बाढी घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु हुँदै
स्याङ्जा। कालीगण्डकी-५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ।
लगातार चार दिनसम्म परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि आयोजनाको उत्पादन बन्द गरिएको थियो।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको सतह घट्दै गएकाले सुरुङभित्र रहेको हिलो हटाएर तथा पावर हाउसको अवस्था निरीक्षण गरेर पुनः सञ्चालनको तयारी गरिएको छ। ‘कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,’ भन्दै उनले प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरिसकेकाले बिहान १० बजेदेखि उत्पादन सुरु गर्न लागिएको जानकारी दिएका छन्।
कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो। कुल १४४ मेगावाट क्षमताको यस आयोजना बन्द हुँदा विद्युत् प्रणालीमा प्रभाव परेको थियो।
चार दिनदेखिको अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको छ। डुबानका कारण विस्थापित भएका सेतीवेणी बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा स्थानान्तरण गरी राखिएको छ। यसैबिच आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएर लगेको छ।
