चोलेन्द्रशमशेर राणाको पक्राउबारे राजीव खत्रीको प्रश्न– ‘पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा समात्नु गलत भयो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउबारे प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रहरीले राणालाई पक्राउ गर्नुको कारण ‘सुरक्षा थ्रेट’ भने पनि पछि उनलाई ‘छोडिएको’ बताइएको भन्दै सुरक्षा खतरा कसरी टर्यो भन्ने प्रश्न गरेका छन् ।
‘चोलेन्द्र पक्राउबारे प्रहरीले भन्यो– सुरक्षा थ्रेट ! तर पक्राउको कारण गोप्य राखेर छोडियो भनियो । चोलेन्द्रमाथिको सुरक्षा खतरा कसरी टर्यो पत्तै पाइएन,’ उनले लेखेका छन् ।
राणाको घर डुबानको उच्च जोखिममा रहेकाले बगाउने खतरा भएपछि सुरक्षित स्थानमा सारिएको र वर्षा रोकिएपछि परिवारको जिम्मा लगाएर पठाइएको भन्ने विवरण पनि सत्य नभएको खत्रीले उल्लेख गरेका छन् ।
उनले कुनै नागरिकले असुरक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउनु राज्यको दायित्व भए पनि प्रहरीले राणालाई घरबाट पक्राउ गर्ने शैली सही नभएको बताएका छन् ।
खत्रीले यसअघि रास्वपा सभापति रवि लामिछानेमाथि गरिएको पक्राउको शैलीलाई पनि गलत भन्दै राणाको हकमा पनि त्यस्तै भएको टिप्पणी गरेका छन् ।
‘चोलेन्द्रका कर्मलाई लिएर हजार प्रश्न गर्न सकिन्छ । नैतिक तथा आर्थिक पतन भएको छ भने बेहिसाब समातिनु पर्छ । त्यस्तै प्रकृतिका कथित नेताहरू पनि पक्राउ पर्नु पर्छ,’ उनले लेखेका छन् ।
