कांग्रेस अधिवेशनमा झडप, डिला संग्रौलासहित नेता कुटिए
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशन झडपमा पुगेको छ। क्रियाशील सदस्यताको विवादबाट सुरु भएको तनावले मनोनयन प्रक्रिया नै प्रभावित भएको हो।
सुन्दरहरैंचा–४ स्थित सिग्देल बन्धु समन्वय प्रतिष्ठानमा बुधबार मनोनयन प्रक्रिया अघि बढाउने तयारी भइरहेका बेला कांग्रेसका दुई समूहका कार्यकर्ताबीच विवाद चर्किएको थियो। त्यसपछि तोडफोड र कुटपिट भएको हो।
झडपमा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात भएको नेताहरूले बताएका छन्। क्षेत्रीय सभापतिका उम्मेदवार एवं पूर्वसांसद चुमनारायण तवदार र नेता चेतराज रेग्मीलगायत पनि घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
संग्रौलाले आफू कार्यक्रमस्थलतर्फ जाँदै गर्दा केही व्यक्ति रडसहित आएको र त्यसपछि आक्रमण भएको आरोप लगाएकी छन्। उनका अनुसार तवदारलाई गाडीभित्रै कुटपिट गरिएको थियो भने पछि गाडीबाट निकालेर समेत आक्रमण गरिएको थियो।
तर क्षेत्रीय सभापति देवराज तामाङले भने आफूले कसैलाई आक्रमण गर्न निर्देशन नदिएको बताएका छन्। उनका अनुसार क्रियाशील सदस्यता वितरणको विषयमा कार्यकर्ताले प्रश्न उठाएपछि विवाद सुरु भएको थियो। टेबल पल्टाउनेलगायतका गतिविधिपछि झडप भएको उनको भनाइ छ। संग्रौलाले लगाएको आरोप पुष्टि गर्नुपर्ने तामाङको प्रतिक्रिया छ।
मोरङ–६ मा कांग्रेसको अधिवेशन प्रक्रिया सुरु हुनुअघि नै क्रियाशील सदस्यताको विषय विवादमा थियो। सदस्यताको अन्तिम सूची समयमा नआएपछि यस क्षेत्रमा वडा अधिवेशनसमेत अन्य क्षेत्रको तुलनामा ढिला भएको थियो।
क्षेत्रीय अधिवेशनको जिम्मेवारी चुमनारायण तवदारलाई दिइएको थियो। अहिले क्षेत्रीय सभापतिका लागि तवदार र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरबीच प्रतिस्पर्धा देखिएको छ।
