राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमै रोकिए सयौँ सार्वजनिक सवारी
काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न राजमार्ग अवरुद्ध भएपछि काठमाडौं आएका सार्वजनिक सवारीसाधन राजधानीमै रोकिएका छन्।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौं जोड्ने पृथ्वी राजमार्ग र बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि यातायात प्रभावित भएको हो।
देशका विभिन्न जिल्लाबाट संघीय राजधानी जोड्ने प्रमुख सडक बन्द हुँदा यात्रु आवतजावतसमेत प्रभावित भएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार राजमार्ग अवरुद्ध भएपछि बाहिरी जिल्लाबाट आएका अधिकांश सार्वजनिक बस काठमाडौंमै रोकिएका छन्।
राजमार्ग बन्द भएपछि गोङ्गबुस्थित नयाँबसपार्कमा बिहीबार साँझदेखि सार्वजनिक सवारीसाधन रोकिएका छन्।
बाढी र पहिरोका कारण काठमाडौं जोड्ने सडक अवरुद्ध हुँदा बाहिरी जिल्लातर्फ जाने बसहरू सञ्चालन हुन नसकेको नयाँबसपार्क व्यवस्थापनले जनाएको छ।
पृथ्वी राजमार्ग र बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि यातायात सञ्चालन प्रभावित भएको हो।
काठमाडौं–हेटौँडा जोड्ने फर्पिङ सडक भने सञ्चालनमा रहेकाले साना सवारीसाधन आवतजावत गरिरहेका छन्।
अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्न थालेको छ।
नदीको बहाव बढेसँगै ट्राफिक प्रहरीले नदी करिडोर क्षेत्रमा सवारीसाधन नरोकिन र पार्किङ नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ।
भारी वर्षाका कारण थप बाढी र पहिरोको जोखिम रहेकाले यातायात व्यवसायी तथा चालकलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ।
विभिन्न स्थानमा राजमार्ग अवरुद्ध हुन सक्ने भएकाले सडकको अवस्था बुझेर र सुरक्षा निकायसँग समन्वय गरेर मात्रै यात्रा गर्न यातायात व्यवसायी तथा चालकलाई आग्रह गरिएको छ।
मौसम पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले राजमार्ग तथा यातायात क्षेत्रमा थप असर पर्न सक्ने देखिएको छ।
