तथा घाइते हुनुभएका नेपाली शान्ति सैनिकहरूको योगदानको उच्च सम्मान गर्दै मन्त्री खनालले उहाँहरूको त्याग र समर्पणप्रति श्रद्धासमेत व्यक्त गरे ।
उनले नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता राष्ट्रका रूपमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरे ।
“हाल करिब १२ वटा संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा चार हजार ३०० भन्दा बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारीले सेवा प्रदान गरिरहनुभएको छ,” उनले भने, “संयुक्त राष्ट्रसङ्घको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परेको अवस्थामा नेपाल १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तत्पर रहेको छ ।”
संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि आवश्यक सहयोगको आह्वान हुँदा नेपालले सदैव सकारात्मक, जिम्मेवार र रचनात्मक ढङ्गले प्रतिक्रिया जनाउँदै आएको उल्लेख गर्दै उनले कठिन तथा चुनौतीपूर्ण परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको बताए ।
नेपाली शान्ति सैनिकहरूले व्यावसायिकता, अनुशासन, समर्पण, कार्यदक्षता तथा तोकिएको जिम्मेवारीको प्रभावकारी कार्यान्वयनमार्फत उच्च योगदान पुर्याउँदै आएको उल्लेख गर्दै मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय मापदण्डअनुरूप प्रशिक्षण, कार्यसम्पादन, जवाफदेहिता तथा अन्तरसञ्चालन क्षमताको निरन्तर अभिवृद्धि गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।
