नोटबन्दीको बहस : पाँच सय र हजारका नोट खारेज गर्न माग
काठमाडौं । प्रतिनिधिसभामा पाँच सय र हजार रुपैयाँका नोट बन्द गर्ने विषयले प्रवेश पाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले मुलुकमा थुप्रिएको भनिएको कालो धन नियन्त्रणका लागि ठूला दरका नेपाली नोट खारेज गर्नुपर्ने माग गरेपछि सदनमा नोटबन्दीको बहस सुरु भएको हो।
संसद्मा बोल्दै न्यौपानेले लामो समय सत्तामा रहेका व्यक्तिहरूले गैरकानुनी रूपमा सम्पत्ति जोडेको आरोप लगाए। त्यसरी जम्मा भएको कालो धनले अर्थतन्त्रमा असर पारेको उनको दाबी थियो।
उनले पाँच सय र हजार रुपैयाँका नोट तत्काल चलनचल्तीबाट हटाउन सरकारसँग माग गरे।
न्यौपानेको प्रस्तावमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समर्थन जनाए। उनले नोटबन्दी गर्ने निर्णय सरकारले लिए आफ्नो पार्टीले समर्थन गर्ने बताए।
तर, समर्थनसँगै दुलालले सरकारको इच्छाशक्तिमाथि प्रश्न पनि उठाए।
‘नोटबन्दी गर्ने कार्यमा हाम्रो पार्टीको समर्थन छ, तर यो कदम चाल्न सरकारलाई कसले रोकेको छ ? सहज बहुमतको सरकारसँग नोटबन्दी गर्न सक्ने पर्याप्त अधिकार र तागत छ, तैपनि सरकार किन पछाडि हटिरहेको छ ?’ दुलालले प्रश्न गरे।
उनले कालो धन नियन्त्रणका लागि संसद्मा बहस मात्रै गरेर नहुने भन्दै सरकारले निर्णय लिनुपर्ने बताए। बहुमत प्राप्त सरकारले ठोस कदम चाल्न सके अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो।
यससँगै प्रतिनिधिसभामा पाँच सय र हजार रुपैयाँका नोटको प्रयोग रोक्ने विषय तत्काल राजनीतिक बहसको विषय बनेको छ। यद्यपि, नोटबन्दीसम्बन्धी कुनै सरकारी निर्णय भएको भने छैन।
न्यौपाने मोरङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित रास्वपाका सांसद हुन्। संसद्को अभिलेखअनुसार उनी राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत हुन्।
