`

धौलीगङ्गा जलविद्युत्‌काे बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Nepal One HD ९ असोज २०८३ २०:०१
प्रमुख खबर

बैतडी। भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ। एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन भारतबाट प्राप्त पत्रअनुसार आइतबार राति १२ बजेदेखि सोमबार बिहान १० बजेसम्म सिल्ट सफाइ (जलविद्युत् आयोजना, सिँचाइ नहर, ढलको लेदो, बाक्लो माटो वा बालुवा सफा गर्ने प्रविधि)का लागि बाँध खोलिने भएको हो ।

यसअघि गत साउन १३ गते पनि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो । सिल्ट सफाइका लागि परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन्। बाँध खोलिने समयमा नदी तटीय क्षेत्रका स्थानीयलाई नदीकिनारमा नजान आग्रह गरिएको उनले बताइन्।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो। दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने बताउँदै अर्यालले सोहीअनुसार यता पनि सतर्कता अपनाइने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *