संसद् र जनसरोकारका विषयमा भूमिका प्रभावकारी बनाउने नेकपाको निर्णय
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टीका दल नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित संघीय संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको थियो । बैठकमा संसद्को हालसम्मको प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीले निर्वाह गरेको भूमिका तथा कानून निर्माणमा संसदीय समितिहरूले खेल्दै आएको भूमिकाका विषयमा समीक्षा गरिएको थियो ।
त्यसैगरी, आगामी दिनमा संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा विस्तृत छलफल भएको थियो । समसामयिक राजनीतिक परिस्थिति तथा संसद् र संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइएका र आगामी दिनमा उठाउनुपर्ने विषयलाई थप प्रभावकारी बनाउने सम्बन्धमा पनि बैठकमा गहन छलफल गरिएको थियो ।
साथै, संसद्को अधिवेशन अन्त्य भएपछि सांसदहरू निर्वाचन क्षेत्रमा पुगेर जनभेटघाट तथा जनसम्पर्कमा सहभागी हुने निर्णयसमेत बैठकले गरेको छ ।
