गगन थापाले भने- ‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्, पार्टीभित्र पनि खुलामञ्च चाहिन्छ’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न र फरक विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।
आइतबार कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १० वर्षपछि खुलेको खुलामञ्च काठमाडौंको चौर मात्रै नभई राजनीतिक संवाद र मतभेद राख्ने महत्वपूर्ण थलो भएको बताए।
थापाले संसद र सिंहदरबारमा समेत खुलापन आवश्यक रहेको उल्लेख गर्दै जनताका प्रश्न सुन्ने र उनीहरूसँग संवाद गर्ने संस्कार विकास गर्नुपर्ने बताए।
उनले पार्टीभित्र पनि नेतामाथि प्रश्न उठाउँदा सदस्यता गुम्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे। फरक मत राख्ने र आलोचना गर्ने अधिकारलाई संस्थागत गर्नुपर्ने भन्दै उनले लोकतन्त्र राजनीतिक दलभित्रैबाट सुरु हुनुपर्नेमा जोड दिए।
‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।
