कोरला नाका जोड्ने बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने
काठमाडौं । चीनसँगको खुला व्यापारिक नाका कोरला जोड्ने बेनी–जोमसोम सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने भएको छ।
सडक विभागका अनुसार मालढुंगा–बेनी–जोमसोम–कोरला सडकअन्तर्गत घासा–कोरला खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ। तातोपानी क्षेत्रमा सडक कटान भएको ठाउँमा ब्याक कटिङ तथा टेवा पर्खाल निर्माण गरेर यातायात सञ्चालन गरिएको विभागले जनाएको छ।
पोखरेबगर पुलको एप्रोच सडक निर्माण भने जारी छ। त्यस्तै, पोखरेबगर आसपासको रातोपानी क्षेत्रमा पनि सडकको ट्र्याक खोलिएको विभागको भनाइ छ।
रातोपानीका दुई स्थानमा सडक पूर्ण रूपमा भत्किएकाले पैदल आवतजावतसमेत हुन सकेको छैन। भीरकाटे नजिक पनि सडकको अवस्था उस्तै छ। बेगखोला आसपास करिब १ सय मिटर सडक पूर्ण रूपमा भासिएको विभागले जनाएको छ।
बैसेरीमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध छ। राहुघाटदेखि सिरुबारीसम्म भने एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ।
कुनेटो क्षेत्रमा क्याकफिलिङको काम भइरहेको छ। विभागका अनुसार मुख्य कटान भएका र पहिरोले क्षति पुर्याएका स्थानमा आइतबारदेखि थप काम अघि बढाइनेछ।
सडकको क्षतिग्रस्त भागमा पुनर्निर्माण र अवरोध हटाउने काम जारी रहे पनि बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब ६ दिन लाग्ने विभागको अनुमान छ।
